२९ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

एउटै झण्डा

लघुकथा

‘हामी कसका सन्तान हौं?’प्रेमले एउटा सभामा उठेर साेध्याे।

चौरमा बसेका सबै हक्कबक्क भए र प्रेमतिर ट्वाल परेर हेरिरहे। ऊ एउटा नौजवान थियो।

‘मैले यो कार्यक्रममा उपस्थित भएका सबैको माझमा राखेको प्रश्नको उत्तर छ कसैसँग?’ प्रेमले काेही नबोलेपछि उही प्रश्न थप्यो।

आज एकता दिवसको सन्दर्भमा गाउँपालिकाले एउटा कार्यक्रमको आयोजना गरेको थियो। त्यसमा विभिन्न पार्टीका सयौँको उपस्थिति थियो।

‘प्रेम सर, हजुरले नै भनिदिनुस् पहिले हजुरबाटै सुरू हाेस् यो प्रश्नको उत्तर पनि।’ त्यहाँ बसेकामध्ये एकजनाले भन्यो।

‘हामी आज एकता दिवस मनाउँदै छौं। राष्ट्रिय पिता भनेर पृथ्वीनारायण शाहलाई भन्छौं। यो देशलाई बाइसेचौबीसेहरूको हातबाट मुक्त गरेर उनैले एउटा अखण्ड देश नेपाल बनाएका थिए। त्यो हिसाबले हामी सबै पृथ्वीनारायणका सन्तती हौं।’ प्रेमले आफ्नो कुरामा पृथ्वीनारायणको प्रशंसा गर्दै भन्यो।

‘हो त्यो त सबै नेपालीलाई थाहा छ! फेरि के नयाँ कुरा भयो त?’ सभाकै बिचबाट अर्को जनाले थप प्रश्न राख्यो।

‘नयाँ कुरा यो भएको छ अहिलेको तरल राष्ट्रिय परिस्थितिमा पनि हामी सन्तानले राष्ट्रिय पिताको मर्म बुझ्न सकेका छैनौं। आआफ्नो पार्टीको नाउँमा देश खण्डित गर्न थालेका छौँ।’ प्रेमले असली कुरा बतायो।

‘प्रेम भाइले ठिक भनेका छन्। आजैको दिनबाट आआफ्नो पार्टीको भन्दा पहिले हाम्रो हातमा राष्ट्रको झण्डा हुने छ। देश अखण्ड रहे मात्र हामी सुरक्षित रहन सक्छौं।’

विश्वले उठेर देशको झण्डा उचाल्यो। त्यो देखेर पूरै सभा एकछिनमै सूर्यचन्द्र अंकित झण्डायम बन्यो।

प्रकाशित: २८ पुस २०८२ ०८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App