१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

छोटो समयमै नेपाल-भारतमा ख्याती कमाएका प्रशान्त

गायक तथा अभिनेता प्रशान्त तामाङको आज आइतबार निधन भएको छ। दिल्लीस्थित आफ्नै अपार्टमेन्टमा हृदयाघातका कारण उनको मृत्यु भएको हो।

प्रशान्तका प्रशंसक नेपालदेखि भारतसम्म लाखौँ थिए। रियालिटी शोबाट उदाएका उनी पहिलो नेपाली भाषी कलाकार थिए। सोनी टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय गायन रियालिटी शो ‘इन्डियन आइडल’ सन् २००७ मा प्रथम स्थान हासिल गर्ने उनी पहिलो भारतीय प्रहरी जवान पनि थिए। त्यो प्रतियोगिता जितेपछि उनले एक करोड रुपैयाँ बराबरको उपहार, एक कार र आफ्नै एल्बम बनाउने अवसर प्राप्त गरे ।  

‘इन्डियन आइडल’ जितेसँगै प्रशान्तको गायन यात्रा सोनी टेलिभिजनबाटै सुरु भयो। त्यसपछि उनले भारतसँगै नेपालमा पनि गायनमार्फत ख्याती कमाए।

४ जनवरी १९८३ मा जन्मेका प्रशान्तले हालै सलमान खानको बलिउड चलचित्र ‘ब्याटल अफ गलवान’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका थिए। छायांकनका क्रममा रहेको यो चलचित्रमा उनले खलनायकको भूमिका निर्वाह गरेका छन्। चलचित्रको छायांकन सम्पन्न गरेर उनी दिल्ली आएका थिए। चलचित्र प्रदर्शनमा आउन अझै बाँकी छ।

४२ वर्षीय प्रशान्तले संगीतसँगै चलचित्र क्षेत्रमा पनि योगदान दिएका छन्। उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ जस्ता नेपाली चलचित्रमा अभिनय गरेका थिए।

उनले स्वर दिएका थुप्रै गीत दर्शकमाझ अहिले पनि लोकप्रिय छन्। ‘असारे महिनामा’ गीत युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएको छ, जुन उनको सबैभन्दा चर्चित गीतमध्ये एक हो।

नेपाल सरकारले उनलाई सन् २०११ मा ‘नेपाल पर्यटन वर्ष २०११’ का सद्भावना राजदूत नियुक्त गरेको थियो।

बुवा प्रहरी सेवामै सक्रिय रहँदा दुर्घटनामा निधन भएपछि प्रशान्त प्रहरी सेवामा प्रवेश गरेका थिए। उनका परिवारमा श्रीमती र एक छोरी छन्।

उनको बलिउड डेब्यु तथा अन्तिम चलचित्र ‘ब्याटल अफ गलवान’ आगामी अप्रिल १७ मा प्रदर्शनको तयारीमा छ। निधनका कारण चलचित्रको प्रदर्शन मितिमा फेरबदल हुन सक्ने अनुमान गरिएको छ।

प्रशान्त तामाङ अब भौतिक रूपमा रहेनन्, तर उनको संगीत र अभिनयले दर्शक–श्रोताको मनमा उनलाई सधैँ जीवित राख्नेछ। 

यो पनि पढ्नुहोस्

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

प्रकाशित: २७ पुस २०८२ १५:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App