६ वैशाख २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

हे करुणामय!

सुक्न बाँकि केहि नभएको ज्यानमा पनि

दुःख नसुक्ने रहेनछ, आँसु नलुक्ने रहेनछ,

र त मेरी हजुरआमाआँखाबाट बग्दो भेल थाम्दै,

टुक्क्रुक सुकुल माथि बसि‍एकोहोरो टोलाउँदै छिन्

हरसालयहि दिन झैउही थोत्रो श्यामश्वेत टी.भी.अगाडि ।

दौरासुरुवाल र कालो कोट फर्फराउदैएक टोपीवाल मान्छे

करूणामय! तिम्रै रथको भूमिबाल्कोनी बाट  

कालो मैलोधैलो थोत्रो भोटो भिडतिर हल्लाईरहेछ,

भिड चरम उत्साहपूर्ण उत्सुक्ताले शान्त छ  

मानौ नाटकको क्लाईमेक्स आउँनै लाग्यो!

तर घरमा हजुरआमा अशान्त छिन्

अमुकआदिम ईतिहासको कथामा डुबेर।

कथा मैले मेरी हजुरआमाबाट सुनेँ

मेरो बाबुले मेरो जिजुहजुरबा बाट  

थाहा छैन म मेरो नातिनातिनीलाई सुनाउँछु सुनाउँदिन,

थाहै छ ईतिहास जित्नेको घोडा हो,

जहाँ हार्नेको आसुँको मोल तिल बराबर नि हुन्न।

हजुरआमा बर्बराउँदै छिन्

जस्मा असंख्य आक्रोश छ

अलिअलि शोक छ

भन्छिन “त्यो हावामा हल्लाईएको भोटो मेरो पुर्खाको रे!”

कुनै नागरानीको सफल उपचार बापतको शिरपा ईनाम

खेतको आलीबाटै भोटो चोरिनु,  

करूणामय !तिम्रै जात्रामा ईतिहासको कुनै बर्ष  

भोटो सहित चोर भेटिनु

केहिबेरको घम्साघम्सी पछि चोर

पक्रिएर  भोटो सहित  राजाकहाँ पुग्नु

वादविवाद  पछि प्रमाण खोजिनु,

कस्लाई थाहा नहोला यो कथा उपत्यकामा!

तर देखी जान्ने प्रमाण कहाँ पाउनु?

न भोटो दिने नागराज  थिए,

न खेतका आली बोल्छन्

मेरो पुर्खाले दुहाई मागेछन,  

महाराज! भोटोमा टाँसिएको मेरो पसिना सुँघ्नुस्

आलीको माटोको दाग हेर्नुस,

मेरो इमान्दारिता जोख्नुस,

भूतको बद्ख्वाई बुझ्नुस्, 

तर हरयुगको राजा झै राजा

केबल मुस्कुराईरहे,

र सुनाए एक कुटिल निर्णयः

जबसम्म कसैले प्रमाण दिन्न, भोटो यतैकतै रहन्छ!

नाजवाफ मेरो पुर्खा सुक्सुकाउदै घर फर्के

चुक्चुकाउदै धिक्कार्दै आफैलाई,

अनि शुरु भयो हरसाल मेरो पुर्खाको सोझोपन माथिको व्यङ्ग्य

हजारौंको भिडबिच ललकार्छन् -‘कोहिसँग छ भोटो मेरो भन्ने प्रमाण?’ 

मेरो पुर्खा यहि पिरले बितेरे

कयौं पुस्ता यसैमा घोत्लिएर बौलाए रे

खोज्दै छु म,तर मसंग पनि अझै छैन प्रमाण ,

जसरी हुन्न अन्यायकोआकार

जसरी देखिन्न ईमानको खास रङ्ग

जसरी छुट्टिन्नबेईमानीको सिमा ।

हे करुणामय ! हे बर्षा देव  

कस्ले नाप्ला मेरीहजुरमाको बर्षाश्रुको मोल  

कस्ले निभाउला ह्रदयको आगो

बस् रोकि देऊ उनको आँखाको भेल

करूणामय! केबल रोकिदेऊ यो जात्रा!

-योगेशमान श्रेष्ठ/चित्लाङ्ग,मकवानपुर

प्रकाशित: ५ वैशाख २०८३ १७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App