नेपालको साहित्यिक इतिहास केवल सौन्दर्यबोध र सिर्जनात्मक अभिव्यक्तिको इतिहास मात्र होइन, यो राज्यसत्ता र जनचेतनाबिचको निरन्तर संवाद, टकराव र रूपान्तरणको कथा पनि हो। नेपाली साहित्यिक इतिहास हेर्दा सत्ता र साहित्यबिचको सम्बन्ध सधैं द्वन्द्वात्मक रह्यो। सत्ता प्रायः आफ्नो वैधता कायम राख्न साहित्यलाई नियन्त्रण गर्न, निर्देशित गर्न वा आफ्नो पक्षमा प्रयोग गर्न खोज्छ। तर साहित्यको स्वभाव स्वतन्त्र, प्रश्नाकुल र सत्य खोज्ने भएकाले यसले सधैं सत्ताको नियन्त्रणलाई चुनौती दिएको छ। सत्ता स्थिरता र नियन्त्रण चाहन्छ भने साहित्य परिवर्तन, प्रश्न र चेतना फैलाउन खोज्छ। जब प्रत्यक्ष विरोध असम्भव हुन्छ, साहित्य प्रतीक, रूपक र सांकेतिक भाषामा प्रतिरोध व्यक्त गर्छ।
‘मकैको खेती’देखि सहिद साहित्यसम्म र प्रगतिवादी आन्दोलनदेखि भाषिक अभियानसम्म, साहित्यले सत्ताको अन्याय, असमानता र दमनलाई उजागर गर्ने काम गरेको छ। यस अन्तद्वन्द्वको मूल केन्द्र जनचेतना हो। साहित्यले जनतालाई सोच्न, प्रश्न गर्न र परिवर्तनको बाटो रोज्न प्रेरित गर्छ, जसले सत्ताको एकाधिकारलाई चुनौती दिन्छ। त्यसैले साहित्य केवल कलात्मक अभिव्यक्ति नभई सामाजिक रूपान्तरणको शक्तिशाली माध्यम हो। अन्ततः सत्ताले साहित्यलाई दबाउन खोजे पनि साहित्यले नै भविष्यको स्वतन्त्रता, न्याय र समानताको मार्ग प्रशस्त गर्छ।
विशेषतः राणाकाल र त्यसपछिको पञ्चायती व्यवस्थाको अवधि नेपाली साहित्य र शासनसँगको सम्बन्ध र द्वन्द्वलाई बुझ्ने अत्यन्त महत्वपूर्ण चरण हो। यी दुई कालखण्डमा साहित्यले कहिले शासनको औजारका रूपमा, कहिले प्रतिरोधको माध्यमका रूपमा र कहिले वैकल्पिक चेतनाको बिउ रोप्ने शक्तिका रूपमा काम गरेको देखिन्छ।
कविशिरोमणि लेखनाथ पौड्यालको ‘पिँजडाको सुगा’ क्रान्तिकारी भावभूमि प्रस्तुत भएको कविताकृति हो। पिँजडाभित्रको सुगा केवल एउटा पक्षी होइन, स्वतन्त्रताविहीन जनताको प्रतीक हो, जसले दमनकारी व्यवस्थामाथि मौन तर गहिरो प्रश्न उठाउँछ। गोपालप्रसाद रिमालको ‘आमाको सपना’ नेपाली क्रान्तिकारी चेतनाको सशक्त अभिव्यक्ति हो। यस कृतिमा आमाको सपना केवल व्यक्तिगत आकांक्षा होइन, समग्र राष्ट्रको स्वतन्त्रताको अभिलाषा हो। रिमालले कवितालाई सधैं प्रतिरोधको औजार बनाउँदै सत्ताको अन्यायविरुद्ध स्वर उठाए। सिद्धिचरण श्रेष्ठ र भूपी शेरचनजस्ता स्रष्टाहरूले पनि आफ्नो लेखनमार्फत जनताको पीडा, असमानता र विद्रोहलाई मुखरित गरे। सिद्धिचरणका कवितामा क्रान्तिको आह्वान छ भने भूपीका रचनामा व्यंग्य र यथार्थको तिखो चित्रण पाइन्छ, जसले सत्ताको खोक्रोपन उजागर गर्छ। यस क्रान्तिकारी परम्परामा लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’जस्तो कृति पनि सामाजिक यथार्थ र मानवीय संवेदनाको सशक्त उदाहरण हो, जहाँ वर्गीय पीडा स्पष्ट देखिन्छ। कृष्णलाल अधिकारीको ‘मकैको खेती’ले रूपकमार्फत राणाशासनको आलोचना गर्दै साहित्यको विद्रोही स्वरलाई अझ प्रखर बनायो। यस किसिमको घटनाको प्रभाव गोपालप्रसाद रिमालको ‘परिवर्तन’ कविताका यी पङ्क्तिमा आएको छ–
हिजोसम्म जसको क्षुद्रतालाई नै सर्वस्व थियो
जो त्यही क्षुद्रतालाई कुल्ची कुल्ची
कायरताको ढालले बचाएर हिँड्थे
आज तिनैको ज्यान दिने मित्र मात्र होइनन्,
ज्यान लिने दुस्मन पनि हुन्।
राणाकाल : दमन, नियन्त्रण र मौन प्रतिरोध
राणाशासन निरंकुश, केन्द्रीकृत र जनअधिकारविहीन शासन प्रणाली थियो। यस अवधिमा अभिव्यक्ति स्वतन्त्रता अत्यन्त सीमित थियो, जसका कारण साहित्यिक सिर्जना प्रत्यक्ष रूपमा नियन्त्रणमा रह्यो।
राणाहरूले शिक्षाको पहुँच सीमित गरे, मुद्रण तथा प्रकाशनमा कडा नियन्त्रण लगाए र राज्यविरोधी कुनै पनि विचारलाई दण्डनीय बनाइयो। यस कारणले साहित्य खुला रूपमा जनजीवनका यथार्थ, अन्याय र शोषणबारे बोल्न सक्दैनथ्यो।
यस कालमा साहित्यिक प्रवृत्ति दरबारमुखी देखियो। कवि–लेखकहरूले शासकको प्रशंसा गर्ने, धार्मिक–पौराणिक कथामा आधारित वा सौन्दर्यप्रधान रचनाहरू लेख्ने चलन थियो। यसले शासनलाई वैधता दिन सहयोग पुर्यायो।
यद्यपि, सम्पूर्ण साहित्य शासकको पक्षमा मात्र थिएन। केही लेखकहरूले प्रतीक, रूपक र गूढ भाषाको प्रयोग गरेर शासनको आलोचना गरे। कथामा जनावर वा पौराणिक पात्रमार्फत सामाजिक अन्याय देखाइन्थ्यो। कवितामा प्रत्यक्ष नभई अप्रत्यक्ष रूपमा पीडा र विद्रोह व्यक्त हुन्थ्यो। यसरी, राणाकालीन साहित्य मौन प्रतिरोधको स्वर बोकेको थियो, जसले शासनसँग प्रत्यक्ष टक्कर लिन नसके पनि चेतनाको बिउ रोपिरहेको थियो।
भानुभक्तको रामायण प्रत्यक्ष राजनीतिक कृति होइन तर यसले नेपाली भाषामा साहित्य लेख्ने परम्परा स्थापित गर्यो। जनभाषामा लेखिएको यो काव्यले शासककेन्द्रित संस्कृत साहित्यको प्रभुत्व तोड्ने काम गर्यो, यो आफैंमा सांस्कृतिक प्रतिरोध थियो। लेखनाथ पौड्यालको ‘पिँजडाको सुगा’ कविता राणाकालीन दमनको सांकेतिक आलोचना हो। पिँजडामा थुनिएको सुगा वास्तवमा स्वतन्त्रताविहीन जनताको प्रतीक हो। ‘खान दिन्छन्, तर उड्न दिँदैनन्’ भन्ने भावले शासनको दमनकारी स्वरूप उजागर गर्छ।
‘मकैको खेती’ले रोपेको विद्रोहको बिउ
‘मकैको खेती’ बाह्य रूपमा हेर्दा कृषिसम्बन्धी साधारण निबन्धजस्तो देखिन्छ। यसमा मकै कसरी रोप्ने, हुर्काउने र उत्पादन बढाउने भन्ने कुरा गरिएको छ। तर यसको भित्री अर्थ (रूपक) विद्रोही छ। यहाँ ‘मकै’ले जनताको जीवन र सम्भावना, ‘खेती’ले राज्य सञ्चालनको तरिका तथा ‘कमजोर उत्पादन’ले शासकको असक्षमतालाई प्रतीकात्मक रूपमा सङ्केत गर्छ। यसरी यो कृति वास्तवमा राणाशासनको अयोग्यता र शोषणको अप्रत्यक्ष आलोचना हो।
राणाकालमा प्रत्यक्ष शासनविरोधी लेखन असम्भवजस्तै थियो। त्यसैले लेखकहरूले प्रतीकात्मक भाषा प्रयोग गर्थे। तर प्रतीकात्मक कृति लेखे पनि शासकहरूले ‘मकैको खेती’लाई शासनविरोधी व्यङ्ग्य ठहर गरे। फलस्वरूप लेखक कृष्णलाल अधिकारीलाई पक्राउ गरियो, जेल सजाय दिइयो, जेलमै उनको मृत्यु भयो। यस घटनाका कारण सुब्बा कृष्णलाल अधिकारी साहित्यिक सहिद बने।
‘मकैको खेती’को ऐतिहासिक महत्व
‘मकैको खेती’ नेपाली साहित्यमा केवल एउटा निबन्ध होइन, यो अभिव्यक्ति स्वतन्त्रताका लागि बलिदानको प्रतीक हो। साहित्यिक प्रतिरोधको प्रारम्भिक उदाहरण हो, शासनको असहिष्णुताको प्रमाण हो। यो कृतिले देखाउँछ– साहित्यले जब सत्य बोल्छ, चाहे रूपकमार्फत नै किन नहोस्, सत्ताले त्यसलाई खतराका रूपमा हेर्छ।
‘मकैको खेती’बिना सत्ता र साहित्यबिचको द्वन्द्वको चर्चा अधुरो हुन्छ। कृष्णलाल अधिकारीले आफ्नो कृतिमार्फत देखाए कि साहित्य केवल कल्पना होइन, यो सत्तालाई प्रश्न गर्ने शक्ति हो। उनको सजायले एउटा गहिरो सत्य उजागर गर्छ– दमनकारी शासनमा सत्य बोल्ने कलम कहिल्यै सुरक्षित हुँदैन तर त्यही कलमले भविष्यको स्वतन्त्रताको बाटो खोल्छ।
‘प्रभातवर्णन’ काण्ड (१९७७)
‘प्रभातवर्णन’ काण्ड गोरखाशिक्षा तेस्रोमा प्रकाशित लेखनाथ पौड्यालको ‘प्रभात’ कविताको एक श्लोकसँग सम्बन्धित छ। ‘गोरखा शिक्षा’ राममणिको सम्पादनमा छापिएको हो। पछि ‘लालित्य’मा संकलित ‘प्रभात’ कविताका अन्तमा आएको विचारमा राजकाजीको संकेत भएको पाइन्छ। लेखनाथ पौड्याल र राममणिलाई राजद्रोही बनाउन यस कविताको राजकाजसापेक्ष व्याख्यासहित उजुरी पर्यो। ‘प्रभात’ कविताको तेस्रो श्लोक यसप्रकार छ–
चन्द्र–बिम्ब गगनाऽन्तर चारी
मन्द मन्द मलिनाऽऽकृति धारी
हेर अस्तगिरिका शिर पारि
देखियो दबिनलाई तयारी।
यस श्लोकको पूर्वापर प्रसंग र अभिधात्मक अर्थ छोडेर बाङ्गो अर्थ लगाइएको थियो– महाराज चन्द्रलाई अस्त हुने बेला भयो भनेर लेखेको हुनाले यसलाई राजकाजसम्बन्धी कविताका रूपमा हेरिनुपर्छ। लेखक, कविहरूले जागरण दिने, राष्ट्रिय भावना प्रचार गर्ने र राणाविरोधी भावना ल्याउनेजस्ता लेखहरू प्रस्ट वा अप्रस्ट रूपमा नलेखून् भनी उनीहरूलाई तर्साउन र आफ्नो मुठीमा राख्ने नीतिअनुरूप यस्ता घटनामा चन्द्रशमशेरले प्रत्यक्ष सरोकार राख्थे। राममणिसँगको सम्बन्धका कारण चन्द्रशमशेरले पछि यो घटनालाई आक्रामक रूपमा अगाडि बढाएनन्। यो घटनाले ‘कमै पर्व’का जस्तो दण्डात्मक रूप भने लिएन।
पुस्तकालयपर्व (१९८७)
पुस्तकालयपर्व साहित्यिक आन्दोलन र घटनासँग प्रत्यक्ष सम्बन्ध नराखे पनि यसबाट पृथक् छैन। विविध पुस्तकहरू संकलन, संरक्षणका साथै पढ्ने, पढाउने र छलफल गर्ने वातावरणको निर्माणमा पुस्तकालयको भूमिका महत्वपूर्ण हुन्छ। यसले साहित्यको विकासमा बाह्य वातावरणको निर्माण गर्छ। त्यसैले पुस्तकालयपर्व यस सन्दर्भमा स्मरणीय छ।
भीमशमशेर प्रधानमन्त्री हुनेबित्तिकै उनले हिन्दी, उर्दू, अंग्रेजी, नेपाली र नेवारी भाषाको उन्नतिका लागि काम गर्न आदेश गरे। उनको यसप्रकारको आदेशको खबर पाएर काठमाडौंका केही युवाले पठन संस्कृतिको विकास तथा देशविदेशका कुरा थाहा पाउन एउटा पुस्तकालयको आवश्यकता महसुस गरे। पुस्तकालय खोल्न पहल गर्ने युवामा कृष्णप्रसाद कोइराला, धर्मराज थपलिया, जोगवीर सिंह, चित्तधर हृदय र हर्षदास तुलधार थिए। यसप्रकारको पुस्तकालय महेन्द्र बहालमा राख्ने योजनासहित भीमशमशेर कहाँ निवेदन हाल्ने विचारले ४५ जनाको सही गराए। पुस्तकालय खोल्ने यस अभियानलाई राजनीतिका उद्देश्य राखी संगठन खोल्न लागेको भन्ने खबर रामचन्द्र अधिकारीले दरबारमा दिए। त्यसपछि यस अभियानलाई राजनीतिक रङ लगायो। अब पुस्तकालय अभियानमा सही गर्नेहरूलाई गिरफ्तार गर्न सुरु गरियो र उनीहरूमाथि मुद्दा चलाइयो। सुरुमा राजनीतिक रूप दिन खोजे पनि पछि सबैलाई एक एक सय रूपैयाँ जरिवानासहित ‘अबदेखि यस्तो कार्य गर्ने छैनौं’ भन्ने कागज गराई छाडियो। यसरी सत्ता र वाङ्मयबिचको द्वन्द्वको उदाहरण बनेको छ– पुस्तकालयपर्व।
सहिदपर्व (१९९७)
१९९७ साल नेपालको इतिहासमा ‘सहिदपर्व’का नाममा स्मरणीय छ। सहिदको त्याग, वलिदान र साहसले नेपाली समाजमा नयाँ चेतना, जोश र तरंग सिर्जना गयो, यसले साहित्यमा प्रभाव पायो र सहिदको त्यागको जयगान, दृढता र समर्थन लेखनबाट पनि हुन थाल्यो। त्यसैले ‘सहिदपर्व’ साहित्यिक सन्दर्भमा पनि स्मरणीय छ।
सहिदसम्बन्धी साहित्यमा रगतको मूल्य र जीवनको धड्कन कोरिएको हुन्छ। त्यसैले यस साहित्यमा सहिदको आस्था तत्कालीन समाजको अवस्था र इतिहासको प्रतिबिम्ब झल्किन्छ। समर्पणको ओज, प्राणको मोल र सुन्दरताको खोजले सहिदसम्बन्धी साहित्य चम्किएको हुन्छ। साहित्यकारहरूले सहिदहरूको स्वप्न, आस्था र त्यागलाई सम्मान गर्दै श्रद्धाका शब्द थुंगा चढाएका छन् वा साहित्यिक आराधना गरेका छन्।
१९९७ सालको सहिदकाण्डपछि सहिदसम्बन्धी साहित्यको सिर्जनामा तीव्रता आएको पाइन्छ। १९९७ सालमा सहिद हुने व्यक्तित्वका त्याग र आदरलाई साहित्यकारहरूले भावनात्मक आलोकमा व्यक्त गर्दै उनीहरूको स्वप्न प्राप्तिको लागि शाब्दिक संघर्ष गरेको पाइन्छ। २००७ सालको परिवर्तनले यस कार्यमा अझ गति थपेको देखिन्छ। यस्तै विभिन्न कविहरूले सहिदहरूलाई सम्बोधन वा श्रद्धा गरेर लेखेका कविताहरूको सँगालो ‘सहिद’ कवितासंग्रह (२००९) प्रकाशनमा ल्याएको पाइन्छ। हालसम्म पनि सहिदहरूका नाममा साहित्यलाई संकलन गरेर बचाइराख्ने चासो सचेत व्यक्तित्वहरूमा पलाएको पाइन्छ।
सहिदको सम्मानस्वरूप भूपि शेरचनले कविताका यी भाव व्यक्त गरेका छन्–
मैले पिएकोमा रिसाएका साथीहरू !
पिएर त हेर, पिउन झन् गाह्रो छ !
मरेर शहीद हुनेहरू हो !
जिएर त हेर, जिउन झन् गाह्रो छ।
कविताको सीमाभन्दा पर पुगेर आख्यान विधामा पनि सहिदहरूको उपस्थिति गहिरो र जीवन्त देखिन्छ। गुरूप्रसाद मैनालीको ‘सहिद’, विश्वेश्वरप्रसाद कोइरालाको ‘एक रात’, रमेश विकलको ‘एउटा बुढो बकैनाको रुख’ र घनश्याम ढकालको ‘सहिद मानचित्रमा नपरेको सहिद’जस्ता कथाले सहिदको बलिदान केवल स्मरण मात्र गरेका छैनन्, चेतनाको पुनर्जागरण हुनुपर्ने दह्रो आवाज उठाएका छन्। हृदयचन्द्रसिंह प्रधानको ‘गंगालालको चिता’ र अग्निशिखाको ‘सहिदकी आमा’जस्ता कृतिमा सहिदको अनुभूतिलाई नाटकीकरण गरिएको छ। निबन्ध विधामा पनि सहिदप्रति श्रद्धा र चिन्तन उत्तिकै आएको पाइन्छ। लक्ष्मीप्रसाद देवकोटाको ‘वीरहरू’ र कृष्णचन्द्रसिंह प्रधानको ‘शव, शालिक र सहस्र बुद्ध’जस्ता निबन्धहरूले सहिदको त्यागलाई वैचारिक गहिराइ र भावनात्मक गरिमासाथ उजागर गरेका छन्।
नपुंसक राणापर्व (१९९८)
लक्ष्मीनन्दन चालिसे (१९७०–२००२) नेपाली साहित्यका क्षेत्रमा बिर्सन नसकिने प्रतिभा हुन्। उनका गद्यपद्य रचनाहरू ‘उद्योग’ पत्रिकामा प्रशस्तै छापिएका छन्। उनका दुईवटा कविता ‘हिमालचुली’ मा संकलित छन्। ‘उद्योग’ पत्रिका (१९९५) मा छापिएका यी कवितामा ‘लब्धे बौलाहा’ र ‘प्रार्थना’ रहेका छन्।
गरिबीबाट मुक्त नभएसम्म देशको परिस्थिति नसुधारिने उनको विचार छ। लक्ष्मीनन्दन चालिसेमा प्रशस्त साहित्यिक संचेतना भए पनि क्रूर राणातन्त्रको ठिंगुरामा उनको जीवन अन्त्य भएको टिप्पणी पाइन्छ। यसरी नै उनको ‘उद्योग’ पत्रिकामा छापिएको लेखका कारण उनका पिता चक्रपाणि चालिसे र साहित्यकार बालकृष्ण सम दण्डित भएको तथ्य पनि यस प्रसंगमा बिर्सन मिल्दैन। यसरी विद्रोही र गरिब निर्धाप्रति सहानुभूति राख्दै आएका चालिसेमा १९९७ सालको सहिदपर्वपछि निरंकुशताप्रति झन् आक्रोश बढेको पाइन्छ। उनले स्नातकको उत्तरपुस्तिकामा ‘नपुंसक राणा’ लेख्न पुगे। यो कुरो प्रा. गोकुल चन्द, बालकृष्ण सम, मृगेन्द्रशमशेर र पद्मशमशेर कहाँ क्रमशः पुग्यो। लक्ष्मीनन्दन यही सन्दर्भमा जेल परे र झ्यालखानामा क्षयरोगले आक्रान्त भएर उनको मृत्यु २००२ मा भयो।
जयतु संस्कृतम् (२००४)
‘जयतु संस्कृतम्’ केवल संस्कृत शिक्षासँग सम्बन्धित आन्दोलन मात्र होइन, यो नेपालका राजनीतिक संरचना र सांस्कृतिक चेतनाबिचको गहिरो अन्तद्वन्द्वको ऐतिहासिक अभिव्यक्ति पनि हो। ‘संस्कृत वाङ्मयको जय होस’ भन्ने उद्घोषसहित २००४ सालमा प्रारम्भ भएको यस आन्दोलनले तत्कालीन राणाशासनको दमनकारी सत्ता र ज्ञान–संस्कृतिको स्वतन्त्र आकांक्षाबिचको टकरावलाई उजागर गरेको देखिन्छ।
२००७ सालअघिको राज्यसत्ताले एकातिर संस्कृत शिक्षालाई परम्परागत घेराभित्र सीमित राख्दै आधुनिक ज्ञान–विज्ञानबाट टाढा राखेको थियो भने अर्कातिर जनसाधारणमाथि दमनको नीति अपनाएको थियो। यस सन्दर्भमा ‘जयतु संस्कृतम्’ आन्दोलन केवल शैक्षिक सुधारको माग नभई सत्ता संरचनाको पुनर्विचारको आवाज बनेर उभिएको थियो। संस्कृत र आधुनिक भाषाबिच गरिएको विभेद, विद्वान्हरूबिचको असमान व्यवहार र शिक्षालाई राजनीतिक नियन्त्रणको साधन बनाउने प्रवृत्तिविरुद्ध यस आन्दोलनले सशक्त प्रतिवाद गर्यो।
हलोक्रान्ति (२००६)
राजनीतिक चेतनासँग जोडिएको सांस्कृतिक क्रान्ति हलोक्रान्ति हो। यसले समाजमा नयाँ तरंग ल्यायो र साहित्यिक सिर्जनामा पनि असर पायो। यस अभियानसँग जोडिएर मौखिक र लिखित साहित्य पनि जन्मियो। त्यसैले साहित्यिक अभियानका सन्दर्भमा हलोक्रान्ति र यसका प्रभावमा जन्मिएको साहित्यिक ऊर्जालाई बिर्सन मिल्दैन।
हलोक्रान्तिको मूल उद्देश्य ब्राह्मणले हलो जोतेर परम्परित समाजका विरुद्ध देखा पर्नु हो। पश्चिम क्षेत्रका ब्राह्मण युवाहरूले आफ्ना सामाजिक परम्पराका विरुद्ध आआफ्ना क्षेत्रमा हलो जोत्ने अभियान सञ्चालन गरे।
लोकधर्म, परम्परागत लोकसंस्कृति तथा जनमान्यता प्राप्त अन्धविश्वासलाई मेट्न ब्राह्मण समाजविरुद्धको एउटा संघर्ष र क्रान्ति हलोक्रान्ति भएको पनि उल्लेख छ। बाहुनले हलो जोत्न हुँदैन भन्ने लोकरीतिलाई तोड्दै सर्वप्रथम यस अभियानको थालनी लमजुङबाट भएको हो। लमजुङको दुराडाँडाका शेषकान्त अधिकारी र पं. तोयनाथ अधिकारीले सर्वप्रथम हलो जोत्ने कार्य थालेको पनि उल्लेख छ। हलो जोत्ने अभियान २००६ साउन ११ गतेका दिन भएको हो।
हलोक्रान्तिले सामाजिक जागरण ल्याएको र त्यसको प्रतिविम्ब साहित्यमा पनि परेको पाइन्छ। सांस्कृतिक जागरणमा यस क्रान्तिको विशेष महत्व छ र साहित्यमा पनि यसको प्रभावलाई यही आधारमा विश्लेषण गर्नुपर्ने हुन्छ।
प्रगतिवादी साहित्यिक आन्दोलन (२००८–२००९)
नेपाली साहित्यमा चिन्तनमूलक लेखनको सशक्त आधारका रूपमा प्रगतिवादी साहित्यिक आन्दोलनको स्थान स्मरणीय छ। दार्शनिक र सैद्धान्तिक धरातलमा उभिएको प्रगतिवाद, कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्वारा प्रतिपादित द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणसँग आबद्ध छ। यही कारण यस धाराका कृतिहरूलाई माक्र्सवादी साहित्यको अभिव्यक्तिका रूपमा पनि हेरिन्छ। नेपाली सन्दर्भमा यही विचारधाराबाट प्रेरित लेखन ‘प्रगतिवादी साहित्य’का रूपमा विकसित भयो।
प्रगतिवादी लेखनको मूल प्रवृत्ति नै सत्ताको तानासाही प्रवृत्तिसँग द्वन्द्वान्मक सम्बन्ध राख्नु हो। यो साहित्य सधैं विभेद, विसङ्गति, गरिबीजस्ता पश्चगामी सामाजिक तत्वविरुद्ध विचार व्यक्त गर्ने भएकाले यसले साहित्यलाई जीवन, वर्गचेतना र सामाजिक दायित्वसँग जोड्ने काम गरेका छ।
जागरणमूलक लेखनको पृष्ठभूमि लामो भए पनि यसले संगठित रूप २००६ सालपछि नेपाल कम्युनिस्ट पार्टीको स्थापना संगै पायो। ‘प्रगतिशील अध्ययन मण्डल’ र ‘प्रगतिशील लेखक संघ’जस्ता संस्थामार्फत साहित्यलाई विचार, संगठन र आन्दोलनसँग जोडियो। वर्गसंघर्ष, सामाजिक असमानता र शोषणविरुद्धको स्वर साहित्यमा गुन्जिन थाल्यो।
यस आन्दोलनले साहित्यलाई यथार्थवादी धारमा उभ्याउँदै नयाँ मान्यता स्थापित गर्यो– साहित्य समीक्षा, जनपक्षीय लेखन, साम्राज्यवाद र सामन्तवादविरुद्धको आवाज तथा विचार र कलाको सन्तुलन। श्यामप्रसाद शर्मा, गोविन्दप्रसाद लोहनी, हृदयचन्द्रसिंह प्रधान, भूपी शेरचनजस्ता स्रष्टाहरूले यस धारालाई सशक्त बनाए।
झर्रोवादी आन्दोलन (२०१३)
झर्रोवादी आन्दोलन भाषा क्षेत्रको आन्दोलन हो। यसको प्रभाव साहित्यमा पनि परेको छ। त्यसैले झर्रोवादी आन्दोलन भाषासाहित्यका क्षेत्रमा स्मरणीय छ। २०१३ सालमा यो आन्दोलन घोषित रूपमा देखापरेको हो। यद्यपि यसको पृष्ठभूमि यसभन्दा अघि नै निर्माण भएको पाइन्छ। यस आन्दोलनले नेपाली भाषा साहित्यका क्षेत्रमा नयाँ तरंग उत्पन्न गयो। २०१३ मा वनारसमा अध्ययनरत विद्यार्थीहरूले सुरु गरेको नेपाली भाषाको झर्रो अर्थात् शुद्ध नेपालीको खोजी नै यस आन्दोलनको मूल लक्ष्य देखिन्छ। यही झर्रोलेखन/झर्रो रूपको खोजी अभियान नै झर्रोवादी आन्दोलनका नामले परिचित भएको हो।
नेपाली भाषामा झर्रोपनको संकेत भाषाशास्त्री आर. एल. टर्नरको कार्यमा पाइन्छ। यिनले आफ्नो शब्दकोशमा जनजिब्रो भनेर झर्रो नेपालीको प्रयोग गरेको पाइन्छ। १४९ नेपाली भाषाको झर्रोपनको खोजी गर्ने व्यक्तित्वमा भाषासेवी पुष्करशमशेरको नाम उल्लेख्य छ। उनले नेपाली भाषाको लेखनपद्धति संस्कृतमय पार्नपट्टि नलहसिने र अंग्रेजीको प्रभावलाई रोक्ने कार्यमा सचेत हुनपर्नेमा प्रश्न कवि युद्धप्रसाद मिश्रको कथासंग्रह ‘अमरकथा’ (२०१५) तत्कालीन सरकारले जफत गरेको घटनालाई ‘अमरकथा’ पर्व भनिएको हो। यस संग्रहमा जम्मा ५ वटा कथा छन्। यी कथामा उनले तत्कालीन राजनीतिको आलोचना गरेका छन्।
सत्ता र साहित्यबिचको द्वन्द्वलाई यसप्रकार बुँदागत रूपमा समेट्न सकिन्छ–
–नेपाली साहित्यको इतिहास केवल सौन्दर्यको होइन, सत्ता र जनचेतनाबिचको द्वन्द्वको कथा हो।
–राणाकालमा अभिव्यक्ति स्वतन्त्रता सीमित हुँदा साहित्य दरबारमुखी भए पनि मौन प्रतिरोधको माध्यम बन्यो।
–प्रतीक, रूपक र गूढ भाषाबाट लेखकहरूले शासनको अप्रत्यक्ष आलोचना गरे।
–‘मकैको खेती’जस्ता कृतिले रूपकमार्फत राणाशासनको अयोग्यता उजागर गरे र लेखक दण्डित भए।
–‘प्रभातवर्णन’ र पुस्तकालयपर्वजस्ता घटनाले सत्ता–साहित्य टकरावलाई स्पष्ट देखाए।
–सहिदपर्वपछि साहित्यमा त्याग, बलिदान र जनचेतनाको अभिव्यक्ति तीव्र भयो।
–हलोक्रान्ति र ‘जयतु संस्कृतम्’जस्ता आन्दोलनहरूले सांस्कृतिक र बौद्धिक स्वतन्त्रताको आवाज उठाए।
–प्रगतिवादी आन्दोलनले साहित्यलाई वर्गचेतना, यथार्थवाद र जनपक्षीय धारमा अघि बढायो।
–भाषा–आन्दोलनहरू (झर्रोवाद, व्याकरण संशोधन)ले सांस्कृतिक स्वायत्तता र पहिचानलाई बलियो बनाए।
–साहित्य कहिले सत्ताको औजार, कहिले प्रतिरोध र कहिले परिवर्तनको माध्यम बन्यो।
प्रकाशित: ११ वैशाख २०८३ ०८:४६ शुक्रबार





