नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीभित्रकै अन्तर्घात प्रमुख कारण रहेको बताएको छ। सोही कारण कम्तीमा २१ निर्वाचन क्षेत्रमा पराजय व्यहोर्नुपरेको उसको निष्कर्ष छ।
जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत समीक्षा अनुसार सानो मतान्तरले हारिएका क्षेत्रहरूमा आन्तरिक विवाद र असहयोग मुख्य जिम्मेवार देखिएको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार ५ सयदेखि ३ हजारसम्मको मतान्तरमा भएको हारमा विशेषगरी अन्तर्घात निर्णायक बनेको छ।
त्यस्तै, ३ हजारदेखि ५ हजारसम्मको मतान्तरमा पराजित भएका क्षेत्रमा चुनावी अभियानमै कमजोरी र आन्तरिक मतभिन्नता दुवै कारक देखिएका छन्। अझ ५ हजारदेखि १० हजारसम्मको ठूलो अन्तरले हारिएका क्षेत्रमा भने अन्तर्घातसँगै कमजोर क्याम्पेन र प्रतिकूल राजनीतिक ‘न्यारेटिभ’ ले पार्टीलाई रक्षात्मक बनाएको विश्लेषण गरिएको छ।
समीक्षामा केही क्षेत्रमा संगठनात्मक कमजोरी मात्र नभई मतदाताको विश्वास घट्दै गएको संकेत समेत देखिएको उल्लेख गरिएको छ। ठूलो संख्यामा क्रियाशील सदस्य भए पनि अपेक्षित मत प्राप्त हुन नसक्नु पार्टीका लागि गम्भीर चिन्ताको विषय बनेको छ।
कांग्रेसमा हाल करिब ८ लाख ७० हजार क्रियाशील सदस्य रहे पनि निर्वाचनमा प्राप्त मत संख्या त्यसअनुसार नबढ्नुले पार्टीभित्र आत्मसमीक्षाको आवश्यकता देखिएको नेताहरूको भनाइ छ।
केन्द्रीय समिति बैठकमा निर्वाचन समीक्षा सँगसँगै पार्टीको आगामी कार्यदिशा र नेतृत्व सम्बन्धी विषयमा समेत गहन छलफल भइरहेको छ। बैठकले संगठन सुदृढ गर्दै जनविश्वास पुनःआर्जन गर्ने रणनीति तय गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: ८ चैत्र २०८२ १५:४७ आइतबार

