९ चैत्र २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

राष्ट्रव्यापी कविता प्रतियोगितामा कवि लुइटेल प्रथम

विश्व कविता दिवसका अवसरमा राष्ट्रव्यापी कविता महोत्सव सम्पन्न भएकाे छ।

साहित्य सदन नेपाल काठमाडौंले आयाेजना गरेकाे राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रतियोगितामा पाँचथरकी देवु लुइटेलको ‘मातृभूमि अर्चना’ कविता प्रथम घोषित भएको छ। उनले नगद ३० हजार रुपैयाँ र सम्मानपत्र प्राप्त गरिन्।

गत फागुनमा आह्वान गरिएको कविता प्रतियोगितामा सहभागीमध्ये उत्कृष्ट पाँच कविलाई कार्यक्रममा आमन्त्रित गरी उनीहरूबाट कविता वाचन गराइएको थियो। सोही वाचनका आधारमा निर्णायकहरूले विजेताहरू घोषणा गरेका हुन्।

यसैगरी मोरङकी शारदा भट्टराईको ‘झुक्दैन नेपाल यो’ कविता दोस्रो स्थानमा रहँदै नगद २० हजारसहित पुरस्कृत भएकी छन्।

त्यसैगरी सिन्धुपाल्चोकका सुन्दर शिरीषको ‘सभ्यताको शोकधुन’, दैलेखकी गरिमा पाण्डेयको ‘यहाँ जन्माउनु छ नयाँ बुद्ध’ तथा चितवनकी शोभा अधिकारीको ‘आदिम हस्ताक्षर’ कविताहरू तृतीय घोषित भएका छन्। तृतीय हुने प्रत्येक कविले जनही नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

विजेता कविहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्राडा वाशुदेव त्रिपाठी र विशिष्ट अतिथि गंगाप्रसाद उप्रेतीले पुरस्कार राशि तथा सम्मानपत्र प्रदान गरेका थिए।

कविता प्रतियोगितामा देशभरबाट १७१ कविले सहभागिता जनाएका थिए। प्रारम्भिक चरणबाट उत्कृष्ट पाँच जनालाई छनोट गरी दोस्रो चरणमा प्रत्यक्ष वाचनपछि अन्तिम निर्णय गरिएको आयोजकले जनाएको छ। उक्त कविता प्रतियोगिताको निर्णायक मण्डलमा खेमराज निरौला र डा. ज्ञानु अधिकारी थिए।

कार्यक्रममा देशका करिब सुप्रसिद्ध ३० कविले समेत कविता वाचन गरेका थिए। साहित्य सदन नेपालका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष प्राडा हेमनाथ पौडेलको अध्यक्षतमा सम्पन्न उक्त महोत्सवले नेपाली साहित्यिक वातावरणलाई थप उत्साहपूर्ण बनाएको छ।

विश्व कविता दिवस प्रत्येक वर्ष मार्च २१ तारिखका दिन विश्वभर मनाइन्छ। युनेस्कोले सन् १९९९ मा यस दिवसको घोषणा गरेपछि विश्वव्यापी रूपमा यसको औपचारिक सुरुवात भएको हो।

प्रकाशित: ८ चैत्र २०८२ १२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App