३१ असार २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

कवि चौलागाईको ‘देश बाँचे म बाँच्दछु’ लोकार्पण

सुनकोशी वाङ्मय प्रतिष्ठानले कवि हरिप्रसाद चौलागाईंको कवितासङ्ग्रह ‘देश बाँचे म बाँच्दछु’ को लोकार्पण गरेको छ।

साहित्यकार रामसुन्दर देउजाको अध्यक्षता तथा प्राडा रामप्रसाद ज्ञवालीकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा प्राडा रामप्रसाद ज्ञवाली, प्राडा लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, ठाकुर शर्मा भण्डारी, कवि चौलागाई र रामसुन्दर देउजा लगायतले लोकार्पण गरे।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राडा ज्ञवालीले भने, ‘कविताको मुख्य कुरा भनेकै भावना हो। विचार, संकल्प र साधनाले यसमा महत्त्व राख्दछ।

उनले अगाडि भने, कविताको पहिलो शर्त लयको माधुर्य, दोस्रो शब्दको सौन्दर्य, भाव सौन्दर्य संप्रेषणीयता हुनुपर्छ तब कविता सुन्दर हुन्छ।’ प्राडा ज्ञवालीले भने, ‘कविसँग तेस्रो आँखा हुन्छ।‘ उनले चौलागाईलाई निरन्तर साधनामा लाग्न शुभकामना दिए।

प्राडा गौतमले जस्तो व्यक्तित्व त्यस्तै सिर्जना भन्दै आफू कविताकर्ममाथि कर्म गर्ने मान्छे भएको बताए। ‘सर्सती कृति हेर्दा चौलागाईका कवितामा नेपाली कविता क्षेत्रमा कम प्रचलित छन्दहरू पनि प्रयोग गरिएको पाएँ। उनले भने, कविताहरू सरलतामा पनि गहिरो भाव दिने रहेछन्।’ उनले  भने।

कृति चर्चा गर्दै समालोचक भण्डारीले भने, ‘कविता सिर्जना गर्दा सबै विषयमा ध्यान गएको देखिन्छ। संवेदनशील भएर भावनालाई ह्रदयस्पर्शी हुने गरी कविता लेखिएका छन्।

उनले भने,  समाजको संगत विसङ्गत कविताहरूले देखाएका छन्। सकारात्मक सोचले भरिएका छन् कविताहरू। पदयोग र वियोगमा केही ध्यान नपुगेको देखिएजस्तो लागे पनि छन्दमा भने दोष कम छ।’

अर्का वक्ता रोदनले भने, ‘लेखनीलाई उमेरले छेक्दैन् भन्ने कुरा कविको कृति प्रकाशनले प्रष्ट पारेको छ। सरल र शालीन भावका कविका कविता उनी जस्तै छन्।’

कवि चौलागाईले सबैलाई धन्यवाद दिए। कार्यक्रममा प्रदीप सापकोटा, पूर्णबहादुर श्रेष्ठ लगायतले आफ्नो मन्तव्य राखे।

डा. सिता सुवेदी, रुपा रिसाल र दीपक चौलागाईले कृतिका कविता वाचन गरेका थिए।

प्रकाशित: २९ असार २०८३ १२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App