१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

बहुभाषिक पत्रिका ‘सिरूवा-जातिरि’ सार्वजनिक

नेपाल प्रज्ञाप्रतिष्ठान साहित्य मातृभाषा विभागले झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका १० अल्पसङ्ख्यक आदिवासी समुदायका भाषाहरूलाई समेटेर ‘सिरुवा-जातिरि’  बहुभाषिक पत्रिका प्रकाशित गरेको छ। 

'सिरूवा-जातिरि" सहित १० पत्रिका प्रज्ञाप्रतिष्ठान साहित्य मातृभाषा विभागबाट प्रकाशित भइसकेका छन्। यसबाट नेपाली मातृभाषाको संरक्षण र विकासमा ऐतिहासिक कार्य भएको देखिन्छ।

प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचेर २६ औं मातृभाषा साहित्य शृङ्खलाको उद्घाटन गरेका थिए। उनले 'सिरूवा-जातिरि' को सार्वजनिक गर्दै अहिले मातृभाषामा १० पत्रिका प्रकाशित भइसकेकाे बताए।

यी पत्रिकामा ४६ मातृभाषाका साहित्यिक लेखरचना, विश्लेषण र इतिहास समेटिएका छन्। प्रज्ञाप्रतिष्ठानको ६८ वर्षको इतिहासमा अहिले मातृभाषाको पुनर्जागरण भएको उल्लेख गर्दै आफ्नो कार्यकालको अढाई वर्षमा मातृभाषा साहित्यलाई प्राज्ञिक सत्तासँग जोड्दै अघि बढ्न सकेकामा हर्षित भएको बताए।

उनले जेन-जी विद्रोहको प्रभावले नेपाली समाज, संस्कृति र राजनीतिलाई नयाँ ठाउँमा ल्याएको छ। अब जेन-जी सहिदहरूको अवमूल्यन गर्ने छुट कसैलाई नभएको चर्चा गर्दै यसले साहित्य र संस्कृतिमा पारेको प्रभावबारे अध्ययन हुने बताए।

कार्यक्रममा धिमाल जातीय विकास केन्द्रले कुलपति भूपाल राई र सदस्य सचिव डा. धनप्रसाद सुवेदीलाई सम्मान पनि गरेकाे प्राज्ञ चेतनाथ धमलाले बताए।

प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले लोपोन्मुख जाति र तिनका मातृभाषाको विकास गर्नु सबैको दायित्व भएको उल्लेख गरेका थिए। उनले मातृभाषाको जगेर्ना गर्न सबैले हातेमालो गर्दै सहकार्य गर्न जोड दिएका थिए।

सभाध्यक्ष, प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख एवम् 'सिरूवा-जातिरि'का प्रधानसम्पादक राजन मुकारुङले 'मोरङ, झापा र सुनसरी लगायतका विभिन्न स्थानमा बोलिँदै आएका लोपोन्मुख अवस्थाका १० मातृभाषालाई समेटी साझा पत्रिका 'सिरूवा-जातिरि' प्रकाशनले नयाँ उत्साह थपेको बताए।

उनले जेन-जी पुस्ता र साहित्यको चर्चा गर्दै जेन-जीको जोश आत्मसात् गर्दै नयाँ पुस्तालाई मातृभाषाको सौन्दर्यबोध गराउनु सके मात्र मातृभाषाको संरक्षण र संवर्धनमा बल पुग्ने बताए।

प्रज्ञाप्रतिष्ठानका प्राज्ञसभा सदस्य डा. विष्णुकुमार सिङ्जालीले 'मगर ढुट भाषाको साहित्य' विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। रविलाल ताजपुरिया र तेजेन्द्र ताजपुरियाको सहलेखन रहेको 'ताजपुरिया भाषा र लोकसाहित्यको अवस्था' विषयक कार्यपत्र तेजेन्द्र ताजपुरियाले प्रस्तुत गरेका थिए।

उक्त कार्यपत्रमाथि सहभागीका तर्फबाट भाषा आयोगका निवर्तमान सदस्य अमृत योन्जन, प्रा. श्रीराम उपाध्याय, पूर्णबहादुर घर्तिमगर र अञ्जु राजवंशीले आआफ्नो जिज्ञासा र सुझाव प्रस्तुत गरेका थिए।

मातृभाषा साहित्यको २६ औं शृङ्खलामा वाम्बुले राई भाषामा एलिना राई, बैतडेली भाषामा कर्ण दयाल सोराडी र शेर्पा भाषामा डेण्डी शेर्पाले आआफ्नो कविता वाचेका थिए।

कार्यक्रममा धिमाल जातीय विकास केन्द्रका अध्यक्ष दानबहादुर धिमालले शुभकामना मन्तव्य र बेचन उराँवले सम्पादनसम्बन्धी धारणा राखेका थिए।

साहित्यकार शोभा सुनुवारले सञ्चालन गरेकाे कार्यक्रममा 'सिरूवा-जातिरि' का सम्पादक मण्डलमा बेचन उराँव, जीवनकुमार धिमाल, दिलिप बास्के, जगदीशप्रसाद ताजपुरिया र कार्यकारी सम्पादकमा डा. सोमबहादुर धिमाल रहेका छन्। 

प्रकाशित: ९ आश्विन २०८२ १४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App