गत शनिबार अनामनगरस्थित स्टुडियोमा आत्मदाह प्रयास गर्दा गम्भीर घाइते भएकी गायिका नितु पौडेलको निधन भएको छ। आज (शुक्रबार) बिहान कीर्तिपुर वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले नितुका बुवाले गायक बाबुल गिरीविरुद्ध जाहेरी दर्ता गराएको बताए। घटनामा संलग्नता शंकापछि प्रहरीले गिरीलाई सोधपुछका लागि यसअघि पनि बोलाएको थियो। शनिबारको घटनामा गिरी पनि सामान्य घाइते भएका थिए। बर्न अस्पतालबाट डिस्चार्जपछि थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
आत्मदाह प्रयासअघि नितुले फेसबुकमा गरेको अन्तिम पोस्ट अहिले चर्चामा छ। पोस्टमा लेखेकी छन्, ‘हाँसी रहने यो मुहार भित्रको उदासिपन हर कोहीले कहाँ बुझ्न सक्छ र,’ जुन घटनासँग जोडिएको अनुमान गरिएको छ।
प्रकाशित: ७ कार्तिक २०८२ १८:५७ शुक्रबार





