गोपाल विदेश जाँदा अविनाश गर्भमा थियो। खाइपाइआएको सेक्यूरिटी गार्डको नोकरी छोडेर ऊ दुबई हान्नियो। श्रीमती कमला मानेकी थिइन। ‘हातका मैला, सुनका थैला। के गर्नु धनले। साग र सिस्नु खाएको बेस आनन्दी मनले !’ कसिलो आलिङ्गनमा बाँधिएर भनी कमलाले।
‘धन नहुँदा सबैले हेप्दा रहेछन्। केही वर्ष दुबइमा काम गर्न देउ, म तिमीलाई महलकी रानी बनाउँछु।’ यति भन्दै दुबई जाने जहाजमा उड्यो गोपाल।
दुबई गएको सात महिनापछि छोरा जन्मियो। कमलाले छोरा जन्मेको समाचार पठाउँदै न्वारानका लागि बोलाई तर कम्पनीले बिदा नदिएका कारण गोपाल आएन। पण्डितले खै के राखे नाम ! कमलाले छोराको नाम बाबुको नामको पहिलो अक्षरसँग मिलाएर गोकुल राखी।
दिनहरू बित्दै गए। एक दिनको कुरा हो, रातको समयमा गोकुललाई १०४ डिग्री ज्वरो आयो। कमलाले छोरालाई अस्पताल लैजान पल्लो कोठामा बस्ने युवक झपिन्द्रसँग सहयोग मागी। उसले आनाकानी गरेन। झपिन्द्रसँग मोटरसाइकल थियो। कमला छोरा काखमा च्यापेर झपिन्द्रको मोटरसाइकलमा अस्पताल पुगी।
मोटरसाइकलमा छोरालाई लिएर अस्पताल गएदेखि कमला र झपिन्द्रको हिमचिम बढ्दै गयो। यस्तैमा एक दिन कमलाले झपिन्द्रलाई आफ्नोमा रातको खाना खान आउन निम्तो दिई। खानपिन भयो। दुःखसुखका कुराहरू भए। हँसीमजाक पनि चल्यो। झपिन्द्र राति अबेरसम्म कमलाकै कोठामा रह्यो। अविनाश निदाइसकेको थियो। झपिन्द्रले कमलालाई बाहुपासमा कस्यो। तनको गर्मी बढ्दै जाँदा यौवनको उत्तेजक बाँध भत्कियो।
कमलाले भनी, ‘मेरो राजा!’
झपिन्द्र बोल्यो, ‘मेरी रानी !’
त्यसै बेइमान रातदेखि कमला गोपालसंग टाढिँदै अनि झपिन्द्रसँग नजिकिँदै गई। कमला र झपिन्द्रको प्रेम लैला–मजनुको जस्तो हुँदै गयो।
गोपाल दुबइ गएको पाँच वर्षपछि बल्लतल्ल नेपाल फर्किंयो। उसले हवाइजहाजबाट उत्रनासाथ कमलालाई आफू काठमाण्डु ओर्लिसकेको जानकारी दियो।
गाेपाल ट्याक्सीमा सबार भै एअरपोर्टबाट डेरामा पुग्यो तर ऊ पुग्दा कमला डेरामा थिइन। कोठाभित्र बच्चा रोइरहेको थियो। यतिकैमा उसका आँखा लिखतमाथि परे।
‘जाडोमा नपाएको ताप र वैंशमा नपाएको साथको के अर्थ। अब म तिम्री रहिन। तिम्रो छोरा तिम्रै जिम्मामा छोडेकी छु। उसको लालनपालन गरे। वाईवाई गोपाल !’ लिखत यही भन्थ्यो।
गोपालले बच्चालाई उठाएर म्वाइँ खायो। बच्चा उसको आफ्नै छोरा अविनाश थियो। ऊ चर्को स्वरमा ‘मम्मी खै.... !’ भन्दै चिच्याइरहेको थियो।
प्रकाशित: ३२ असार २०८३ १०:२० बिहीबार





