६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

‘इन्दिरा धिमे मैंचा’ को प्रदर्शन सुरु

‘इन्दिरा धिमे मैंचा’ नामक चलचित्रको प्रदर्शनी शनिबारदेखि राजधानीका हलहरुबाट सुरु भएको छ । वायोपिक नेवाः चलचित्र पहिलो पटक शनिबार विश्वज्योति र कीर्तिपुरको सिनेप्लेक्समा प्रदर्शन सुरु भएको हो ।  

यो चलचित्र नेवाः समुदायकी इन्दिरा लाछिम्स्युंको जीवनमा आधारित छ । इन्दिरा व्यक्तिको नाम हो भने धिमे बाजाको नाम । साथै नेपाल भाषाको मैचाको अर्थ नानी अर्थात् छोरी हो ।

ख्वप (भक्तपुर) तचपालमा जन्मेकी इन्दिराले सन १९९४ (वि.सं. २०५१) तिर समाजमा महिलाले बाजा बजाउन नहुने भन्ने परम्पराको विरोध गर्दै धिमे बजाउन थालेकी थिइन् । यही जीवन कथा चलचित्रमा रहेको छ । ११ वर्षकै उमेरमा सुरु भएको उनको संघर्ष अहिले पनि प्रेरणादायी छ ।

नौबाजा र धिमे बाजाको संरक्षण, प्रवद्र्धन र पहिचानको लागि उनी अग्रसर रहिन् । ‘इन्दिरा धिमे मैंचा’ बायोपिकले उनको जीवनको यही संघर्षलाई प्रस्तुत गरेको छ ।

No description available.

टिजरको सुरुवातमा ३० वर्षअघिको परिवेश देखाइएको छ । नेवार समुदायमा महिलाले बाजा बजाउन नहुने परम्परा प्रचलित थियो ।

‘छोरीहरूले नाच्ने मात्र, बाजा नबजाउने’ भन्ने सोचले समाजमा गहिरो जर रोपेको थियो । तर इन्दिरा जस्ता युवतीहरूले त्यही परम्पराविरुद्ध आवाज उठाए ।

टिजरमा एक दृश्यमा देखिन्छ— जब उनी बाजा बजाउन लाग्छिन्, समाजले विरोध गर्छ । तर अन्ततः उनको संघर्षले नयाँ बाटो खोल्छ ।

चलचित्रका निर्देशक सुरेन्द्र तुलाधर, संगीतकार निल शाक्य, संगीत संयोजन फिरोज बज्राचार्य, कोरियोग्राफर रोहिया महर्जन र छायांकन मुकेश हुमागाईं हुन् ।

No description available.

मुख्य भूमिकामा रोजीना सुवाल (इन्दिरा लाछिम्स्युंको रूपमा) र सिम्रिक श्रेष्ठ (युवा इन्दिरा) छन् । इन्दिराको बुबाको भूमिकामा रामराजा भाम र बाजा गुरुका रूपमा देवचन्द्र बज्राचार्य देखिएका छन् ।

अन्य कलाकारहरूमा रूपेन्द्र श्रेष्ठ, नगिना जोशी, लक्ष्मीकुमार महर्जन, मदनकृष्ण श्रेष्ठ आदि रहेका छन् ।

निर्माण संस्था बिके फिल्म हो । मुख्य निर्माता गोपालकृष्ण महर्जन, सह–निर्मातामा सुरेन्द्र शाक्य, गोपालकाजी कायस्थ, र गोविन्द महर्जन छन् ।

यो चलचित्र समाजमा महिलाको भूमिका, साहस र परिवर्तनको प्रतीकका रूपमा अर्थपूर्ण बन्न सक्छ ।

साथै कार्तिक २२ गते काठमाडौंको सिटिसी मलमा दिउँसो १:३० बजे र बनेपाको बामेलमा पनि शो हुने भएको इन्दिरा लाछिमस्यूले जनाइन् । यसलाई देशमा मात्रै नभई विदेशका विभिन्न देशहरुमा पनि प्रदर्शन हुने निश्चित भएको उनले सुनाइन् । साथै संयुक्त राज्य अमेरिकामा पनि प्रदर्शन भइसकेको उनले जनाइन् ।

प्रकाशित: १५ कार्तिक २०८२ २०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App