१६ असार २०८३ मंगलबार
image/svg+xml
समाज

गणेश हिमाल नजिकै नयाँ ‘लुम्बो हिमशिखर’ पहिचान

गोरखाको गणेश हिमाल आसपास नयाँ लुम्बो हिमशिखरको पहिचान भएको छ।

नेपाली र अमेरिकी पर्वतारोहीको टोलीले यसअघि आरोहण नभएको नयाँ लुम्बो हिमालको आरोहण गरेसगैँ यो हिमशिखरको पहिचान भएको हो।

जिल्लाको चुमनुब्री र धार्चे गाउँपालिकाको सीमा आसपास गणेश हिमालकै श्रृङ्खलामा पर्ने छ हजार २५० मिटर अग्लो लुम्बो हिमालको पहिलो पटक सफल आरोहण गरिएको अन्तरराष्ट्रिय पर्वतारोहण पथप्रदर्शक तुलसी गुरुङले जानकारी दिए।

हिमालय समिट क्लबद्वारा आयोजित उक्त टोलीका चार पर्वतारोहीले धेरै दिनको अन्वेषण र प्राविधिक आरोहणपछि हिमालको दक्षिण–पश्चिम मोहडाबाट बाटो बनाउँदै असार ८ गते शिखरमा पुग्न सफल भएका हुन्।

आरोहण टोलीमा अन्तरराष्ट्रिय पर्वतारोहण पथप्रदर्शक गोरखा लाप्राकका तुलसिंह गुरुङ, सुजल गुरुङ र आशबहादुर गुरुङ तथा अमेरिकी पर्वतारोही एरिक म्याथ्यु सु रहेका थिए।

मनास्लु संरक्षण क्षेत्रको उत्तरी छेउ र गणेश हिमाल शृङ्खलाको दक्षिणमा पर्ने धार्चे गाउँपालिकामा अवस्थित लुम्बो हिमालको त्यो पहिलो प्रमाणित आरोहण हो।

लुम्बो हिमाल कुनै बस्ती, चिया पसल वा स्थापित पदयात्रा मार्ग नभएको एक दुर्गम उपत्यकामा अवस्थित छ। टोलीले चार हजार १५० मिटरमा आधार शिविर र पाँच हजार ४९ मिटरमा उच्च शिविर स्थापना गर्नुअघि मनास्लु पदमार्गबाट चार दिनको पैदल बाटो हिँड्दै सो अभियानको यात्रा तय गरेको स्थानीय वीसबहादुर गुरुङले जानकारी दिए।

पथप्रदर्शक तुलसिंह गुरुङका अनुसार टोलीले हिउँ, चट्टान र बरफको अवस्थाको मूल्याङ्कन गरेपछि दक्षिण-पश्चिम मोहडाबाट आरोहण गर्ने निर्णय गरेको थियो।

करिब २० घण्टा लगाएर आरोहण गरेको आरोही मध्यका एक सुजल गुरुङले जानकारी दिए। आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्नुअघि छ हजार मिटर अग्लो हिमाल आरोहणको अनुभव अनिवार्य व्यवस्था गरिएको छ।

मनास्लु आरोहण गर्नुअघि धेरैजनाले त्यो हिमाल आरोहण गर्न सक्ने सम्भावना धेरै रहेको आरोही बताउँछन्।

प्रकाशित: १५ असार २०८३ १९:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App