१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

पाेखरामा गुञ्जिए कवि उमेश अकिञ्चन

नेपाली लेखक संघ, गण्डकीको आयोजनामा कवि उमेश अकिञ्चनको एकल कविता वाचन कार्यक्रम भएको छ। हिमालयन रिडर्स कर्नरमा पोखरेली दर्शक एवम् स्रोतासामु उनले आफ्ना एक दर्जन बढी कविता सुनाएका थिए।

विराटनगरमा जन्मिएर काठमाडाैंलाई आफ्नो कर्मभूमि बनाएका कवि उमेशले आफूले देखेको भोगेको समय, समाज र परिवेशले नै आफूलाई कविता लेख्न प्रेरित गरेको बताउँदै कविले जिन्दगीको उकालीओरालीले गाएका संघर्षका गीतहरू, सामाजिक परिवेशभित्र हराएका नैतिकताहरू, शहरको बोक्रे रमझमले बिर्साएको सम्बन्धका हिसाबकिताबहरू, समयको दौडमा पछाडि परेका अकर्मण्य धावकहरूको गतिको निकै गहिरोसँग गरेका मापनका कविताहरू सुनाए।

नेपाली लेखक संघ, गण्डकीका महासचिव सञ्जीव पौडेलले सञ्चालन गरेकाे कार्यक्रममा कविले कविता वाचन गर्दै गर्दा कहिले कविताको रचनागर्भ सुनाउँथे त कहिले समकालीन कवितामाथि आफ्नो विचार राख्थे त कहिले अग्रज, समकालीन र अनुज कविहरूसँगको साहित्यिक यात्राको गोरेटोहरू सम्झिन्थे।

यसले कविता श्रवणमा थप रौनक थपिरहेको हुन्थ्यो। दर्शकदीर्घामा थिए साहित्यकार सरुभक्त, रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, सरस्वती श्रेष्ठ ‘सरू’, सरस्वती प्रतीक्षा, डा. ईश्वरमणि अधिकारी, डा. लक्ष्मीशरण अधिकारी लगायत थुप्रै पोखरेली साहित्यकार एवम् साहित्यानुरागीहरू।

उनले मानवीय संवेदना, राजनीति कवि कृति, सामाजिक विकृति एवम् राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सन्दर्भका समेटिएका कविता सुनाए। उनले वैदेशिक रोजगारीको बाध्यता यसरी सुनाए:

डोरीले बाँधेको

३० केजीको सुटकेसभन्दा गह्रुङ्गो मुटु बोकेर

छाड्नुपर्छ यो देश

लाखौँ युवाहरूले।

कविहरू जीवनलाई अनेक भावसँग साट्छन् र जीवनको परिभाषा पनि आफैं बनाउँछन्। कावि अकिञ्चनले पनि जीवनसँग सम्बन्धित यस्तै भाव कवितामै सुनाए:

ब्ल्याकबोर्डमा बुढो टिचरको

काँप्ने हातले लेखेका

अल्जेब्राका फर्मुला सम्झेझैं गरी

पाइलापाइला गनेर

रोकिँदै हिँड्नु, हिँडेर रोकिनु

यही हो सायद जीवनको कडी।

कल्पनामा उडान भरेर कविता कोर्ने र जीवनसँग जोडेर कविता कोर्नेका बिचमा फरक छ भन्दै यी सरकारी कर्मचारी कवि आफ्नो कविताकर्म यसरी सुनाए: 

म दुई थोपा मसी खर्चेर

गाउँका दूरदराजसम्म

पुर्‍याएर पानीका धारा

तिर्खाएका ओठहरूमा

सन्तुष्टिका टिप्पणी सदर गरिरहेछु।

यी र यस्तै विभिन्न भावका दर्जन बढी कविता वाचन गरिसकेसँगै साहित्यकार सरूभक्तले सम्पूर्ण पोखरेलीका तर्फबाट उनको साहित्यिक जीवनको शुभकामना प्रकट गरे।

कवि उमेश अकिञ्चन सरल, शिष्ट र शालीन रहेको र उनको कविता पनि त्यस्तै सरल र शालीन भैकन पनि स्वभाविक रूपमा बिम्बहरूको प्रयोग गरिएको बताउँदै एक राष्ट्रसेवक कर्मचारीका हातले यति सुन्दर कविता लेख्नु आफैंमा सुन्दर संयोग भएको भन्दै उनले कविको प्रशंसा गरे।

नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष दीपक समीपको अध्यक्षतामा भएकाे कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मण थापाले स्वागत मन्तव्यका साथ कविकाे परिचय प्रस्तुत गरेका थिए। 

प्रकाशित: ५ माघ २०८२ ११:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App