१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

स्रष्टाद्वय पोखरेल र पन्थी सम्मानित तथा दुई कृति लोकार्पण

‘नेपाल स्रष्टा समाज’ ले १९औं स्थापना दिवसको अवसरमा दुई साहित्यकारलाई सम्मान अर्पिएको छ।

वरिष्ठ कवि प्रल्हाद पोखरेललाई सुभद्रा-विश्वराज स्रष्टा सम्मान-२०८२ सम्मान अर्पिएकाे छ। उक्त पुरस्कार रूपैयाँ २१ हजार एक सय ११ नगद राशि रहेकाे छ। नेपाली साहित्यको पारम्परिक तथा शास्त्रीय क्षेत्रमा योगदान पुर्‍याएबापत पोखरेललाई सम्मान अर्पिएकाे हाे।

त्यस्तै युवा साहित्यकार अनिता पन्थीलाई प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान-२०८२ अर्पिएकाे छ। उक्त पुरस्कारकाे राशि १५ हजार एक सय रुपैयाँ रहेको छ।

सिर्जनात्मक क्षेत्रमा सक्रिय रहेर उल्लेख योगदान पुर्‍याएबापत युवा साहित्यकार पुरस्कार प्रदान गरिएको हो। नगद राशि तथा प्रमाणपत्र प्रमुख अतिथि लगायतले अर्पिएका थिए।

संस्थाका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ र वरिष्ठ साहित्यकार प्राडा अभि सुवेदीकाे प्रमुख आतिथ्यमा कार्यक्रममा भएकाे हाे।

नेपाल स्रष्टा समाजले आफ्नो १९ औं स्थापना दिवसको अवसरमा साहित्यकार जीवनाथ पोखरेलको ‘फेसबुकको करामत’ कथासङ्ग्रह र कवि अम्बु बिहानीको ‘अतृप्त रहरहरू’ मुक्तकसङ्ग्रहको लोकार्पण गरिएको छ।

राजधानीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्राडा अभि सुवेदी, श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, भागिरथी श्रेष्ठ, हिरण्यकुमारी पाठक, विधान आचार्य, चेतनाथ कँडेल हरित र स्रष्टाद्वय लगायतले लोकार्पण गरे।

प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. सुवेदीले आफ्नो मन्तव्य राख्दै भने राज्यको निकायले भन्दा निजी स्तरबाट साहित्य धानिएको अवस्था छ। यसमा नेपाल स्रष्टा समाज धन्यवादको पात्र छ। उनले सम्मानित स्रष्टा र नयाँ कृतिका स्रष्टाहरूलाई बधाई दिए।

समालोचक प्राडा गोविन्दमानसिंह कार्कीले लोकार्पित कृतिकाे चर्चा गरेका थिए। उनले कथा कृति फेसबुकको करामतमाथि चर्चा प्राय: प्रेमकथा समेटिएको सङ्ग्रहमा सामाजिक विसङ्गतिका कथा रहेकाे बताए।

सबैजसो कथा प्रथम पुरुषदृष्टिविन्दु र तृतीय पुरुषदृष्टिविन्दुमा लेखिएका छन्। कुनैकुनै कथा डायस्पोरा साहित्यका पनि देखिन्छन्।

यस्तै मुक्तकसङ्ग्रहमाथि चर्चा गर्दै प्राडा कार्कीले प्रेम, विछोड, समाजका विकृति र विसङ्गतिप्रतिको व्यङ्ग्यप्रतिको आक्रोश मिसिएका मुक्तकहरू भएको बताए।

कलात्मक र बिम्बात्मक पक्ष बलियो भएर मुक्तकहरू आएका उनले बताए।

कार्यक्रममा समाजका संरक्षक वरिष्ठ साहित्यकार पवन आलोकले शुभकामना मन्तव्य व्यक्त गर्दै १९ औं स्थापना दिवसको अवसरमा समाजलाई योगदान गर्नेहरूलाई सम्झिएका थिए।

सम्मान यस्तो होस् जुन सम्मान अर्पण गरेपछि संस्था पनि सम्मानित होस् भन्ने कुरामा हामी सचेत छौं।

कार्यक्रममा सभाध्यक्ष समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले भने सम्मान र पुरस्कारका विभिन्न विकृतिबाट नेपाल स्रष्टा समाज मुक्त रहेको भन्दै उनले सबैलाई धन्यवाद दिए।

पुरस्कृत स्रष्टा पोखरेलले छन्द कविता सुनाउँदै पुरस्कृत हुन पाएकोमा खुशी व्यक्त गरेका थिए।

मधु पाठकको सञ्चालन तथा कोषाध्यक्ष तारा सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेकाे कार्यक्रममा सम्मानित स्रष्टा पन्थीले आफू सम्मान हुन पाउँदा खुशी हुँदै साहित्यमा अझै केही गर्ने जिम्मेवारी थपिएको बताइन्।

कार्यक्रममा पुरस्कारका संस्थापकमध्येबाट विधान आचार्य र चेतनाथ कँडेल हरितले मन्तव्य व्यक्त गरे।

विधान आचार्यले सुभद्रा विश्वराज स्रष्टा सम्मान विसं २०७४ मा स्थापना गरेका हुन्। चेतनाथ कँडेल हरित र सीता भण्डारी कँडेलले प्रसिद्ध कँडेल राष्ट्रिय युवा स्रष्टा सम्मान २०७४ सालमा स्थापना गरेका हुन्।

कार्यक्रममा नेपाल स्रष्टा समाजका आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएकाे थियाे।

नेपाल स्रष्टा समाजले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै आएको छ।

प्रकाशित: १७ पुस २०८२ ११:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App