छन्द तरंग अभियानको सातौं वार्षिकोत्वसका अवसरमा वरिष्ठ कवि डा. नवराज लम्साल र युवाकवि पुरुषोत्तम आचार्यलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ।
छन्दसाधना पुरस्कार यस वर्ष दुई छन्दसाधक कविहरू डा. नवराज लम्साल (जीवनसँगिनी सङ्गीता लम्सालसहित) र पुरुषोत्तम आचार्यलाई प्रदान गरेको छ।
कविद्वय प्राडा रामप्रसाद ज्ञवाली र प्राडा देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्द-तरङ्गले २०७६ देखि बर्सेनि विशिष्ट छन्दसाधना पुरस्कार प्रदान गर्दै आएको छ। त्यस्तै
२०७९ सालदेखि छन्दसाधना युवा प्रतिभा पुरस्कार समेत थपी एकजना वरिष्ठ कवि र एकजना युवाकविलाई पुरस्कृत गर्ने गरेको छ।
काठमाडौंमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि वरिष्ठ कवि तथा भाषाविद् मुकुन्दशरण उपाध्याय, विशिष्ट अतिथि पूर्वमन्त्री तथा साहित्यकार शान्ता मानवी र छन्दगुरु कोषराज न्यौपानेले डा. लम्साल र आचार्य दुई पुस्ताका कविलाई उक्त पुरस्कार प्रदान गरेका हुन्।
कार्यक्रममा प्रमुख अतिथि उपाध्यायले छन्दसाधकद्वय डा. लम्साल र आचार्यले नेपाली छन्दकविताको उन्नयनमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरी पुरस्कार प्रदान गरिएकामा खुसी व्यक्त गर्दै अहिले हरेक नेपाली नागरिकले नेपाली भाषाप्रति चिन्तित भएर आफ्नो कर्तव्य निर्वाहमा लाग्नुपर्ने विचार व्यक्त गरे।

प्राडा रामप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा छन्द–तरङ्गका संस्थापक तथा संयोजकमध्येका एक प्राडा देवी नेपालले डा. ज्ञवाली र आफ्नो सिर्जनात्मक सहयात्राले दुई दशक पूरा गरेको अवसरमा सुरु भएको छन्द–तरङ्गले २०७५ सालदेखि टिकटमा छन्दकविता वाचन र श्रवणको शृङ्खला सुरु गरेको र अनवरत रूपमा १९ शृङ्खलासम्म चलेर कोभिड–१९ का कारण स्थगित भएको तर छन्दसाधना पुरस्कारलाई भने निरन्तरता दिइएको बताए।
उनले संयोजकद्वय (ज्ञवाली र नेपाल) का साथै नेपालबाट डा. कृष्ण सुवेदी (भारद्वाज मित्र), सीता भट्टराई, नेत्रकला ज्ञवाली, रमेश खकुरेल, मिना ज्ञवाली, नारायण मरासिनी, प्राडा हेमनाथ पौडेल, निबन्ध आचार्य तथा नेपालबाहिरबाट भोला शिवाकोटी (अमेरिका), प्रा. मोहन सिटौला (अमेरिका), खेम रिजाल (अमेरिका), हरि काफ्ले ‘शैव’ (अमेरिका), प्रभा पोखरेल (अमेरिका), सुदीपभद्र खनाल (अमेरिका), निशा अर्याल (इजरायल) र रमेश गौतम (नर्वे) जस्ता दाताहरूबाट प्राप्त रकमबाट दश लाखको अक्षयकोष स्थापना गरेको र त्यसैको ब्याजबाट हरेक वर्ष विशिष्ट एक छन्दसाधकलाई ४० हजार रुपैयाँ नगदसहितको ‘विशिष्ट छन्दसाधना पुरस्कार’ र एक युवा छन्दसाधकलाई २० हजार नगदसहितको ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’ प्रदान गर्दै आएको बताए।
साथै उनले प्रविधिका माध्यमबाट ‘जीवनी, व्यक्तित्व र कृतित्वका आलोकमा डा. नवराज लम्साल’ विषयक लामो व्यक्तिवृत्त प्रस्तुत गरी छन्द–तरङ्गले पुरस्कृत स्रष्टालाई दोसल्ला र ढाकाटोपी लगाइदिएर नेपाली थैलीमा नगद अर्पण गर्ने गरेको र सर्जकहरूलाई प्रदान गर्ने सम्मानपत्र पनि कवितामा नै लेखिने परम्पराको स्मरण गराउँदै स्रष्टा डा. लम्साललाई प्रदान गर्ने कवितात्मक सम्मानपत्र वाचन गरेका थिए।
कार्यक्रममा २०८१ मा छन्दसाधना युवा प्रतिभा पुरस्कार पाउने रूपक अलङ्कारले यस वर्ष सोही पुरस्कार पाउने हेटौँडाका प्रखर युवाकवि पुरुषोत्तम आचार्यको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै उनलाई प्रदान गरिने सम्मानपत्र वाचन गरेका थिए।

सोही सन्दर्भमा ‘विशिष्ट छन्दसाधना पुरस्कार’ बाट पुरस्कृत वरिष्ठ कवि डा. नवराज लम्सालले यस पुरस्कारले आफ्नो छन्दसाधनालाई सम्मान गरेर थप जिम्मेवारी प्रदान गरेको विचार व्यक्त गरी एउटा अत्यन्त मार्मिक कविता वाचन गरेका थिए।
‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’बाट पुरस्कृत युवाकवि पुरुषोत्तम आचार्यले आफूले आजसम्म उठाउँदै आएको निम्न वर्गको आवाजले सम्मान पाएको र त्यसलाई अझै निरन्तरता दिन आफूमा गहन जिम्मेवारी थपिएको हुनाले विचार प्रधान छन्दकविताको उन्नयनका लागि सधैं समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा सभाध्यक्षको मन्तव्य राख्दै डा. रामप्रसाद ज्ञवालीले छन्द–तरङ्ग छन्दकविताको स्तरीकरण र मानकीकरणका लागि थालिएको अभियान मात्र नभएर स्रष्टा र सिर्जनामा हुनुपर्ने अनुशासन, संस्कार, सङ्कल्प, समर्पण, साधना र युगीन दायित्वबोधका लागि सुरु गरिएको सार्थक अभियान रहेको विचार व्यक्त गरेका थिए।
छन्द–तरङ्ग पुरस्कार अक्षयकोषकी संस्थापकमध्येकी एक सीता भट्टराईको स्वागत मन्तव्य, कवि दिनेश पाण्डेको छन्द–तरङ्ग गायन र युवास्रष्टा सरोज घिमिरेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा दुई सयभन्दा बढी विशिष्ट साहित्यकारहरूको उपस्थिति रहेको थियो।
२०७६ सालबाट प्रदान गर्न थालिएको ‘विशिष्ट छन्दसाधना पुरस्कार’ बाट यसभन्दा अगाडि वरिष्ठ कविहरू रमेश खकुरेल (२०७६), चन्द्रप्रसाद न्यौपाने (२०७७), प्रा. घनश्याम कँडेल (२०७८), रामचन्द्र भट्टराई (२०७९), भुवनहरि सिग्देल (२०८०) र गोविन्दराज विनोदी (२०८१) पुरस्कृत भएका छन्।
त्यस्तै २०७९ सालबाट प्रदान गर्न थालिएको ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’ बाट युवाकविहरू सुदेश सत्याल (२०७९), कविराज पौडेल (२०८०) र रूपक अलङ्कार (२०८१) पुरस्कृत भइसकेका छन्।
प्रकाशित: २३ कार्तिक २०८२ ०९:१२ आइतबार





