नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का प्रि-इभेन्टका सम्पूर्ण कार्यक्रम भएका छन्।
गैरीधारास्थित कान्तिपुर थिएटरमा शुक्रबार साँझ ‘सर्ट फिल्म साँझ’ शीर्षकको कार्यक्रम सम्पन्न भएसँगै निफको प्रि–इभेन्ट चरण पूरा भएको हो।
यस कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र निफका अघिल्ला संस्करणमा पुरस्कृत सर्ट फिल्महरू ‘जुलुङ्गो’, ‘बेयर ट्री इन द मिस्ट’, ‘जुन्को’ र ‘चिसो घर’ देखाइएको थियो।
सर्ट फिल्म हेरेपछि दर्शकले उठाएका प्रश्नहरूको जवाफ सम्बन्धित मेकरहरूले दिएका थिए। यसअघि निफले प्रि–इभेन्टअन्तर्गत रहेर ‘हर सिनेमा हर भ्वाइस’ र ‘द न्यू वेभ इन नेपाली सिनेमा’ शीर्षकमा दुई अन्तर्क्रियात्मक कार्यक्रम गरेको थियो।
निफको तयारी अब अन्तिम चरणमा पुगेको अध्यक्ष केपी पाठकले बताए। उनले भने, ‘प्रि–इभेन्ट सफलतापूर्वक भयो। अब चैत १९ गतेबाट सुरु हुने महोत्सवका लागि तयार छौँ। लगभग सबै तयारी भइसक्यो। केही दिनमा निफको आधिकारिक सामाजिक सञ्जाल पेज र वेबसाइटमा निफमा हुने कार्यक्रमहरू सार्वजनिक हुनेछन्।’
यस संस्करणमा पाँच दिने एआई फिल्म वर्कसप पनि समावेश गरिएको अध्यक्ष पाठकले जानकारी दिए।
उनले वर्कसपबारे भने, ‘प्रि-प्रोडक्सन, प्रोडक्सन र पोस्ट-प्रोडक्सनमा एआईको प्रयोग कसरी गर्ने भन्ने विषय उजागर गर्न पाँच दिने वर्कसप हुन्छ। फिल्म निर्माणमा उच्चतम एआईको प्रयोग गर्न सकिने विषयमा यो वर्कसप केन्द्रित हुन्छ। एआईको भविष्यबारे पनि त्यहाँ छलफल हुन्छ।’
इच्छुक व्यक्तिहरूले चैत ११ (मार्च २५) सम्म आवेदन दिएर यस कार्यक्रममा सहभागी बन्न सक्नेछन्। त्यस्तै, निर्माताको खोजीमा रहेका लेखकहरूलाई मध्यनजर गरी निफले ‘निफ फिचर पिच’ शीर्षकको कार्यक्रम पनि समावेश गरेको छ। जहाँ सर्ट फिल्म बनाएको अनुभव भएका लेखकहरूले आफ्नो फिचर फिल्मको कथा निर्मातालाई सुनाउने अवसर पाउनेछन्।
अध्यक्ष पाठक यसबारे भन्छन्, ‘सर्ट फिल्म बनाएर वा त्यसमा अब्बल साबित भएका विशेष गरी युवा फिल्म मेकरहरू लाभान्वित होऊन् भन्ने उद्देश्यले यो कार्यक्रम समावेश गरिएको हो।’
आयोजकका अनुसार निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरकफरक विषयमा १० अन्तर्क्रियात्मक कार्यक्रम गरिनेछ। यी कार्यक्रमहरूबारे जानकारी निफको सामाजिक सञ्जाल र वेबसाइटबाट चाँडै सार्वजनिक हुने बताइएको छ।
प्रकाशित: ८ चैत्र २०८२ ११:४५ आइतबार





-600x400.jpg)