२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

समुद्रको तापक्रममा नयाँ रेकर्ड, बढी तातिने क्षेत्र बन्दैछ एसिया

सन् २०२५ मा एसियाभर बढ्दो तापक्रम, विनाशकारी वर्षा, बाढी, खडेरी तथा हिमनदी पग्लिने घटनाले करोडौं मानिसको जीवन प्रभावित भएको र यसको आर्थिक तथा मानवीय क्षति निकै गम्भीर रहेको विश्व मौसम संगठन (डब्लुएमओ) ले जनाएको छ । 

हालै भुटानको पारोबाट सार्वजनिक गरिएको ‘स्टेट अफ द क्लाइमेट इन एसिया–२०२५’ नामक प्रतिवेदनमा जलवायु परिवर्तनका कारण विश्व औसतभन्दा एसिया तीव्र गतिमा तातिरहेको उल्लेख गर्दै चरम मौसमी घटनाबाट हुने क्षति न्यूनीकरण गर्न प्रभावकारी प्रारम्भिक चेतावनी प्रणाली अपरिहार्य भएको उल्लेख छ ।

प्रतिवेदनअनुसार सन् १९९० को दशकयता निरन्तर बढिरहेको समुद्रको तापक्रम सन् २०२५ मा अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । जुलाईदेखि सेप्टेम्बरसम्म एसियाको करिब सम्पूर्ण समुद्री क्षेत्रमा सामुद्रिक तापलहर (मरिन हिटवेभ) फैलिएको थियो । 

यस अवधिमा एक करोड वर्ग किलोमिटरभन्दा बढी समुद्री क्षेत्र प्रभावित भएको थियो, जुन चीन वा संयुक्त राज्य अमेरिकाको कुल क्षेत्रफलभन्दा पनि ठुलो क्षेत्र हो । महासागरको तापक्रम वृद्धि र समुद्री पानीको अम्लीकरणले समुद्री जैविक प्रणाली तथा तटीय समुदायमा थप जोखिम सिर्जना गरिरहेको प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनले सन् २०२५ मा एसियाका उच्च हिमाली क्षेत्रका सबै २३ वटा निगरानी गरिएका हिमनदीले हिउँको मात्रा गुमाएको जनाएको छ । औसतभन्दा बढी तापक्रम र औसतभन्दा कम हिमपातका कारण हिमनदीहरू तीव्र रूपमा पग्लिरहेका छन् । 

यसले विश्वकै सबैभन्दा बढी जनसंख्या रहेको क्षेत्रमा दीर्घकालीन जलसुरक्षामाथि खतरा बढाउनुका साथै हिमताल विस्फोट (ग्लेसियल लेक आउटबस्र्ट फ्लड) र हिमनदी भासिने घटनाको जोखिमसमेत बढाएको प्रतिवेदनमा उल्लेख छ ।

डब्लुएमओका अनुसार पछिल्ला केही दशकयता विश्व औसतभन्दा एसिया महादेश छिटोछिटो तातिरहेको छ । सन् १९९१ देखि २०२५ सम्मको तापक्रम वृद्धि सन् १९६१–१९९० को तुलनामा झन्डै दोब्बर रहेको छ । उपलब्ध तथ्यांकअनुसार सन् २०२५ एसियाको इतिहासकै दोस्रोदेखि चौथो सबैभन्दा तातो वर्ष बनेको छ ।

गत वर्ष अत्यधिक गर्मी एसियाको प्रमुख जलवायु विशेषता बनेको थियो । जापान, चीन र दक्षिण कोरियाले इतिहासकै सबैभन्दा तातो गर्मीयाम अनुभव गरेका थिए भने मध्य एसिया, पश्चिम एसिया र अरब प्रायद्वीपका धेरै क्षेत्रमा लामो समयसम्म तातो लहर चलेको थियो । 

काजकिस्तानमा केही महिनामा तापक्रम सामान्यभन्दा १४ डिग्री सेल्सियससम्म बढी पुगेको थियो भने बहराइनमा लगातार १० दिनसम्म तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि कायम रह्यो । तातो र सुक्खा हावाहुरीयुक्त मौसमका कारण दक्षिण कोरियामा इतिहासकै सबैभन्दा ठुलो डढेलो लागेको प्रतिवेदनले जनाएको छ ।

अर्कातर्फ गत वर्ष दक्षिण एसियाका अधिकांश क्षेत्रमा औसतभन्दा बढी वर्षा भएको थियो । विशेषगरी मनसुनका कारण पाकिस्तानमा आएको बाढीमा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको र ३० लाखभन्दा बढी मानिसलाई राहत आवश्यक परेको प्रतिवेदनमा उल्लेख छ । 

भियतनाममा विभिन्न मौसमीय प्रणालीका कारण लामो समयसम्म आएको बाढीमा कम्तीमा दुई सय जनाको मृत्यु भएको तथा करिब १ अर्ब ९० करोड अमेरिकी डलर बराबरको आर्थिक क्षति पुगेको थियो । दक्षिणपूर्वी एसियामा आएको ‘साइक्लोन सेन्यार’ले थाइल्यान्ड, मलेसिया र इन्डोनेसियाका विभिन्न क्षेत्रमा असाधारण वर्षा र बाढी निम्त्याएको थियो ।

यसैबिच पश्चिमी तथा मध्य एसियाका धेरै भागमा भने औसतभन्दा कम वर्षा भयो । इरानमा लामो समयदेखिको खडेरीका कारण गम्भीर पानी अभाव सिर्जना भएको प्रतिवेदनले जनाएको छ । अप्रिलमा पश्चिम एसियाका धेरै क्षेत्रमा आएको शक्तिशाली धुलो तथा बालुवाको आँधीले यातायात, जनस्वास्थ्य र आर्थिक गतिविधिमा ठुलो असर पारेको पनि प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनले समुद्री सतह पनि सन् १९९९ मा उपग्रह अभिलेख सुरु भएयताकै उच्च स्तरमा पुगेको जनाएको छ । उत्तरी हिन्द महासागरका अधिकांश तटीय क्षेत्रमा समुद्री सतह वृद्धि विश्व औसतभन्दा धेरै रहेको छ । साथै अरब सागर, बंगालको खाडी र उष्णकटिबन्धीय हिन्द महासागरका केही क्षेत्रमा समुद्री पानीको अम्लीयपन इतिहासकै न्यून स्तरमा पुगेको छ । 

विश्वकै सबैभन्दा ठुलो आन्तरिक जलाशय क्यास्पियन सागरको जलस्तर पनि निरन्तर घटिरहेको प्रतिवेदनले औंल्याएको छ ।

डब्लुएमओकी महासचिव सेलेस्टे साउलोले बढ्दो तापक्रम, तातिँदो महासागर, बढ्दो समुद्री सतह र पग्लिरहेका हिमनदीका कारण एसियाले गम्भीर जलवायु संकटको सामना गरिरहेको बताएकी छन्। 

उनले अत्यधिक वर्षा, बाढी, खडेरी, धुलोका आँधी र हिमताल विस्फोटजस्ता जोखिम बढ्दै गएको उल्लेख गर्दै प्रभावमा आधारित मौसम पूर्वानुमान, अवलोकन प्रणाली र प्रारम्भिक चेतावनी सेवामा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याइन् ।

प्रकाशित: १५ असार २०८३ २०:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App