अभिनेत्री नीता ढुंगानाको लेखन तथा निर्देशनमा रहेको चलचित्र ‘पार्वती’ को पहिलो दिनको कमाइ सोमबार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ।
‘पार्वती’ निर्माण टिमले प्रर्दशनको अघिलो दिननै यसको पहिलो दिनको सम्पूर्ण कमाई बाढी पीडितलाई हस्तान्तरण गर्ने घोषणा गरे अनुसार आफ्नो वाचा पुरा गरेका छन्। ‘पार्वती’ ले प्रर्दशनको पहिलो दिन २५ लाखको ग्रस कलेक्सन गरेको थियो, जसबाट निर्माताको हिस्सेदारीमा आएको कुल ११,०३,२७० रुपैयाँ आज निर्माण टिमले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत ुप्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका छन्।
सिनेमाघरसम्म आइदिएका दर्शकहरुप्रति आभार व्यक्त गर्दै निर्माण टिमले दर्शकलाई ह्दयदेखि धन्यवाद दिएका छन्। सथै निर्माण टिमले बाढी पीडितका लागि अर्को घोषणा समेत गरेका छन्। निर्माण टिमको अनुसार
‘पार्वती’ ले देश तथा विदेशको सम्पूर्ण प्रदर्शन अवधिभर गर्ने कुल ग्रस आम्दानीबाट थप ५ प्रतिशत रकम बाढीपीडितको राहतका लागि सहयोग गर्ने घोषणा गर्दछौँ।’
निर्माण टिमले ‘पार्वती’ लाई एउटा चलचित्र मात्र होइन, यो हाम्रै समाजको भोगाइ, अनवरत संघर्ष, हिम्मत र आशाको जीवन्त कथाको रुपमा व्याख्या गरेका छन्। ‘पार्वती’ लाई हरिहर अधिकारीले निर्माण गरेका हुन, भने नीता ढुंगाना र अशोक दर्जीको मुख्य भूमिका रहेको छ।
प्रकाशित: १५ भाद्र २०८३ १५:१५ सोमबार





