२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

‘परान’ ले मनायाे ५१ औं दिन, आश्रमवासीलाई बाँड्याे न्यानो कपडा

बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र  ‘परान’ ले देशभरका ३० बढी हलमा आफ्नो प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ।

यो अवसरमा परान टिमले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा न्यानो कपडा वितरण गरेकाे छ।

चलचित्रका निर्माता रन्जित आचार्यका अनुसार आश्रममा आश्रित ६५ अनाथ तथा वृद्धवृद्धाका लागि न्यानो कपडा वितरण गरेकाे छ। साथै निर्माता आचार्यले आउँदाे साता अर्को एक विशेष कार्यक्रमको आयोजना गरिने र उक्त कार्यक्रममा केही विशेष घोषण पनि गरिने बताएका छन्।

पवित्र समाजसेवा नेपाल आश्रमकी सन्चालिका दिक्षा चापागाईंले परान टिमलाई धन्यवाद दिइन्। उनले केही साताअघि आफ्ना आश्रममा आश्रित बालबालिकाहरूलाई परान चलचित्र देखाएकी थिइन्।

चापागाईंले छोराछोरी र आमाबुबाप्रतिको प्रेमलाई चलचित्रले निकै मिठो ढंगबाट प्रस्तुत गरेकाले पनि उनले परान फिल्म देखाएकी बताएकी थिइन्। चलचित्रका निर्देशक दिपकप्रसाद आचार्य ५१ दिनसम्म पनि परानलाई दर्शकले दिएको माया देख्दा दंग छन्। उनले यो मायाले आफूलाई थप जिम्मेवारी बनाएको बताएका थिए।

परानमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविण खतिवडा, बुद्धि तामाङ लगायतको अभिनय छ।

कुनकुन हलमा छ परान?

परान अझै देशका ३० हाराहारी हलमा प्रदर्शन भइरहेको छ। शनिबार ३० बढी शो दिइएको परानले आइतबार केही कम हल पाएको छ। यद्यपि कतिपय हलमा अहिले पनि हाउसफुलका साथ परान प्रदर्शन भइरहेको छ।

शनिबार ललितपुरको लबिम मलको सिनेमा हल हाउसफुल रह्यो। साथै पश्चिमका केही हलमा पनि दर्शकको राम्रो उपस्थिति थियो। उपत्यकाका भक्तपुर, चाबहिल, गोंगबु, नयाँबसपार्क, नयाँ बानेश्वरका सिनेमा हलमा दर्शकको संख्या राम्रो छ। यस्तै मोफसलमा नेपालगन्ज, दाङ, बुटवल, चितवन, इटहरी जस्ता शहरमा पनि दर्शकको संख्या राम्रो देखिन्छ।

१८ करोड रुपैंया ग्रस कलेक्सन

चलचित्रका निर्माता रन्जित आचार्यले परानले ५१ दिन पूरा गर्दा १८ करोड रुपैंया ग्रस कलेक्सन गरेको जानकारी दिएका छन्। योसँगै परानले नेपाली चलचित्रको व्यवसायिक इतिहासमा सर्वाधिक कमाइ गर्ने चौंथो फिल्म समेत बनेको छ। 

प्रकाशित: ६ पुस २०८२ १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App