१८ आश्विन २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

ज्ञानेश कुमारको राजीनामा माग्दै सडकमा सीजेपी, नसीरुद्दीन शाहदेखि शबाना आजमीसम्मको समर्थन

मुम्बईमा प्रमुख निर्वाचन आयुक्त (सीईसी) ज्ञानेश कुमारको राजीनामा माग्दै भएको प्रदर्शनमा बलिउडका चर्चित कलाकारहरू सहभागी भएका छन्।

शुक्रबार ककरोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको प्रदर्शनमा अभिनेता नसीरुद्दीन शाह, अभिनेत्री शबाना आजमी, फिल्म निर्देशक विशाल भारद्वाज, अभिनेता अतुल कुलकर्णी र गायक तथा संगीतकार विशाल ददलानी प्रदर्शनस्थल पुगेका थिए।

मुम्बईको शिवाजी पार्कमा भएको प्रदर्शनमा हजारौँ मानिस भेला भएका थिए। प्रहरीले अनुमति नदिए पनि प्रदर्शनकारीहरू पार्कमा पुगेका थिए। सुरुमा पार्कका मुख्य गेटमा प्रहरी र ब्यारिकेड तैनाथ गरिएको थियो। पछि प्रदर्शनकारीहरूले ब्यारिकेड पार गरेर पार्कमा प्रवेश गरी र्‍याली निकालेका थिए।

सीजेपीले मतदाता नामावलीको विशेष सघन परिमार्जन (एसआईआर) प्रक्रियामा अनियमितता भएको दाबी गर्दै ज्ञानेश कुमारको राजीनामा मागिरहेको छ। पार्टीले एसआईआर प्रक्रिया रोक्न र जनवरी २०२५ को मतदाता सूची पुनः कायम गर्नुपर्ने माग पनि अघि सारेको छ।

सो अवसरमा नसीरुद्दीन शाहले सीजेपीका संस्थापक अभिजीत दिपकेसँग भेटेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। अन्य कलाकारहरूले पनि सामाजिक सञ्जालमार्फत प्रदर्शनप्रति समर्थन जनाएका छन्।

प्रदर्शनका क्रममा शबाना आजमीले विरोध प्रदर्शन गर्न पाउने नागरिकको अधिकारको समर्थन गरिन्। कुनै ठोस कारणबिना मतदाता नामावलीबाट मानिसको नाम हटाइए विरोध गर्नु स्वाभाविक भएको उनले बताइन्।

यसैबीच, प्रदर्शनपछि मुम्बई प्रहरीले सीजेपीका आयोजकसहित चार सयदेखि पाँच सय जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। प्रहरीले अनुमति बिना प्रदर्शन गरेको र सार्वजनिक आदेश उल्लंघन गरेको आरोपमा अनुसन्धान अघि बढाएको बताइएको छ।

उता, सीजेपीले ज्ञानेश कुमारलाई राजीनामा दिन अक्टोबर १० सम्मको अल्टिमेटम दिएको छ। सीजेपीले अक्टोबर १० मा नयाँ दिल्लीको जन्तर मन्तरमा अर्को प्रदर्शन गर्ने घोषणा गरेको छ। उसले मुम्बईपछि आन्दोलनलाई अन्य प्रमुख सहरमा विस्तार गर्ने जनाएको छ।

प्रकाशित: १७ आश्विन २०८३ १८:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App