अभिनेत्री संगीता बिजलानीको पावना बाँधस्थित फार्महाउसमा जुलाई १८ मा अज्ञात व्यक्तिले चोरी गरेका छन्। चोरले सीसीटीभी क्यामेरा र फार्महाउसमा तोडफोड गर्नुका साथै धेरै बहुमूल्य सामान लिएर भागेको बताइएको छ।
हिन्दुस्तान टाइम्सका अनुसार लोनावाला ग्रामीण प्रहरीले यो घटना सुनियोजित षड्यन्त्र जस्तो देखिन्छ भनेको छ। अभिनेत्री त्यतिबेला फार्महाउसमा उपस्थित थिइनन्। यस विषयमा संगीता बिजलानीले पुणे ग्रामीण प्रहरी चौकीमा लिखित उजुरी दिएकी छन्। यसबारेमा एसपी सन्दीप गिलले जानकारी दिएका हुन्। संगीता मुम्बईमा बस्छिन्। बुबा बिरामी भएका कारण विगत चार महिनादेखि फार्महाउस जान नपाएकी हुन्।
संगीताले स्थानीय समयानुसार शुक्रबार बिहान साढे ११ बजेतिर दुई घरेलु कामदारसँग पुग्दा फार्महाउसको मुख्य ढोका जबरजस्ती तोडफोड गरिएको देखिन्। भित्र गएपछि उनले पूरै घर तोडफोड र चोरी भएको देखिन्।
प्रहरीका अनुसार फार्महाउसको झ्यालको ग्रिल फुटेको, एउटा टिभी चोरी भएको र अर्को नराम्ररी क्षतिग्रस्त भएको अवस्थामा फेला परेको छ। माथिल्लो तलामा पनि ठूलो क्षति भएको छ। ओछ्यान र घरायसी सामानमा पनि नोक्सानी पुगेको छ। रेफ्रिजरेटर पनि फुटेको र धेरै बहुमूल्य सामान हराएको जनाइएको छ।
फार्महाउसको प्रवेशद्वार अगाडि परिसरमा जडान गरिएको सबै सीसीटीभी क्यामेरा फुटेका थिए, जसले यो योजनाबद्ध आक्रमण थियो भन्ने स्पष्ट देखाउँछ। संगीताले आफ्नो उजुरीमा प्रहरीसँग तत्काल कारबाहीको माग गरेकी छन्। उनले प्रहरी र फोरेन्सिक टोली घटनास्थलमा आएर अनुसन्धान गर्नुपर्ने बताइन्।
लोनावाला ग्रामीण प्रहरी चौकीका इन्चार्ज दिनेश तायडेले घटनास्थलमा प्रहरी टोली पठाइएको बताए। पंचनामा पछि एफआईआर दर्ता गरिनेछ। मुख्य उजुरीकर्ता समेत रहेका संगीताका नजिकका सहयोगी मोहम्मद मुजीब खानले प्रहरीबाट सबै सम्भव सहयोगको आश्वासन पाएको जानकारी दिएका छन्।
संगीता बिजलानी १९८० मा मिस इन्डिया थिइन्। उनी सलमान खानसँग लगभग १० वर्षसम्म सम्बन्धमा थिइन्। तर दुवैले विवाह गरेनन्। त्यसपछि संगीताले १९९६ मा क्रिकेटर मोहम्मद अजहरुद्दीनसँग विवाह गरिन्। २०१० मा उनीहरूको सम्बन्ध विच्छेद भएको थियो। अहिले पनि सलमानसँग साथीका रुपमा उनको राम्रो सम्बन्ध रहेको छ। एजेन्सी
प्रकाशित: ३ श्रावण २०८२ १३:२६ शनिबार





