२१ असार २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

‘नमस्ते आधुनिक लघुकथा मञ्च’ ले मनायाे आठौँ वार्षिकोत्सव

‘नमस्ते आधुनिक लघुकथा मञ्च’ ले आठौँ वार्षिकोत्सव मनाएकाे छ। वार्षिक उत्सवमा दर्जनौँ साहित्यकार, स्रष्टाहरूलाई अभिनन्दन, सम्मान एवम् पुरस्कार अर्पिन गरिने सूचना सार्वजनिक गरिएकाे थियाे।

नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो आठौँ वार्षिकोत्सव विगतझैँ यस वर्ष पनि असार ९ र १० गते भव्य रूपमा मनाएकाे हाे। मञ्चले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत मञ्चको भित्तोमा कार्तिक ९ र १० गते स्रष्टाहरूबाट लघुकथाहरू आह्वान गर्नुका साथै दर्जनौँ साहित्यकार, समीक्षक, सर्जकहरूलाई अभिनन्दन, सम्मान तथा पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ।

लघुकथा अभियन्ता वसन्त अनुभवकाे अनुसार मञ्चका अनुसार 'अभिनन्दन-२०८३' का लागि लामाे समयदेखि आख्यान अनुसन्धान तथा समालाेचना एवम् साहित्यका विभिन्न विधा तथा उपविधामा साधनारत रही नेपाली साहित्यमा अतुलनीय याेगदान पुर्‍याएका वरिष्ठ साहित्यकार प्राडा कृष्णहरि बराल र प्राडा देवी नेपाललाई छनोट गरेको छ। २ स्रष्टालाई ११ हजार १ सय ११ नगद, खादा, मालासहित ताम्रपत्रको 'आख्यान अनुसन्धान तथा समालोचना पुरुष' सम्मानपत्रबाट सार्वजनिक विशिष्ट नागरिक अभिनन्दन गरिने संस्थाले जनाएको छ।

त्यस्तै वरिष्ठ साहित्यकार तथा अग्रज लघुकथा सर्जक महेश प्रसाईंलाई 'विजय स्मृति अग्रज लघुकथा- स्रष्टा सम्मान- २०८३' अर्पण गरिने जनाइएको छ।

कीर्तिशेष वरिष्ठ साहित्यकार विजय चालिसेको स्मृतिमा २०८२ सालमा स्थापित यस सम्मान पनि नगद रुपैयाँ ११ हजार १ सय ११ रकमसहित ताम्रपत्रमा सम्मानपत्र अर्पण गरिने मञ्चले जानकारी दिएको छ।

त्यस्तै मञ्चले २०८३ सालका लागि संस्थामा समर्पित रहेर वर्षभरि लघुकथा समालोचनामा योगदान पुर्‍याएका समालोचक डा. हरिप्रसाद सिलवाललाई पनि नगद ११ हजार १ सय ११ रकम, ताम्रपत्रमा सम्मानपत्र समर्पण गर्ने घोषणा गरेको छ।

साथै यस वर्षको 'हेमलता स्मृति लघुकथा सम्मान- २०८३' असम, भारत निवासी, नेपालीभाषी, पुरुष, लघुकथाका नवस्रष्टा रेवतीरमण सापकोटालाई अर्पिने निर्णय गरेको छ।

लघुकथामा कुनै कृति ननिकालिसकेका तर लघुकथा लेखनमा निरन्तर लागिपरेका ६० वर्ष उमेर नकटेका सक्रिय एक पुरुष र एक नारी गरी दुई लघुकथा स्रष्टाहरूलाई प्रदान गर्दै आएको यस सम्मान यस वर्षदेखि एकपटक नेपाली नव स्रष्टालाई र अर्कोपटक नेपालीभाषी विदेशी नवस्रष्टालाई प्रदान गरिने र हरेक २/२ वर्षमा आयोजना गरिने कार्यक्रममा अर्पिने जनाएको छ।

कीर्तिशेष लघुकथाकार हेमलता उप्रेतीको स्मृतिमा स्थापित उक्त सम्मान राशि ५ हजार ५ सय ५५ रुपैयाँ छ।

त्यस्तै यस वर्षको 'वर्ष लघुकथा स्रष्टा सम्मान-२०८३' बाट सक्रिय लघुकथा सर्जक नारायणनाथ योगी (मनोज खनाल) लाई समर्पण गरिने मञ्चले जनाएको छ।

नगद रु. ७ हजार रकम राशि रहेको यस सम्मान संस्थाले वर्षभरि आफ्नो आधिकारिक फेसबुक समूहको भित्तोमा सबैभन्दा धेरै विशुद्ध र कालजयी रचनाहरू प्रेषित गर्ने एक स्रष्टालाई अर्पिंदै आएको छ।

त्यस्तै यस वर्षको 'लघुकथालय पुरस्कार- २०८३', भारत तुहिम सिक्किमका हेमराज अधिकारीलाई प्रदान गर्ने घोषणा गरेको छ। उनलाई उत्कृष्ट लघुकथा कृति 'च्यातिएको जुत्ता' का लागि समर्पण गर्न लागिएको हो। २०८० सालमा स्थापना गरेको उक्त पुरस्कार ताम्रपत्रमा प्रमाणपत्रसहित रुपैयाँ ११ हजार १ सय ११ रकम राशि छ।

उक्त पुरस्कारका लागि मञ्चले २०८२ मा प्रकाशित लघुकथा कृतिहरू बजारबाट र कृतिकारहरूबाट सङ्कलन गरी निर्णायकबाट मूल्याङ्कन गराई उत्कृष्ट कृति छनोट गरेको थियो।

साथै 'नमस्ते झिल्का पुरस्कार- २०८३' बाट वरिष्ठ साहित्यकार नर पल्लव (नरबहादुर गुरूङ)लाई उनको सर्वोत्कृष्ट कृति 'विरुपाक्ष' का लागि समर्पण गरिने घोषणा गरिएको छ। २०८१ सालमा स्थापित उक्त पुरस्कारको राशि रुपैयाँ २२ हजार २ सय बाइस छ।

यो संस्थाद्वारा प्रकाशित लघुकथा कृतिहरूमध्ये सर्वोत्कृष्ट बन्न सफल कृतिका कृतिकारलाई दुईदुई सालमा आयोजना गरिने 'लघुकथा साहित्यिक महोत्सव' मा प्रदान गर्ने गरी स्थापित पुरस्कार भएको संस्थाले जनाएको छ।

साथै यस वर्ष 'नमस्ते गुरुकुल लघुकथा सुशोभन सम्मान-२०८३' बाट पाँच लघुकथाकारलाई समर्पण गर्ने घोषणा गरेको छ।

संस्थाद्वारा आफ्नो लघुकथा कृति प्रकाशित गराउने लघुकथाकार/कृतिकारलाई सम्मान गर्ने उद्देश्यले २०८१ मा स्थापित यस सम्मानबाट यस वर्ष सम्मानित हुनेमा नर पल्लव, बुद्धनगर, काठमाडौँ (कृति: विरूपाक्ष); रेवतीरमण सापकोटा, ओदालगडी, असम, भारत (कृति: रित्तो चुल्हो); रामबाबु घिमिरे, रत्ननगर, टाँडी, चितवन (कृति: अघोरी); खगेन्द्र बस्याल, तिलोत्तमा, रूपन्देही (कृति: अँजुली), र लक्ष्मण ज्ञवाली, तिलोत्तमा, रूपन्देही(कृति: मौन विद्रोह)रहेको मञ्चले जनाएको छ।

साथै मञ्चले यसै वर्षदेखि संस्थाद्वारा प्रकाशित लघुकथा कृतिहहरूमा सम्म्पादकको अत्यन्त जिम्मेवार भूमिकामा रहेर सर्वोत्कृष्ट एक सम्पादकलाई 'सर्वोत्कृष्ट लघुकथा सम्पादक सम्मान' समर्पण गरिने निर्णयअनुरूप 'सर्वोत्कृष्ट लघुकथा- सम्पादक सम्मान- २०८३' बाट डा. हरिप्रसाद भण्डारीलाई सम्मानित गर्ने घोषणा गरेको छ। नगद रुपैयाँ ११ हजार १ सय ११ र ताम्रपत्रमा सम्मानपत्र प्रदान गरिने मञ्चले जनाएको छ।

त्यस्तै मञ्चले मञ्चद्वारा प्रकाशित कृतिहहरूमा सम्म्पादकको भूमिकामा रहेर सर्वोत्कृष्ट हुने कृतिको सम्पादन गर्ने सम्पादकलाई सम्मानित गर्न यसै वर्ष 'सर्वोत्कृष्ट कृति-सम्पादक सम्मान' स्थापना गरेको छ। तसर्थ यस वर्षको सर्वोत्कृष्ट कृति 'विरूपाक्ष'को सम्पादन गरेवापत सम्पादक डा.शंकरप्रसाद गैरेलाई सम्मान स्वरूप ११ हजार १ सय ११ नगद राशि र ताम्रपत्रमा सम्मान-पत्रसहित 'उत्कृष्ट लघुकथा- सम्पादक सम्मान-२०८३', समर्पण गरिने जनाएको छ।

साथै यसै वर्षदेखि मञ्चले संस्थाद्वारा प्रकाशित कृतिहरूको सम्पादनमा उत्कृष्ट ठहरिएका सम्पादकहरू प्राडा कपिल लामिछाने (भैरहवा, रूपन्देही ), डा. शंकरप्रसाद गैरे (कैलाशनगर, पाल्पा), डा. हरिप्रसाद सिलवाल (घट्टेकुलो, काठमाडौँ) र लक्ष्मण अर्याल (रत्ननगर, टाँडी, चितवन)लाई 'उत्कृष्ट लघुकथा- सम्पादक सम्मान-२०८३' समर्पण गरिने जनाएको छ।

विगतमाझैँ नेपाली गीत, संगीत, गायन, कलाको क्षेत्रमा विशिष्ट योगदान दिने महानुभावहरूलाई कदरस्वरूप सम्मान गर्ने कार्यलाई निरन्तर दिँदै नेपाली लोक, आधुनिक, चलचित्रका गीत गायनमा सुमधुर एवं उत्कृष्ट स्वरका माध्यमले नेपाली सङ्गीतमा दिएको विशिष्ट योगदान दिएवापत कदरस्वरूप वरिष्ठ गायिका कुन्ती मोक्तानलाई नगद ११ हजार १ सय ११ राशि र ताम्रपत्रमा सम्मान पत्रसहित 'विशिष्ट सङ्गीतश्री सम्मान- २०८३' समर्पण गर्ने घोषणा गरेको छ।

मञ्चले उक्त जति पनि अभिनन्दन, सम्मान तथा पुरस्कारहरू आउँदाे कात्तिकमा राप्ती नपा चितवनमा आयोजना गरिने 'दोस्रो लघुकथा साहित्यिक महोत्सव-२०८३' मा समर्पण गरिने पनि जानकारी दिएको छ।

प्रकाशित: १४ असार २०८३ १०:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App