२ जेष्ठ २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

पढाइ अधिकतम, बुझाइ र गराइ न्यूनतम

निबन्ध

हामी सबै आफैंमा एउटा एउटा ठुला पुस्तकालय हौं । हाम्रो दिमागका र्‍याकहरूमा नीतिशास्त्रका ठेली, सदाचारका सूत्र र देशभक्तिका महाकाव्यहरू टन्नै सजाइएका छन् । हाम्रो ओठबाट निस्कने शब्दहरूले समाजलाई स्वर्ग बनाउने ग्यारेन्टी गर्छन् तर हाम्रा मनले सोच्ने र हातले गर्ने कर्महरूले नरकको ढोका ढकढक्याइरहेका हुन्छन् । यस्तो भएपछि भन्न मन लाग्छ– हामी ‘पढाइ’का महाविद्वान् हौं, ‘बुझाइ’का पारखी हौं, ‘सिकाइ’का विद्यार्थी हौं तर ‘गराइ’का चाहिँ पूर्णतः ‘आत्मघाती कलाकार’ हौं । हामीले अक्षर त चिनेका छौं तर अक्षरको अर्थ चिन्न अझै कैयौं जुनी कुर्नुपर्ने जस्तो देखिन्छ । हाम्रो विद्वताको उचाइ सगरमाथा जत्रो छ तर त्यसको आधार चाहिँ बालुवाको ढिस्कोजस्तै छ, जहाँ अलिकति पनि ‘गराइ’को पानी पर्‍यो कि त भुइँमा ढलेर छरछार हुन्छ।

हाम्रा कतिपय विद्यालयका भित्तामा लेखिएको हुन्छ– ‘देशभक्ति नै सर्वोपरि धर्म हो ।’ हामीले पाठ्यपुस्तकका पाना पल्टाउँदै घोकेका छौं, ‘आफ्नो माटो, आफ्नो देश।’ अझ हामीले दिनहुँ राष्ट्रिय गानको धुनमा आफ्नो छाती फुलाएर ‘सयौं थुँगा फूलका हामी’ गाएका पनि छौं । तर यो सर्वोच्च गान गाउँदै गर्दा हामीले सोचेका हुन सक्छौं– ‘यो फूल फुल्ने माटो अलि मलिलो भएन, अब यो गमलामा विदेशी मल हाल्नुपर्ने भयो।’

यहाँ ‘पढाइ’ र ‘गराइ’को दुरी कति छ भने जसले देशको मानचित्र आफ्नो भित्तामा सजाउँछ, उसैले आफ्नो खुट्टा चाहिँ विमानस्थलको लाममा उभ्याउँछ । देशलाई माया गर्नुपर्छ भनेर पढेको व्यक्ति जब विमानस्थलको अध्यागमन कक्षमा उभिएर बिदाइ गर्न आउनेलाई ‘धन्यवाद है, अब म फर्किन गाह्रै होला’ भन्दै हात हल्लाउँछ, तब लाग्छ– हाम्रो देशभक्ति पनि ‘ब्यागेज’जस्तै भयो, जसलाई गन्तव्यमा पुगेपछि कतै कुनामा फ्याँक्न सकिन्छ । हामीले देशभक्ति पढ्यौं, परीक्षामा लेख्यौं, राष्ट्रिय गान गायौं तर तिनको मर्म कहिल्यै बुझेनौं । हामीले सिक्यौं कि ‘देश  अर्थात् मातृभूमि सबैले माया गर्ने ठाउँ हो’ तर व्यवहारमा यो लागु गर्‍यौं ‘देश, आफू पढेबढेपछि छाडेर जाने ठाउँ हो।’

यही विडम्बनाको निरन्तरता नैतिकताका सन्दर्भमा झन् छताछुल्ल हुन्छ । हामी सदाचारको कुरा गर्दा कोही त्यागी र असल बाबा जस्ता देखिन्छौं । कसैले सोध्यो भने हामी शास्त्रीय श्लोक उल्लेख गर्दै भन्छौं, ‘लोभ नै पापको मूल हो ।’ तर मौका प¥यो भने हामी नै पाँच रुपैयाँ कमिसन पनि छोड्दैनौं । यहाँ ‘बुझाइ’ र ‘गराइ’बिच एउटा ठुलो खाडल छ, जसमा हाम्रो नैतिकता खसेर मरेको छ । हामीले ‘ढाँट्नुहुँदैन’ भनेर सयौं पटक पढेका छौं तर हाम्रो जिब्रो यति चलाख छ कि त्यसले सत्यलाई लज्जित पार्ने गरी तुरुन्तै झुटको महल ठड्याइदिन्छ । घरमा बच्चाले फोन उठाउँदा आमाले नै सिकाउँछिन्– ‘भन्दिनू, बुबा घरमा हुनुहुन्न, फोन यहीं छोडेर कता जानुभएछ !’

यहाँ ‘ढाँट्नुहुँदैन’ भन्ने पाठ पढाइको किताबमा सुरक्षित रहन्छ तर फोनको रिसिभरमा ‘झुट’को खेती मौलाउँछ । यो कुनै दुर्घटना होइन, यो त हाम्रो संस्कार बनिसक्यो । हामी पढेलेखेका मानिसहरू नैतिकतालाई एउटा गहनाको रूपमा प्रयोग गर्छौं, जसलाई कतै सभा–समारोहमा जाँदा लगाइन्छ र घर फर्किनेबित्तिकै फुकालेर सेफमा थन्क्याइन्छ।

हामी यति धेरै शिक्षित छौं कि अब त हामीलाई ‘पढेका कुरा’ व्यवहारमा उतार्न नै अप्ठ्यारो र अलमल लाग्न थालेको छ । फेसबुकका भित्ताहरूमा ‘मानसिक शान्ति’ र ‘योग’का पोस्टहरू सेयर गर्ने हामी अर्को सेकेन्डमा कमेन्ट बक्समा कसैलाई गाली गरेर आफ्नो शान्तिलाई आगो लगाइरहेकाहुन्छौं । के हाम्रो बौद्धिकता यही हो ? पक्कै होइन, यो त हाम्रो ‘ज्ञानको भण्डार’ र ‘चरित्रको खडेरी’बिचको भयानक विरोधाभास हो । हामीले ‘नम्र बन्नुपर्छ’ भन्ने किताबका पानाहरू धेरै पल्टायौं तर ती पानाबाट हामीले नम्रताको सुगन्ध कहिल्यै लिन सकेनौं । हामीलाई थाहा छ– ‘रिसाउनु स्वास्थ्यका लागि हानिकारक छ’, तैपनि खासगरी हाम्रा कमी कमजोरी देखाउने हरेक सानातिना कुरामा हाम्रो कन्पारो तातेकै हुन्छ।

यस्तो विडम्बनापूर्ण जीवनशैलीलाई नियाल्दा रुसी साहित्यकार अन्टोन चेखवको प्रसिद्ध कथा ‘द बेट’को पात्रको सम्झना आउँछ । जेलको बसाइमा ऊ संसारभरका किताबहरू पढ्छ । ज्ञानको सागरमा पौडिन्छ । तर अन्त्यमा ऊ यस्तो विन्दुमा पुग्छ, जहाँ उसलाई लाग्छ– ‘यो सबै पढाइ र ज्ञान अर्थहीन छ । मान्छेले किताब पढेर केही पनि पाउँदैन, बरु आफ्नो असली अस्तित्व गुमाउँछ।’

आजको हाम्रो अवस्था सायद चेखवको त्यही पात्रभन्दा फरक छैन । हामीले किताब त धेरै पढ्यौं तर ती सबै पढ्नका लागि मात्र पढ्यौं । बुझ्ने प्रयास भने कहिल्यै पनि गरेनौं । हामीले पढेका छौं– ‘ज्ञान नै शक्ति हो’ तर हाम्रो शक्ति त केवल ‘पढेको कुरा देखाउनु’मा मात्र सीमित बनेछ । चेखवको पात्रले जस्तै कहिलेकाहीं मलाई पनि लाग्छ– के यो सबै पढेर हामीले आफ्नो मूर्खतालाई अझ बढी परिष्कृत मात्र गरेका त होइनौं ? हामीसँग भएका डिग्रीका प्रमाणपत्रको भारीले हाम्रो ‘स्वविवेक’लाई थिचेको छ । जीवनको कसीमा भने ‘अक्षरारम्भ’ नै गर्न बाँकी छ।

हाम्रो ‘पढाइ’ सूचनाको थुप्रो हो, ‘ज्ञान’ चाहिँ त्यसको कंकाल मात्र । हामीले सूचना त खुब बटुल्यौं तर त्यसलाई आफ्नो रगत र मासुमा कहिल्यै रूपान्तरित गर्न सकेनौं । एउटा मान्छे ‘पर्यावरण संरक्षण’को ठुलो भाषण गर्छ तर बाटोमा हिँड्दा उसले खाएको चाउचाउको खोल नालीमा फ्याँक्छ । उसलाई थाहा छ, यो गलत हो । उसले पढेको छ, यो वातावरणका लागि घातक छ तर उसको ‘गराइ’ उसको ‘पढाइ’भन्दा धेरै पाइला पछाडि छ । हामी ‘गराइ’मा यति कमजोर छौं कि हामीलाई ‘पढाइ’को आडमा आफ्नो दोष लुकाउन सजिलो लाग्छ । ‘मैले त्यसबारे पढेको छु, मलाई थाहा छ नि !’

– यो वाक्य हाम्रो ढाल हो । यो हाम्रो व्यक्तित्व विज्ञापनको बहाना पनि हो तर थाहा हुनु र गर्नुमा आकाश र पातालको फरक हुने रहेछ ! यो कुरा हामीलाई थाहा हुँदैन । कसैले भने पनि हामी पत्याउँदैनौं । हामी यो पनि पढेका छौं कि ब्रह्ममुहूर्तमा उठ्नु र यताउति गर्नु स्वास्थ्यका लागि हितकारी छ।

हामी कतिसम्म हास्यास्पद छौं भने हामीले ‘कसरी खुसी हुने’ भन्ने किताब पढेर दुःखी मान्छेहरूलाई सल्लाह दिन सक्छौं, जबकि आफैंभित्र एउटा ‘दुःखको ज्वालामुखी’ लिएर हिँडिरहेका हुन्छौं । हामी ‘समयको महत्त्व’का बारेमा पनि घण्टौं भाषण दिन सक्छौं तर आफैं चाहिँ अनावश्यक कामकुरामा समय खेर फालेर यसको अर्थहीन खेदो खनेर बसिरहेका हुन्छौं । हामीले ‘सत्य’को वकालत त गर्‍यौँ तर ‘असत्य’को खेतीबाट मात्रै आफ्नो जीविका चलाउन सकिन्छ भन्ने बुझ्यौं । के यो दार्शनिक विरोधाभास होइन?

आज हामी यस्तो मोडमा उभिएका छौं जहाँ हाम्रो ‘पढाइ र ज्ञानको पुस्तकालय’ त बढेको छ, तर हाम्रो ‘बुझाइ र ध्यानको मानवालय’ भने निकै सानो भएको छ । हामीले पुस्तकमा पढेका छौं– ‘पृथ्वीमा मान्छे मात्र विवेकी र महान् प्राणी हो ।’ तर, हामीले व्यवहारमा अनुभव गरेका छौं, ‘मान्छे मात्र आफ्नो स्वार्थको वरिपरि घुम्ने विचित्रकोे प्राणी हो।’

हामीलाई अब पढाइको आवश्यकता त्यति छैन, जति बोधको आवश्यकता छ । चेखवको पात्रले जस्तै हामीले किताबका ठेलीहरू पढेर सिध्याउनुपर्दैन तर ती ठेलीहरूबाट असल कुरा झिकेर आफ्नो दिमाग हुँदै व्यवहारमा लागु गर्नुपर्छ।

हामी ज्ञानीहरूको भिडमा बसेका अज्ञानी हौं । हामीले पढ्यौं तर बुझेनौं । हामीले बुझ्यौं तर सिकेनौं । र, हामीले सिकेका कुराहरूलाई व्यवहारमा उतार्न सकेनौं । हाम्रो पढाइले हामीलाई चतुर त बनायो तर मान्छे बनाउन सकेन । अब समय आएको छ– पढेका कुराहरूलाई व्यवहारको कसीमा घोट्ने, नत्र यो पढाइको पगरीले हाम्रो शिर होइन, हाम्रो स्वाभिमान मात्र झुकाउने छ । वास्तवमा किताब पढ्नु, कुरा जान्नु, तथ्यांक बुझ्नु, सिप सिक्नु र मान्छे बन्नु, दुई फरक कुरा रहेछन् । हामीले अघिल्ला धेरै कुरामा ‘पिएचडी’ गरेका छौं र पछिल्लो एउटै कुरामा भने अझै ‘एलकेजी’मै अल्झिरहेका छौं । पढाइ सबैको अधिकतम, बुझाइ र गराइ न्यूनतम ! योभन्दा ठुलो विडम्बना के हुन सक्छ र ? अब कलम छोडेर कर्मको हलो जोत्ने बेला भएको छ । अन्यथा, हाम्रा हृदयमा पढाइ, ज्ञान र सूचनाका पुस्तकालयहरू बढ्दै जानेछन् तर हाम्रा बुझाइ, चरित्र र गराइका व्यवहारहरू मर्दै जानेछन्। पढेका अक्षरहरूले मान्छेलाई बाँच्न सिकाउनुपर्छ, नकि केवल पन्नामा दौडिएरन नाच्न । यो नै हाम्रो आजको सबैभन्दा ठुलो ‘पढाइ’ हो, जसलाई हामीले ‘गराइ’मा उतार्न सकेका छैनौं।

प्रकाशित: २ जेष्ठ २०८३ ०८:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App