१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

जनकपुरमा मूर्तिकला प्रशिक्षण

फाइल तस्वीर

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र मैथिली विकास कोष, जनकपुरधामको आयोजनामा पाँच दिने सामा-चकेवा मूर्तिकला प्रशिक्षणात्मक कार्यशाला भएको छ।

जनकपुरधामको मैथिली भवनमा उक्त कार्यशाला सुरु भएको हो। कार्यशालाको उद्घाटन गर्दै बेलायती अनुसन्धानकर्ता माइकल हटले मिथिला क्षेत्रको सांस्कृतिक गहिराइ र सामा-चकेवा लगायतका पर्वले सामाजिक सद्भाव सुदृढ बनाउँदै आएको बताए।

उनले सामा-चकेवा पर्वको ऐतिहासिक तथा सांस्कृतिक परम्परा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने सम्भावनाबारे उजागर गरे। कोषका अध्यक्ष जीवनाथ चौधरीले कार्यशालाले परम्परागत ज्ञान संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै कार्यशाला मार्फत पुस्तान्तरण गर्ने लक्ष्य राखिएको बताए।

उनले गत वर्षदेखि थालिएको कार्यशालामा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले महत्त्वपूर्ण साथसहयोग गरेको सुनाउँदै सामा-चकेवा पर्वमा बनाइने कलाले मिथिलाको पहिचान विश्वमा चिनाउने धारणा व्यक्त गरे।

प्रशिक्षक तथा कलाकार रुवी पाठकले सामा-चकेवा पर्वमा बनाइने माटाका मूर्ति मिथिलाको कलात्मकता र भावनात्मक सम्बन्धको प्रतीक भएको उल्लेख गरे। पाठकले कार्यशालामा स्थानीय कलाकार र विद्यार्थीलाई सामा-चकेवा सम्बन्धी मूर्तिकलाको सांस्कृतिक तथा व्यावहारिक प्रशिक्षण दिइने बताए।

मिथिला कलाकार सुधा कर्णले सामा-चकेवा पर्व र यसको महत्त्वबारे चर्चा गरेका थिए। मूर्तिकला निर्माण कार्यशालामा २० सहभागिता थिए। पाँच दिनसम्म चल्ने सो कार्यशालामा विज्ञका रूपमा कलाकार रुवी पाठक र विजय मण्डल छन्।

प्रकाशित: १६ कार्तिक २०८२ १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App