२३ माघ २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

नेहरूकी इन्दिरा, नारायणमानकी शोभा

पुस्तक

इतिहासका गर्भमा धेरै कुरा लुप्त हुन्छन्। तर केही अक्षर समयको गर्भमा हराउँदैनन्। बरु तिनले युग निर्माणको बाटोमा सहयोग गर्छन्। भारतका स्वतन्त्रता सेनानी पण्डित जवाहरलाल नेहरूले छोरी इन्दिरालाई जेलबाट लेखेका चिठीहरू ‘लेटर्स फ्रम फादर टु हिज डटर’ पछि पुस्तक बनेर विश्वभर चर्चित बन्यो। चिठी केवल एउटा बाबुले छोरीलाई दिएको ज्ञान मात्र थिएन, संसारभरका पिताले आफ्नी छोरीलाई दिने चेतनाको बीजारोपण थियो।  

‘लेटर्स फ्रम फादर टु हिज डटर’को झल्को मेटाउने नेपालको राजनीतिक इतिहासमा अर्को गहिरो तर कम चर्चित चिठीबारे धेरैलाई थाहा नहुन सक्छ। २०४५ सालतिर नक्खु जेलमा रहँदा नारायणमान बिजुक्छेले आफ्नी पत्नी शोभा प्रधानलाई पठाएका चिठीहरूको सँगालो ‘लेटर्स फ्रम जेल’ (जेलका चिठीहरू) हालै भक्तपुरमा सार्वजनिक भएको छ।

एक नेता जेलमा बन्दी हुन्छन् र एक शिक्षिका बाहिर घर सम्हाल्दै हुन्छिन्। निरङ्कुश शासनले खडा गरिदिएको त्यो दुरीलाई अक्षरले निरन्तर जोडिरहेको थियो। ललितपुरको नक्खु कारागारमा रहेका बिजुक्छेले भक्तपुरमा रहेकी शोभालाई चिठीमार्फत दिएको ज्ञान नेहरूले छोरीलाई लेखेको सन्देशजस्तै नारी चेतनाको पाठशाला बनेको छ।

नेहरूले इन्दिरालाई इतिहास, विज्ञान, संस्कृति र सभ्यताबारे सरल ढंगले बुझाए। उनले ‘नयाँ भारत’को सपना ती सानी छोरीको मनमा रोपिदिए। बिजुक्छेले पनि त्यसै गरी लेखे आफ्नी पत्नी शोभाका नाममा चिठी। जहाँ राजनीतिक पीडा मात्र होइन, सांस्कृतिक चेतना, सामाजिक दर्शन र आन्तरिक आत्मसंवाद समावेश थियो। पत्नी शोभा र छोरो सुवेगलाई सम्बोधन गरेका कतिपय चिठीमा सिङ्गो समाजलाई सम्बोधन गरेको भान हुन्थ्यो। छोराको जिज्ञासालाई कसरी शान्त गर्ने, कसरी उसलाई पढाइप्रति प्रेरित गर्ने भन्ने उनको सन्देश आजको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक छ।

नेहरूका चिठीले इन्दिरालाई विश्व राजनीतिक दृष्टिकोण दिए, नारायणमानका चिठीले शोभालाई समाज बुझ्न चेतनाको नयाँ चस्मा दिए। एउटा चिठीमा सानी छोरीले सिङ्गो भारत बुझिन्, अर्कोमा एउटी शिक्षिकाले पूरा समाजको मनोविज्ञान। चिठीले कसरी चेतना बढाउँछ भन्ने यो विशिष्ट उदाहरण हो।

२०४५ सालको ‘ह्योजु काण्ड’पछि नारायणमान जेल परे। त्यति बेला जेलबाट उनले लेख्न थाले पत्नी शोभालाई चिठीहरू। चिठी लेख्न मात्र होइन, त्यसलाई सकुशल पत्नीको हातमा पु¥याउन पनि अप्ठ्यारो समय थियो। तर पनि जेलमा रहेका बिजुक्छेले शान्त मनले क्रान्तिको चिठी लेखे। जुन आजको पिँढीलाई ज्ञानको सन्देश बन्न पुगेको छ।

झट्ट हेर्दा यी चिठी श्रीमान्–श्रीमतीको संवादजस्ता लाग्न सक्छन्। तर बिस्तारै ती चिठीमा प्रवेश गरेपछि अनुभूति हुन्छ, यिनमा विचारको अभिलेख छ, नेपाल, भारत, चीन, युरोपका आन्दोलनको समीक्षा छ। कला, साहित्य, इतिहास र धर्मदर्शनको आलोचनात्मक चिन्तन छ।

 धार्मिक मान्यतको वैज्ञानिक वर्णन छ। जस्तो एक चिठीमा उनले सरस्वतीबारे गरेको वर्णन निकै रोचक छ। सरस्वतीको अर्थ ज्ञान भन्दै उनले वाहन राजहंसको चर्चा गर्दै उक्त हाँसले जस्तो दुधको दुध पानीको पानी छुट्याउन सक्ने क्षमता दिने वर्णन गरेका छन्।

झन्डै चार दशकअगाडि उनले शिक्षालाई महŒव दिँदै लेखेको चिठी पढ्दै गर्दा ज्ञानको नगरीका रूपमा परिचित हुँदै गएको भक्तपुरले सार्थकता पाएको महसुस हुन्छ। सय वर्षपछिको सपना देख्ने बिजुक्छेले आधा शताब्दी अगावै आजको भक्तपुरको सपना देखेको बुझिन्छ। सपना देख्ने मात्र होइन, त्यो पूरा गर्न लागिपर्ने उनको अठोटको धेरैले तारिफ गर्छन्।

बिजुक्छेले लेखको छन्, ‘कुनै पनि समाज परिवर्तन तब मात्रै सम्भव हुन्छ, जब त्यो परिवर्तन घरभित्रबाट सुरु हुन्छ।’ शोभाले चिठीलाई केवल पढिनन्, जीवनमा उतारिन्। नारायणमानले पुस्तक विमोचन समारोहमा भने, ‘यी चिठी मैले त बिर्सिएको थिएँ तर शोभाले तिनलाई जतनले राखेकी रहिछन्।’ ज्ञानको मूल्य दिनेलाई भन्दा पन लिनेलाई बढी हुन्छ भन्ने भनाइ शोभाले सार्थक बनाइन्।

शोभालाई देख्दा धेरैले सामान्य जीवन जिउने शिक्षिका मात्र ठान्थे। तर ती महिलाले गरिरहेकी ‘मौन क्रान्ति’ सायद धेरैले महसुस गरेनन्। नारायणमान देश हेरिरहेका थिए, उनी घर सम्हालिरहेकी थिइन्। तर त्यो घर नारायणमानको मात्र थिएन, त्यो त समाज सजाउने सुन्दर बगैंचा थियो।

पछिल्लो समय घरपरिवारले ठुला भनाउदा नेतालाई बदनाम गराइरहेको समयमा शोभा भने फरक रहिन्। जहाँसम्म बाँचिन्, इज्जत र स्वाभिमानले बाँचिन्। शोभाले कहिल्यै अधिकार मागिनन्, न त राजनीतिक पृष्ठभूमिमा हस्तक्षेप गरिन्। तर उनको मौन सशक्तताले नारायणमानको वैचारिक यात्रालाई सम्भव बनाइन्। उनको एउटै भनाइ थियो, ‘तपाईं समाजको बाटो देखाउनुहोस्, म घरको उज्यालो निभ्न दिनेछैन।’

के छ चिठीमा?

बिजुक्छेले शोभालाई लेखेका चिठीमा भक्तपुरको सांस्कृतिक धरोहरबारे गहिरो चिन्तन, भारतीय स्वतन्त्रता आन्दोलन, गान्धीवादमाथि विश्लेषण, युरोपेली पुनर्जागरणको मूल्य, समाजवाद, साम्यवाद र नेपालमा यसको सम्भाव्यता, मानवीय मूल्यबारे गहिरो उत्तरसँगै घरपरिवारका ससाना समस्या र तिनको समाधान कसरी गर्ने भन्ने उपायलगायत चैतन्य छन्। जुन उनले शोभामार्फत समग्र नारीलाई दिन खोजेको प्रस्ट हुन्छ।

चिठीमा नारायणमानले कुनै शिक्षकझैं शिक्षिका शोभालाई ज्ञान दिइरहेका छन् भन्ने होइन। यी दुई चेतनाबिचका संवाद हुन्, जसमा प्रश्न छन्, बहस छन् र साझा उत्तर पनि छन्।

राजनीतिमा पदप्राप्तिलाई सफलता मानिन्छ। तर नारायणमानले मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे। किनभने उनी सधैं पदका पछि होइन, विचारका पछि लागे। र बिजुक्छेको यो निर्णयमा शोभाको मौन तर गहिरो समर्थन थियो। उनले नारायणमानलाई शक्ति होइन, सत्य रोज्न प्रेरित गरिन्। त्यसैले पनि नारायणमानले शोभालाई लेखेका चिठी सार्थक छन्। शोभाले चिठी पढेर त्यसको भावमा जीवन उतारिन्। जसले उनलाई मृत्युपछि पनि जीवन्त राख्न सक्यो। कसरी एउटी शिक्षिका केवल शिक्षणमा सीमित नभई समाज परिवर्तनको आधार बन्न सक्छिन् भन्ने सन्देश दिन्छ शोभाको जीवनले। त्यसैले पनि शोभाको वार्षिक तिथिको छेको पारेर गरिएको यो विमोचन समारोह शोभाप्रतिको साँचो श्रद्धाञ्जली हो।

‘जेलका चिठी’ केवल पुस्तक होइन, इतिहासको सम्झना हो। चिठीमा नेपालको इतिहास, परम्परा र संस्कृतिको गहिरो विश्लेषण छ। समग्रमा भन्ने हो भने यी चेतनाका झिल्का हुन्। नारायणमानका शब्दले लेखिएका यी पानामा शोभाको मौन शक्ति मिसिएको छ।

नेहरूका चिठीले इन्दिरालाई देशको नेतृत्वमा उभ्याए, नारायणमानका चिठीले शोभालाई समाजको नेतृत्वमा उभ्याए– घरभित्र, विद्यालयभित्र, नारी चेतनाभित्र। शोभा भौतिक रूपमा अहिले छैनन्। तर चिठीमार्फत उनी पुनः जीवन्त भएको महसुस हुन्छ। सुरुमा नेपालीमा लेखिएका यी चिठी अंग्रेजी भाषामा समेत अनुवाद भएका छन्। अब ती संसारका कुना कुनामा पढिनेछन्।  

प्रकाशित: १० श्रावण २०८२ ०७:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App