३० असार २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

‘मिस्टर एन्ड मिस सुपरनाशनल २०२६’ को उपाधि पूर्णिमा र मृधुललाई

‘मिस्टर एन्ड मिस सुपरनाशनल २०२६’ को क्राउनिङ सेरिमनी सोमबार काठमाडौंमा सम्पन्न भएको छ।

सोल्टीमोडस्थित होटल क्राउन इम्पोरियममा आयोजित भव्य समारोहका बीच पूर्णिमा कार्की र मृधुल आचार्य यो वर्षको विजेता घोषित भएका हुन्।

विजेताद्वय मध्ये पूर्णिमा कार्की कानुन पृष्ठभूमिबाट हुन् भने मृधुल आचार्य पेशाले इन्जिनियर हुन्। यी दुवैले आगामी सेप्टेम्बरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।

सोही प्रतिस्पर्धाका लागि उनीहरू आगामी जुलाई १३ मा पोल्याण्डतर्फ प्रस्थान गर्ने कार्यतालिका रहेको छ। सेप्टेम्बरमा हुने उक्त प्रतियोगितामा विश्वभरका विभिन्न देशका उम्मेदवारहरू सहभागी हुनेछन्।

प्रतियोगिताका अध्यक्ष एवं मोडल डा. सन्तोष उपाध्यायले यस मञ्च केवल प्रतिस्पर्धाको रूपमा मात्र नभई समाजलाई प्रेरणा दिने माध्यमका रूपमा रहेको बताए। ‘हामीले यस्ता युवाहरूलाई छनौट गरेका छौं, जसले व्यक्तिगत रूपमा सफलता हासिल गर्नुका साथै समाजका लागि पनि रोल मोडल बन्न सक्छन्।’ उनले सुनाए।

प्रतियोगिताको मापदण्डका बारेमा जानकारी दिँदै उनले १८ देखि ३० वर्ष सम्मका युवा-युवतीहरू उम्मेदवार बन्न सक्ने बताए। विशेष गरी उचाइ र लिङ्गका आधारमा कुनै सीमा नतोकिएको र समावेशितालाई जोड दिइएको उनले स्पष्ट पारे।

उदयपुरकी बासिन्दा एवं मिस सुपरनाशनलको उपाधि विजेता पूर्णिमा कार्कीले यस प्रतियोगितालाई आकांक्षा र प्रेरणाको मञ्चका रूपमा लिएको बताइन्।

उनले आफू समाजका लागि केही गर्ने लक्ष्यका साथ अघि बढेको र पोल्याण्डमा हुने प्रतिस्पर्धाका लागि निकै उत्साहित रहेको उल्लेख गरिन्।

अन्तर्राष्ट्रिय छनौट प्रक्रियाका बारेमा जानकारी दिँदै कार्कीले भनिन्, ‘यसमा उम्मेदवारको हिँडाइ देखि लिएर उसले अरूलाई दिने प्रेरणासम्मका कैयौँ पक्षहरू सूक्ष्म रूपमा हेरिन्छ। यो अन्तर्राष्ट्रिय समारोह भएकाले विभिन्न मापदण्डहरू पार गरेर मात्र हामी विदेश जानुपर्ने हुन्छ।’

नेपालको तर्फबाट अन्तर्राष्ट्रिय मञ्चमा जान लागेका कार्की र आचार्यले त्यहाँका प्रतिस्पर्धाहरूमा आफ्नो उत्कृष्ट प्रस्तुति दिने र नेपालको पहिचानलाई विश्वमाझ पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: १ असार २०८३ १८:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App