२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

४६ सालपछिका काण्डमा मेरै परिवारको सदस्य भेटिए पनि बच्दैनन्: गगन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब बन्ने कांग्रेसको सरकारले २०४६ सालयताका सबै भ्रष्टाचार काण्डहरूको फाइल खोल्ने र दोषीलाई कारबाही गर्ने घोषणा गरेका छन्।

बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले भ्रष्टाचार नियन्त्रणमा आफू निर्मम भएर लाग्ने बताए।

उनले सुशासनको सवालमा आफ्नै रगतको नाता पर्ने व्यक्ति दोषी देखिए पनि कारबाहीबाट नबच्ने दाबी गरे।

विगतका राजनीतिक घटनाक्रम र भ्रष्टाचारका काण्डहरूले नागरिकमा निराशा छाएको भन्दै थापाले अब कांग्रेसले त्यो फोहोर सफा गर्ने बताए।

‘२०४६ साल पछाडि भएका, भनिएका र सुनिएका प्रत्येक काण्डहरूको छानबिन गर्ने मात्र होइन, त्यो काण्डमा संलग्न मेरै परिवारको सदस्य रहेछ भने पनि त्यो एकजना मान्छे पनि बच्दैन।’ गगनले भने।

सभापति थापाले आगामी ५ वर्षको कार्यकालमा कांग्रेस नेतृत्वको सरकारले कुनै पनि नयाँ भ्रष्टाचार काण्ड हुन नदिने ग्यारेन्टी गरे। ‘यो ५ वर्षको कार्यकालमा नेपाली कांग्रेसको सरकारले एउटा काण्ड गर्‍यो भन्ने कुरा कुनै नागरिकले सुन्नु पर्दैन,’ थापाले भने, ‘हामी ती विगतका कुराहरूबाट सिकेर र बदलिएर आएका छौं।’

गठबन्धनको राजनीति र सरकार बनाउने खेलले राजनीति दूषित भएको स्वीकार गर्दै थापाले अब कांग्रेस एक्लै अघि बढेर फोहोर राजनीति सफा गर्ने बताए।

उनले २०८२ देखि २०८७ सालसम्मको ५ वर्षलाई कामको वर्ष र नेपालको इतिहासको स्वर्णिम काल बनाउने सपना र संकल्प आफूसँग रहेको जिकिर गरे।

देशमा ठुलो कोलाहल र हल्ला फैलिएको भन्दै उनले सामाजिक सञ्जालको भ्रम चिरेर गाउँ–गाउँमा कांग्रेसको सन्देश पुर्‍याउन कार्यकर्ताहरूलाई निर्देशन समेत दिए।

प्रकाशित: १४ फाल्गुन २०८२ १५:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App