१३ माघ २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

आमा, ईश्वर र माया

पुस्तक

ईश्वर थोकर मूलतः एक कवि हुन्। उनले थुप्रै कविता र संस्मरण लेखेका छन्। उनका कविताहरूमा उनको जीवनमा अहम् भूमिका निर्वाह गर्ने पात्रहरू नै बढी हुन्छन्। उनका कविता पढिरहनेले ईश्वरको जीवनलाई सहजै बुझ्न सक्छन्। उनलाई नजिकैबाट चिन्नेका लागि उनका कविता बुझ्न अझै सरल हुन्छ।

अहिले उनले लेखेका छन् - आमा।

‘आमा’ यो दुई अक्षरको शब्द पढ्दा, सुन्दा, हेर्दा आफैँमा जति सानो र संक्षिप्त छ, यसले ओगटेको दायरा, यसको मर्म र यो शब्दमा निहित प्रेम, वात्सल्य अनि गरिमा कता हो कता धेरै विशाल छ। यो शब्दलाई व्याख्या गर्न धेरैसँग शब्दहरू पर्याप्त हुँदैनन्, कम्तीमा मसँग छैनन्।

आफ्ना सन्तानका लागि दिनरात खट्ने, निद्रा, आराम, भोक नभनी सधैँ आफ्ना छोराछोरीका सुखशान्तिको कामना गर्ने, सन्तानका लागि आफ्ना इच्छा समेत तिलाञ्जली दिने आमा वास्तवमै भगवानस्वरूप हुन्।

नौ महिनासम्म कोखमा राखी जन्माएका सन्तान बामे सर्दै गरेका हुन् वा कपाल फुलिसकेका, आमाका लागि जहिले पनि साना बच्चासरि नै हुन्छन्। आफ्नो बच्चा भोकले रुँदा त्योभन्दा बढी आमाको मन रुन्छ। छोराछोरीलाई समस्या पर्दा आमाको निद गायब हुन्छ। तिनका लागि आरोप र अनेकौँ प्रताडना पनि सहन्छिन्। सधैँ आड, भरोसा, छत र सियाँल बनेकी आमाको हृदयबाट सन्तानका लागि अविरल ममता, स्नेह, प्रार्थना र आशीर्वाद बहिरहेको हुन्छ। यस्ती आमाले आफ्नो सन्तानको कुभलो कहाँ चिताउँछिन्!

शब्द बोल्न घरमा आमाले नै पहिले सिकाउँछिन्। कोही बिमारी परे सर्वप्रथम आमाले नै जानेबुझेको ओखती गर्छिन्। आमाले यति मात्र गर्दिनन्। अटेरी सन्तानलाई दिन आमासँग गाली, हप्काइ, घुर्क्याइ, रीस र झापड पनि हुन्छन् तर त्यसमा पनि आमाको अथाह माया र सन्तानको भविष्यकै चिन्ता हुन्छ। यो यथार्थ ती महिलाले बुझेकी हुन्छे - जो आमा बनिसकेकी छ, ती पुरुषले बुझेका हुन्छन् -जसले मातृत्वको भूमिका निर्वाह गरेका छन्।

यस्ती ममतामयी आमाबारे धेरैले धेरै लेखेका छन् - कथा, कविता र आफ्ना संस्मरणमा आमालाई सम्झेका छन्।

कवि ईश्वर थोकरले पनि आमाको कविता लेखेर त्यो सिलसिलामा अर्को कडी थपेका छन्।

आकारमा निकै छोटाछोटा कविता लेख्छन् उनी। मीठा लाग्छन्। यस्तो मन छुने कविता लेख्नमा माहिर ईश्वरका यसमा पनि आफ्नो विशेषताअनुरूप कविताहरू छोटा नै होलान् भन्ने अनुमान उनको पाण्डुलिपिबाट सहजै लगाउन सकिन्थ्यो। हात परेको त्यो कविताको ड्राफ्ट धेरै मोटो थिएन।

“मलाई लाग्छ, यसमा कविताहरू अलि कमजोर छन्। खै के–कस्तो भयो,” प्रकाशनअघि सशङ्कित हुने लेखकहरू जस्तै उनमा पनि त्यो डर, उनले त्यसो भन्दै गर्दा मैले महसुस गरेँ।

त्यसो त, कविले कविता लेखेर आत्मसन्तुष्टि लिने मात्र हो। कविता कत्तिको सशक्त छ वा कमजोर, त्यो मूल्याङ्कन त्यसलाई पढ्ने पाठकले मात्र गर्न सक्ला - त्यो पनि पृथक्-पृथक्। प्रत्येकलाई एउटै स्वाद कहाँ मन पर्छ र? कसैलाई सामान्य लागेको रचना दोस्रोको लागि ‘आहा!’ हुन सक्छ।

उसमाथि स्रष्टाको सिर्जना कहिले पनि राम्रो, नराम्रो हुँदैन जस्तो लाग्छ। कुनै पनि लेखकले नराम्रो लेख्छु भनेर कहाँ रचना गर्छन् र? तिनको अनुभव, ज्ञान र कल्पनाले जे देख्छन्, सोच्छन् त्यही भावलाई उनले लेखाइमा उतार्ने हुन्। कसैलाई मन पर्छ, कसैलाई पर्दैन, फरक त्यतिमात्र हो।

सुरूको पहिलो दृष्टिमा ईश्वरले यो कवितासङ्ग्रह ‘आमा’ मूल शीर्षकमा फरकफरक उपशीर्षकमा लेख्न खोजेका हुन् कि ‘आमा’ शीर्षकमा धाराप्रवाह एउटै लामो लेख्न खोजेका, म आफैँ अलमलमा परेँ। कविताहरूमा कुनै शीर्षक थिएनन्। तिनलाई फेरि पढेँ, फेरि पढेँ, दोहोर्‍याउँदै। हरेक पानामा फरक प्रसङ्गहरूका थिए। एउटी आमाको आफ्नो छोराप्रतिको अनुभूति, उनको इच्छा, खुसीलाई सरल केही शब्दमा बिनाकुनै जलप ईश्वरले सजाएका छन्।

“म कतै जान लाग्दा, आमा, निधार चुम्छिन्, अँगालो हाल्छिन्, बार्दलीमा उभिएर आँसु खसाल्छिन्।”

ईश्वरका यी हरफहरूमा आमाको छोराप्रतिको लगाव, चिन्ता र पीडा देखिन्छ। आम छोराछोरीप्रति हरेक पटक कुनै आमाले त्यस्तो व्यवहार नदेखाउँलिन् तर ईश्वर सामान्यभन्दा फरक थिए। लामो समय बिमारी भएर अस्पतालको वार्डमा व्यतित गरिसकेका उनको, कतै बाहिर निस्कनुले आमालाई कत्तिको पीडा हुन्थ्यो भन्ने कुरा यसले देखाउँछ। उनी बाहिर निस्कँदा बाहिरको संसारले कस्तो व्यवहार गर्ला, त्यसबाट पर्नसक्ने सम्भावित चोटको आशङ्कामा आमा पिरोलिएकी छिन्।

अर्कोतिर, ईश्वर अब सामान्य बन्दै आफूखुसी बाहिर जान सकेको खुसी उनको आँसुले बयान गर्छन्।

आमाको लागि छोरा सधैँ विशेष नै हुन्छ, उसमाथि फरक क्षमताका र त,  टेलिभिजन, अखबार र रेडियोमा कुनै कविको वाचन, अन्तर्वार्ता वा जीवनी सुनिन् भने उनी अनायास छोरालाई सम्झन्छिन्। उनलाई थाहा छ, छोराको साहित्य लेख्न र पढ्नमा रुचि छ। त्यही भएर कल्पना गर्छिन्, त्यो ठाउँमा आफ्नो छोराले पनि त्यसरी नै मन्चमा उभिएर कविता पढेको, अरूका लागि प्रेरणा बनेको। उनलाई आशा छ, उनको छोराको पनि कुनै दिन अन्तर्वार्ताहरू छापिने छन्। “अखबारमा कुनै कविको मार्मिक अन्तर्वार्ता छापिएर आएको थाहा पाइन् भने, मेरी आमा मलाई सम्झिहाल्छिन्।”

साह्रै सताउने सन्तान भए आमाको रीस र असन्तुष्टि अलि लामै समय रहन्छ उनीहरूसँग। त्यस्तासँगको खिन्नता उनको मौनतामा झल्किन्छ। एक त, ईश्वर सानैदेखि कम बोल्ने, मीठो बोल्ने र सबैलाई माया गर्ने स्वभावका भएकाले, अझ म सम्झन्छु एकपल्ट उनले बताएका थिए, “घरमा मभन्दा ससाना अरू भाइबहिनीहरू भए पनि आमा मलाई बढी माया गर्नुहुन्छ।”

त्यो मायाको पछाडि उनले आमालाई कुनै दुःख नदिएको कारण त छँदै थियो, त्यसको अलावा ईश्वरको मानसिक अस्वस्थता पनि अर्को कारण थियो। त्यही बिमारीका कारण उनी अस्पताल भर्ना हुँदा आमाबुबाले कति रात ननिदाई बिताए होलान्, रकमको जोहो कसरी गर्ने भनी चिन्ता लिएका होलान्! त्यसलाई सताएको भन्न मिल्दैन तर ईश्वर सोच्छन्, “मैले कहिल्यै सताएको रहेनछु, मानसिक बिमारीको अवस्थामा बाहेक।”

“तिम्रो खुसी नै मेरो खुसी हो भन्छिन्।” अधिकांशलाई आफ्नो पराजय ग्लानिपूर्ण र अपमानजनक नै लाग्छ। आफ्नो हार सजिलै स्वीकार्न गाह्रो पनि हुन्छ तर जब त्यो पराजय आफ्नो नजिकको, आफूले माया गर्नेले दिन्छ, त्यो हारमा पनि प्रसन्नता हुन्छ।

खास गरी आमाबुबा आफ्ना सन्तानले उनीहरूलाई पनि माथ गरी उनीहरूभन्दा अघि बढेका र बनेका देख्दा अझ खुसी हुन्छन्। त्यो खुसीमा तिनका आत्मसन्तुष्टि र गर्व हुन्छ। ईश्वर अब आफ्ना कुराहरू घरभित्र र आफन्तहरूको माझमा मात्र सीमित नराखी पत्रपत्रिकामा पनि छपाउन थाल्छन्।

अखबारहरूमा छापिने रचनामा उनको फोटोसहितको नाम देख्नु आमाका लागि वर्षौको सपना र तृप्ति थियो। “अखबारमा मेरो नाम छापिएर आउँदा आमा मेरो नामलाई धेरैबेरसम्म सुम्सुम्याउँछिन्।”

‘आमा’ आकाश जस्तै फराकिली, हावा जस्तै व्यापक, समुद्रजत्तिकै गहिराइ बोकेकी, पुराना कुरा कथा जस्तै सुनाउने कथावाचक, एउटा सिङ्गो पाठशाला र थुप्रै अर्थ खोजेर समाधान पाइने बृहत् शब्दकोश हुन्। त्यसैले तामाङ मातृभाषी यी कविलाई लाग्छ, “मेरी आमा तामाङ बृहत् शब्दकोश हुन्।”

भन्न त हामी भन्छौँ र लाग्छ पनि आमा आफ्नो सन्तानमा भेदभाव गर्दिनन् तर यो माया भन्ने कुरा तराजुमा तौलेर बाँडिन्न, बाँडेको हिसाबकिताब पनि राखिन्न। कहीँ कुनै न कुनै कारणले कुनै सन्तानमा माया थोरबहुत भएकै हुन्छ। अधिकांशको हकमा सानो भएकाले कान्छा वा कान्छीमा माया अलि बढी पोखिन्छ। कसैको शारीरिक असक्षमता वा अस्वस्थतालेपनि अनायासै माया बढी लाग्छ।

ईश्वरलाई लाग्छ - आमाले उनीभन्दा मुनिका अरू भाइबहिनीहरूलाई पनि त्यत्तिकै माया गरुन्। फरक क्षमताका भएर बिमारी झेलिसकेका उनलाई अलि बढी माया दिनुपर्छ भन्ने आमालाई लागेको हुँदो हो। त्यो स्वाभाविक हो तर कविलाई त्यो महसुस हुने असमान माया कहिलेकाहीँ अप्ठेरो लाग्छ, “कतै उनले भेदभाव त गरिनन्?”

आमालाई आफ्नो सन्तान सबैभन्दा सुन्दर र प्रिय लाग्छ। उनी उसलाई त्यही नामले बोलाउँछिन् जुन नाममा उनलाई लाग्छ, प्रेम भरिएको छ वा जुन नाम लिँदा उनलाई त्यो सम्बन्ध अझै नजिक लाग्छ। “आमाले मलाई प्रेमले सम्बोधन गर्ने एउटै शब्द हो-आले।”

मलाई सम्झना छ - सानो छँदा स्कूलबाट आउन केही ढिला मात्र भए पनि आमा झ्यालमा बसी कुरिरहनुहुन्थ्यो। अनि भित्र पस्न पाउँदा नपाउँदै हप्काइ सुरू हुन्थ्यो। आज सम्झन्छु, त्यो हप्काइभित्र पनि कति डर, दुःख, चिन्ता र माया थियो! मलाई लाग्छ, यो कुरा धेरै आमाहरूमा लागु हुन्छ। कविका आमा पनि अपवाद रहिनन्। सानामा छोरो स्कूलबाट नफर्कुञ्जेलसम्म अनि ठूलो भइसक्दा पनि अफिसबाट घर नआएसम्म उनका चिन्तित आँखाले बाटो कुरिरहन्छन्। आखिर आमाका लागि छोरा जहिले पनि सानै रहन्छ। “आमा मेरो बाटो हेरेर बस्छिन्।”

“मेरी आमा सधैँ प्रार्थना गरिरहन्छिन् मेरो निमित्त।” सन्तान नभएको अवस्था अर्कै, जन्मिसकेपछि आफ्नो बच्चाको अस्तित्व नै सर्वोपरी हुन्छ आमाको लागि। उसको शिक्षा, स्वास्थ्य, इच्छा, सफलता र सम्पूर्ण जीवनकै लागि पलपल कामना गर्दै बित्छ आमाको। चाहे आफ्नो आँखाअगाडि होस् या टाढा, आमाको अवचेतन मनबाट समेत पनि सन्तान कहिल्यै टाढा हुन्न उनलाई। ईश्वर त झन् सानैदेखि बिमारी भइरहन्थे।

उनको बाल्यकाल क्लिनिक, मानसिक अस्पताल र वार्डमा डाक्टर, नर्स र आफू जस्तै बिमारीहरूका सङ्गतिमै बित्यो। बालखै रहेको छोराको मानसिक बिमारीले उनलाई घरपरिवारबाट टाढा राख्नुपर्ने बाध्यता थियो। त्यो पीडामा आमाको मनमा छोराको स्वास्थ्यलाभको कामना हुनु अस्वाभाविक होइन। ईश्वरले यस्ता प्रार्थना सधैं देखेका छन् आमाको आँखामा र शब्दहरूबाट त्यसलाई पुष्टि गरेका छन्।

“वास्तवमा -म त ‘पागल’ पो रहेछु आमा।”

कविको यो भनाइ, आमासँग गरिएको स्वीकारोक्ति निकै गहिरो र मार्मिक छ। हामी शून्यमा रहेर पनि आफूलाई निकै वजनदार ठान्छौं। संसार अलिकति के देख्यौं, के बुझ्यौं, मानौं आफूलाई अरूभन्दा धेरै जानेको, बुझेको खै! केके न सम्झन्छौं। एकअर्कासँग अभिनय गर्छौं, साँचो अभिनय -दोस्रोले यो भेदको पत्तै पाउँदैन। भित्र यथार्थ एउटा छ, देखाउन अर्कै बोल्छौं, व्यवहार अर्कै गर्छौँ। “सायद म पनि एउटा पागल हुँ,” कविले भनेजस्तै।

धेरैजना लेखाइमा इमान्दार बनिरहन सक्दैनन्। कतिपय आत्मकथामा समेत तथ्य छोपिन्छ, कल्पना बुनिन्छ, घटनाहरू तोडमोड गरिन्छन्। जब लेखाइ सार्वजनिक गर्ने कुरा हुन्छ, सायद सबै कुरा साझा गर्न गाह्रो पनि हुँदो हो। हामी दोस्रो व्यक्तिलाई राम्रोसँग बुझेको जति नै दाबी गरौँ, त्यहाँ ती भावनात्मक पहाडहरू पक्कै हुन्छन्, जसपछाडि उघ्रिन बाँकी व्यक्तित्व छेलिएकै हुन्छ। बुझ्ने त आफूले आफूलाई नै हो। अरूले आफूलाई बुझ्नु र स्वयम्ले आफू बुझ्नुमा फरक त पक्कै होला न! दोस्रोको बारे लेख्दा त्यो लेखाइले न्याय नगर्न पनि सक्छ। न्यायसङ्गत हुन आफ्नोबारे आफैँले लेख्ने हो। कविकी आमाले यो सत्य बुझेकी छन्, त्यसैले सम्झाइरहन्छिन्, “आफ्नो कथा आफैँले लेख्ने हो।”

माया गर्न पनि मन लाग्छ, कसैबाट गरिन पनि। हामी सायद कोही पनि अपवाद छैनौं। हरेक सामान्य मान्छेले माया खोज्छ। छाक र छत्रजस्तै यो पनि जीवनको लागि अपरिहार्य छ। बिनामायामा रमाउन सक्न कि त ध्यानी, ज्ञानी, वैरागी हुनुपर्यो कि त जीवनदेखि उदासीन तर मायाको माया पनि गजबकै छ। जीवसँगको माया, निर्जीवसँगको माया, त्योभन्दा माथि अझ ईश्वरीय अस्तित्वसँगको माया ... यसको कतै बिराम नै हुँदैन।

कविले एउटा कुरा स्पष्ट गरेका छन्, आमाले आफ्नो सन्तानलाई गर्ने कोमल, स्निग्ध, निःस्वार्थी र बिनाबनावटी मनैदेखि गरिने जस्तो मायाको भोका छन् उनी, “मलाई आमाको जस्तै माया मन पर्छ, तिङला माया!”

उनकाे पुछारको कविता निकै मार्मिक छ। ईश्वर आफै पनि अलि विचलित छन्। मलाई फोन गरेर भन्दै थिए, “दिदी, अलि निराशाजनक देखिने यो कविता सङ्ग्रहबाट निकाल्नुपर्छ कि?”

तर यो कविताभित्रको भाव निकै गहन लाग्यो मलाई। प्रेमको पराकाष्ठा छ यसमा। आफूले प्रेम गरेको व्यक्तिभन्दा चाँडो आफ्नो मृत्युको कामना गर्नेका बारेमा सुनेकी थिएँ तर यहाँ आमा त!

आमाले कति टाढासम्म सोचेकी होलिन्! उनको त्यो मार्मिक भनाइ, “आले, तिमी मभन्दा पहिला मर्नुपर्छ!” आमाले गर्नेभन्दा बढी माया, सायद कुनै एकाध जनाको अपवादबाहेक अरू कसैले गर्न सक्दैन। सानोमा ताती गराउँदै, पाइलापाइलामा सहारा बन्दै, बच्चा बिमारी भए अनिदो बनेर, उसको रहरको लागि आफ्नो इच्छा मेटेर, हरेक पल उसैको सुख र खुसीको लागि प्रार्थना गरिरहने, उसको दुःखमा रुने, उसको सन्तुष्टिमा रमाउने– आमा नै त हुन्, आमा ... योभन्दा बढी उनलाई व्यक्त गर्न मसँग अरू कुनै शब्द छैनन्, सीप छैन।

त्यो आमालाई थाहा छ - आफूले भन्दा बढी माया ‘मानसिक बिमारी’ बाट तङ्ग्रिएको छोरालाई अरू कसैले गर्दैनन्, गर्नै सक्दैनन्। समाजसँग अझै धेरै उदार आँखा छैन। ‘पागल’ कति सजिलै नाम दिइन्छ यिनीहरूलाई। आफू नरहे, छोराको के अवस्था होला, कसले यति निःस्वार्थ माया गर्ला र आफ्नो वियोगमा छोराको हालत कस्तो होला! यी सबैको कल्पना पनि उनलाई कष्टकर छ र त मुटुमा ढुङ्गा राखेर अश्रुपुरित शब्दमा भन्छिन्, “छोराले आमाभन्दा पहिला मर्नुपर्छ।”

... कति गहिरो, नदेखिने भविष्यसम्मको सोच, छोराप्रतिको प्रेम।

आमाको सम्झनालाई अमर बनाउन कवितासङ्ग्रह निकाल्ने कवि ईश्वर थोकरलाई बधाई, शुभकामना।                                             

प्रकाशित: २६ पुस २०८२ १३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App