१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
समाज

निर्माण कम्पनीको लापरवाहीले चार सय इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

योजनाका प्रमुख इन्जिनियर भन्छन्– ठेक्केदारले ग्रुपमा म्यासेज गरेको छ

कमला–कञ्चनपुर सडक योजनाको ठेक्केदार कम्पनी ‘चाइना रेलवे नं. २ इञ्जिनियरिङ ग्रुप’को लापरवाहीका कारण लहानका करिब चार सय नेपाल टेलिकमका ग्राहकको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

लहानस्थित हुलाक कार्यालय नजिक जमिनमुनि बिछ्याइएको टेलिकमको तार सडक निर्माणका क्रममा काटिँदा सेवा अवरुद्ध भएको हो ।

नेपाल टेलिकम शाखा लहानका प्राविधिक जितेन्द्र यादवका अनुसार कम्पनीले सडकको छेउ खन्ने क्रममा जमिनमुनि बिछ्याइएको तारको जाल नै काटेको हो ।

उनले भने, “हामीलाई कुनै जानकारी नै नदिई खन्ने काम गरियो । जानकारी दिएको भए सावधानी अपनाउन सकिन्थ्यो । आफूखुसी खन्दा करिब चार सय सेवाग्राहीको टेलिफोन र इन्टरनेट सेवा बन्द भएको छ ।”

नेपाल टेलिकम शाखा लहानका प्रमुख उग्रकान्त झासँग सम्पर्क गर्दा उनको आधिकारिक नम्बर ९८५२८६३४४४ बन्द रहेको थियो ।

कमला–कञ्चनपुर सडक योजनाका प्रमुख इन्जिनियर उज्ज्वल श्रेष्ठका अनुसार ठेक्केदार कम्पनीले शनिबार बिहान ८ बजेर १० मिनेटमा ग्रुप म्यासेजमार्फत सडकको छेउ खन्नेबारे जानकारी गराएको थियो ।

उनले भने, “ग्रुपमा दिइएको जानकारीको प्रतिक्रिया नआएपछि काम रोक्ने कुरा हुँदैन । यसमा ठेक्केदार कम्पनीभन्दा टेलिकमकै गैरजिम्मेवारी कारक हो ।”

बिदाको दिन म्यासेज गरेर प्रतिक्रिया नआएको भन्दै टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुने गरी तार काट्न मिल्छ त भन्ने प्रश्नमा श्रेष्ठले भने, “यसमा बिदाको बहाना गरेर प्रतिक्रिया नदिन मिल्दैन । जानकारी गराएरै खन्ने काम भएको हो । यसबाट भएको सेवा अवरुद्धको जिम्मेवारी टेलिकमले नै लिनुपर्छ ।”

प्रकाशित: ५ वैशाख २०८३ १७:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App