लघुकथा समाज नेपालले साहित्यकार विमल भौकाजीलाई ‘पूर्णप्रसाद ब्रम्हाण लघुकथा सम्मान-२०८२’ अर्पिएकाे छ।
लघुकथा समाज नेपालले लघुकथा दिवस तथा १८औं स्थापना दिवसको अवसरमा सर्वनाममा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठ, निर्मला शर्मा लगायतले उक्त सम्मान अर्पिएका थिए।
नेपालमा लघुकथा लेखनीको प्रारम्भ भएको ७५ वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम भएको हो।
कार्यक्रममा वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठले मान्छेले लेखनबाट आनन्द र आत्मसन्तुष्टि प्राप्त गर्ने बताइन्। उनले नेपाली लघुकथाकाे उन्नयनमा लघुकथा समाजकाे उल्लेख्य भूमिका रहेकाे बताइन्। उनले सम्मानित व्यक्तित्व नेपाली लेखन वृत्तमा दिलदार भएर लागिपरेकाे पनि बताइन्।
प्राडा लक्ष्मणप्रसाद गौतमले सम्मानित व्यक्तित्व भौकाजीको बहुआयामिक व्यक्तिको चर्चा गरेका थिए। उनले लघुकथा समाजले विशिष्ट व्यक्तिकाे नाममा पुरस्कार स्थापना गरेर प्रशंसनीय काम गरेकाे बताए।
लघुकथा समाजका संस्थापक श्रीओम श्रेष्ठ ‘रोदन’ ले लघुकथा लेखन र उन्नयनमा भौकाजीकाे भूमिकाकाे उल्लेख गर्दै बधाई दिए।
त्यस्तै सम्मानित स्रष्टा विमल भौकाजीले पुरस्कारले जिम्मेवारी थपिएको बताए।
समाजका अध्यक्ष तुलसीहरि कोइराला अध्यक्षता, महासचिव सुमन सौरभकाे स्वागत मन्तव्य र श्रीबाबु कार्कीकाे सञ्चालन रहेकाे उक्त कार्यक्रममा लघुकथा समाजका पूर्व अध्यक्ष गोपाल अश्क, लघुकथा केन्द्रका उपाध्यक्ष डा. शेखर कुमार श्रेष्ठ, निर्मला शर्मा (पूर्णप्रसाद ब्रम्हाणकी सुपुत्री) लगायतले शुभकामना मन्तव्य दिएका थिए।

लघुकथा समाजको सहकार्यमा सर्वनामको सहकार्यमा भाैकाजीका ‘प्रत्याराेपण’ र ‘माेह’ दुई लघुकथाकाे नाट्य प्रस्तुति देखाइएकाे थियाे। सर्वनामका कलाकारहरू धिरज थापा मगर, प्रतिभा पन्थी, शान्ति डंगौरा, आकांक्षा क्षेत्री, सुधीश थापा मगर, विद्यक तिलक र सुमिक्षा न्यौपानेले कलाकारकाे भूमिका निर्वाह गरेका थिए। उक्त नाटक निर्देशन एवं नाट्यरुपान्तरण राज शाहले गरेका थिए।

रामेछाप जिल्लाको साँघुटार बजारमा जन्मिएका साहित्यकार भौकाजीका प्रकाशित कृतिहरूमा तीन आँखाका मान्छे (छोटा कविता, संयुक्त सङ्ग्रह, २०४५), जिन्दावाद मुर्दावाद (संयुक्त कवितासङ्ग्रह, २०४७), यात्रापछि यात्रा (संयुक्त लघुकथासङ्ग्रह, २०४९), असिना भूत (बालकथासङ्ग्रह,२०६२, २०६४, साझा प्रकाशन), जसको जोत उसको पोत (व्यङ्ग्यसङ्ग्रह, २०६४, २०६६, २०६९, रत्न पुस्तक भण्डार), श्रीपेच नलगाएका राजा (व्यङ्ग्यसङ्ग्रह, २०६८, साझा प्रकाशन), द्रौपदी देश (व्यङ्ग्यसङ्ग्रह, २०७५, साङ्ग्रिला बुक्स) र आऊ हल्ला गरौँ (व्यङ्ग्यसङ्ग्रह, २०७५, डिकुरा पब्लिकेसन) रहेका छन्।
साहित्यकार भौकाजीले ऐतिहासिक ‘शारदा’ मासिकलाई १३६ अंकदेखि निरन्तर सम्पादन गर्दै छन्। १५० भन्दा धेरै कृतिको सम्पादन गरेका उनले ‘शारदा’ काे तिन अंक (२०७१ कत्तिक, २०७५ असोज र २०७५ फागुन) लाई लघुकथा विशेषांक रूपमा सम्पादन/ प्रकाशन गरेका छन्।
त्यस्तै उनले ‘छचल्का’ सामुहिक लघुकथासंग्रह सम्पादन गरेका छन्। उनकै सम्पादनमा ‘बलेँसी’ सामुहिक लघुकथासंग्रह प्रकाशनकाे तयारीमा रहेकाे छ।
राष्ट्रिय कविता महोत्सव २०५२ मा स्वर्णपदक पाएका भौकाजी युवावर्ष मोती पुरस्कार, भैरव अर्याल पुरस्कार, नातिकाजी योगदान पुरस्कार जस्ता पुरस्कारबाट पुरस्कृत छन्।
यसअघि उक्त सम्मान सर्वनाम (२०७८), अनिता तुलाधर (२०७९), लता केसी (२०८०) र आर. आर. चौलागाई (२०८१) लाई अर्पिएकाे थियाे।
पूर्णप्रसाद ब्राम्हण पहिलो लघुकथाकार हुन्। नेपाली लघुकथाकाे क्षेत्रमा विसं २००७ सालमा प्रकाशित ब्राम्हणको लघुकथासंग्रह ‘झिल्का’ लाई पहिलो लघुकथासंग्रह मानिएको छ।
लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले अक्षय कोष राखेपछि सुरू भएको पूर्णप्रसाद ब्राम्हण लघुकथा सम्मानका लागि ब्राम्हणको सन्तानले पनि थप सहयाेग गरेका छन्। उक्त सम्मान बर्सेनि भदौ ५ गते प्रदान गरिँदै आएको छ।
लघुकथा समाज नेपालकाे स्थापना २०६५ सालमा हो। लघुकथा समाज, नेपालको नयाँ कार्यसमितिमा अध्यक्ष तुलसीहरि कोइराला, उपाध्यक्ष शुष्मा चित्रकार, महासचिव सुमन सौरभ, सचिव श्रीबाबु कार्की र कोषाध्यक्षमा छविरमण सिलवाल र सदस्यहरूमा राजेश खनाल, सिन्धु गौतम, तारा केसी र मधु पाठक छन्। यो सम्मान लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले स्थापना गरेका हुन्।
प्रकाशित: ६ भाद्र २०८२ ११:१५ शुक्रबार





