२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

प्राडा गौतम र मधिकर्मीलाई ‘ग्वंगः सिरपाः सम्मान-२०८२’ प्रदान

‘साहित्यिक सम्मान सङ्गम’ भक्तपुरले साहित्यकार प्राडा लक्ष्मणप्रसाद गौतम र प्राज्ञ ध्रुव मधिकर्मीलाई ‘ग्वंगः सिरपाः सम्मान-२०८२’ प्रदान गरेको छ।

नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेख्य भूमिका निर्वाह गरेबापत प्राडा गौतम र प्राज्ञ मधिकर्मीलाई जनही ५० हजार ५ रुपैयाँ नगद राशिसहितको सम्मान प्रदान गरेको हो।

‘साहित्यिक सम्मान सङ्गम’ का संयोजक श्रीओम श्रेष्ठ ‘रोदन’ को सभाध्यक्षतामा भएको कार्यक्रममा सङ्गमका संरक्षक तेजेश्वरबाबु ग्वंग:, विशिष्ट अतिथि त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले स्रष्टालाई सम्मान प्रदान गरे।

निबन्धकार एवं वरिष्ठ समालोचक प्राडा गौतमले समालोचना, कथा, कविता, निबन्ध जस्ता साहित्यका विविध विधा मार्फत नेपाली साहित्यमा योगदान पुर्‍याएका छन्।

त्यस्तै नेपाली तथा नेपाल भाषाका साहित्यकार प्राज्ञ मधिकर्मी पनि कथा, कविता, निबन्ध जस्ता साहित्यका विविध विधामा उत्तिकै कलम चलाउँदै आएका छन्।

केही समयअघि नेपाल स्रष्टा समाजले प्राडा गौतमको ‘समवेत’ निबन्धसंग्रहको लोकार्पण गरेको थियो। त्यस्तै प्राज्ञ मधिकर्मीको ‘महान् अभियान’ व्यङ्ग्यसङ्ग्रह बजारमा आएको छ।

साहित्यकार जितेन्द्र रसिकको सञ्चालन तथा वरिष्ठ साहित्यकार ग्वंग: का सुपुत्र संजीव ग्वंगलको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्राडा गोविन्दराज भट्टराई, प्राडा अभि सुवेदी, नाट्यकार अशेष मल्ल जस्ता विशिष्ट व्यक्तित्वको आतिथ्यता थियो।

यो कार्यक्रममा विशिष्ट अतिथि केदारभक्त माथेमाले सम्मानित स्रष्टाहरूलाई बधाई दिएका थिए। सम्मान व्यवस्थापनका लागि तेजेश्वरबाबु ग्वंगलाई उनले धन्यवाद पनि दिएका थिए।

कार्यक्रममा संरक्षक तेजेश्वरबाबु ग्वंगले आफू लक्ष्मीप्रसाद देवकोटाको चेला भएको र उनकै संगतले आफूलाई केही गर्न हौसला मिलेको बताए।

सम्मानित व्यक्तित्व प्राडा गौतमले सम्मानका लागि आफूलाई सम्झेकोमा छनोट समूह र संस्थाप्रति आभार प्रकट गरेका थिए।

तेजेश्वरबाबु ग्वंग जस्तो व्यक्तिले आफूले पाएको पुरस्कारको रकमबाट स्थापना गरेको पुरस्कार भएकाले यो पुरस्कार महापुरस्कार तथा महासम्मान भएको भन्दै गौतमले आफूमा झन् जिम्मेवारी बढेको बताए।

त्यस्तै अर्का सम्मानित व्यक्तित्व मधिकर्मीले पनि स्रष्टाले आफैंले स्थापना गरेको पुरस्कार आफूले पाउँदा गर्व लागेको बताए।

परिचर्चाकार मुकुन्दराज शर्माले सम्मानति स्रष्टाहरूको निबन्धात्मक परिचय प्रस्तुत गरेका थिए।

त्यस्तै कार्यक्रममा सम्मानित स्रष्टाहरूलाई डा. विजयालक्ष्मी श्रेष्ठले पनि शुभकामना दिएकी थिइन्।

कार्यक्रमका सभाध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले सम्मान स्वीकारेकोमा स्रष्टाहरूलाई आभार प्रकट गरेका थिए। उनले तेजेश्वरबाबु ग्वंगको घर नै ‘निष्ठा छें’ भएको भन्दै उनको घर निष्ठा र सम्मानको धरोहर भएको पनि बताए।

यो पुरस्कार दुईदुई वर्षमा अर्पण गरिन्छ। २०५० सालमा स्थापित उक्त पुरस्कार पहिलोपटक केदारमान व्यथितलाई प्रदान गरिएको थियो। यो पुरस्कारबाट कीर्तिनिधि विष्ट, कमलमणि दीक्षित, सुन्दरप्रसाद शाह, कुलशेखर शर्मा, तिलकप्रकाश कायस्थ, प्राडा गोविन्दराज भट्टराई, प्राडा अभि सुवेदी, श्रीओम श्रेष्ठ रोदन लगायत सम्मानित भइसकेका छन्।

प्रकाशित: ८ कार्तिक २०८२ २१:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App