बखान’ उपन्यासले पश्चिम चितवनको बस्ती बसाल्दादेखि तत्कालीन सामाजिक अर्थ व्यवस्थाको उत्थानका पहल, प्रजातन्त्रका लागि तन, मन र धन तथा सन्तानको समेत आहुति दिने गुमनाम योद्धालाई चर्चामा ल्याएको बताइएको छ।
शिखा बुक्सद्वारा लेखक/पत्रकार वसन्त पराजुलीको बखानमाथिको ‘बखान’ उपन्यास ‘बखान’ का सन्दर्भमा आइतबार आयोजित अन्तरसंवाद कार्यक्रममा सहभागी समीक्षक तथा साहित्यकारले उक्त कुरा बताएका हुन्।
सो अवसरमा समीक्षक गुरुङ सुशान्तले लेखक पराजुलीले लेखेको ‘बखान’ उपन्यासले चितवनको विकासमा योगदान पुर्याएका बखानसिंह गुरुङले त्यसबेलाको शासन पद्धतिविरुद्ध लाग्दा भोग्नुपरेको पारिवारिक विखण्डनसहित चितवनका थारू, गुरुङ लगायतका जनजातिको धरातलको स्मरण गराएको बताए। उनले तत्कालीन समयको इतिहासलाई उपन्यासका रूपमा पाठकमाझ ल्याएर इतिहासमा गुमनाम हुन बाध्य बखानसिंह लगायत अन्य योद्धाबारे बताउन सफल भएको बताए।
चितवन बखानपुरमै जन्मिएको र बखानसिंह गुरुङकी नातिनी पुस्ताको सहपाठीसमेत रहेकी शिला बस्नेतले भनिन्, “प्रजातन्त्रका लागि आफ्ना छोरासमेत सहिद हुँदा पनि डटेर लाग्ने योद्धाको सर्वस्वहरण गरी घरमा आगो लगाएर उहाँको नाममा राखिएको बखानपुरकै नामसमेत हालको शारदानगर बनाएको कुरा आमाहरूको मुखबाट कथा जसरी सुन्दै हुर्किएँ, पत्रकार पराजुलीले त्यो इतिहासलाई उपन्यासका रूपमा नयाँ पुस्ताका सामुन्ने प्रकाशन गर्दा साहै्र हर्ष लागेको छ।”
उनले बखानसिंह गुरुङ नेपालको पहिलो सहकारीका प्रवर्धक भएको जानकारी पनि दिए।
राजकुमार बानियाँले बखानलाई केन्द्रमा राखेर चितवनका सीमान्तकृत वर्गको समेत सम्बोधन गर्न भ्याएको यस कीर्तिले प्रजातन्त्र मुक्ति सेनाको इतिहास, बिपी कोइराला र बखानबिचको आत्मीयलाई लेखकले उपन्यासका रूपमा ल्याएको बताए।
त्यस्तै साहित्यकार कुन्ता शर्माले बखानले इतिहासमा नेपालको परिवर्तनका लागि योगदान दिएका विभिन्न पात्रको इतिहास लेखिएको बताइन्।
प्राडा लक्ष्मण गौतमले आफ्ना असल विद्यार्थीमध्येका वसन्त पराजुलीले पत्रकारितादेखि लेखन यात्रामा समेत आफूलाई अगाडि सारेकोमा साह्रै खुसी लागेको बताउँदै ‘बखान’ उपन्यास एक स्थलगत अध्ययनसहित तयार भएको कृति भएको बताए।
सर्जक पुरुषोत्तम दाहालले ‘बखान’ उपन्यास पढ्दा बखानसिंह गुरुङले आफ्ना दुई छोराको सहादतका समयमा अनुभव गरेको संवेग, मनोदशाबारे चर्चा गर्न छुटेको अनुभव भएको बताए।
लेखक वसन्त पराजुलीले समीक्षक र सहभागी सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै प्राप्त सुझावलाई अन्य कृतिमा अक्षरशः पालना गर्ने कोसिस गर्ने बताए। उनले बखानसिंह गुरुङको जीवनी नभई यस कृतिमा चितवनको बस्ती बसाल्दादेखिका सामाजिक, राजनीतिक परिवेशसहितको लुकेको इतिहासबारे लेख्ने कोसिस गरेको बताए। उनको यो तेस्रो कृति हो।
प्रकाशित: ४ जेष्ठ २०८३ ०८:०८ सोमबार





