नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा जारी एनपीएलमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले एकसाथ नाटक अवलोकन गरेका छन्।
उनीहरूले राजधानीको कान्तिपुर थिएटरमा मञ्चन भइरहेको दिपल बराल निर्देशित नाटक ‘महारानीको जात्रा’ हेरेका हुन्।
खेलकुद र कला क्षेत्रका यी दुई चर्चित व्यक्तित्वले एकैसाथ बसेर नाटकको आनन्द लिएका थिए। सन्दीपका लागि यो थिएटरमा गएर नाटक हेरेको पहिलो अनुभव हो।
सन्दीपको पहिलो नाकट अनुभव
जीवनमै पहिलोपटक नाटक हेरेका सन्दीप लामिछानेले रङ्गमञ्चको अनुभव आफ्ना लागि नौलो र विशेष रहेको बताएका छन्। उनले कलाकारहरूको जीवन्त अभिनयको खुलेर प्रशंसा गरे।
सन्दीपले भने, ‘पहिलोपटक नाटक हेर्न पाउँदा निकै खुसी लाग्यो। कलाकारहरूको जीवन्त अभिनय र लामो समयसम्मको प्रत्यक्ष प्रस्तुति देख्दा साँच्चै नै रमाइलो महसुस भयो।’
उनले लामो समयदेखि नाटक हेर्ने इच्छा रहेको र आज त्यो पूरा भएको बताए । उनले भने, ‘कलाकारहरूको मेहनतको म उच्च सम्मान गर्छु।’
मदनकृष्णले सम्झिए पुराना दिन
वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले लामो अन्तरालपछि नाटक हेर्ने मौका मिलेको बताए। नाटक हेरिरहँदा उनलाई आफ्ना पुराना सङ्घर्ष र अभिनयका दिनको याद आएको अनुभव उनले सुनाए ।
नाटकबारे प्रतिक्रिया दिँदै श्रेष्ठले भने, ‘महारानीको जात्रा हेर्दा रमाइलो लाग्यो। धेरै भएको थियो नाटक नहेरेको, अहिले धेरै पछि मौका मिल्यो। उ बेलामा हामीले नाटक गरेको सम्झनाहरू पनि ताजा भयो।’
कान्तिपुर थिएटरमा मञ्चन भइरहेको नाटकले दर्शकहरूको राम्रो साथ पाइरहेको छ।
प्रकाशित: ११ मंसिर २०८२ २१:२३ बिहीबार





