ट्वाकेन्द्र लड्खडाउँदै स्कुलको कोठाभित्र मान्छेहरू भेला भएको ठाउँमा गयो। हुन त उसको नाम तेन्जिङ हो। तैपनि धेरै रक्सी पिउने कारण उसलाई सबैले ट्वाकेन्द्र भनेर चिन्दथे। सेर्पा परिवारमा जन्मिएको उसको घर सोलुखुम्बुमा थियो। पन्ध्र वर्षको उमेरदेखि ऊ यहीँ काठमाडौँमा हाते गलैँचाको काम गरेर जीवन गुजारिरहेको थियो। यो काम उसले तिब्बेतियन मालिकको सदासयताले पाएको थियो। ऊ तीस बत्तीस वर्ष मात्रै हुँदा पनि धेरै ट्वाक लाउनुपर्ने कारण ऊ बुढोजस्तै चाउरिएको थियो तर रक्सी पिए पनि ऊ बाटोमै लम्पसार पर्ने स्थितिमा हुन्थेन। सीमाभन्दा बढीचाहिँ हुन्थ्यो।
ढलपल गर्नगर्न लागेजस्तो गरी आएको उसलाई देखेर कक्षा कोठाको बेन्चमा लहरै बसेका सबैको ध्यान ऊतिरै खिचियो। लामो सेतो कुर्ता पहिरिएका अग्रज साहित्यकार भने सेतो पाटीमुनि साधकहरूतिर फर्किएर मेचमाथि बसी केही बोल्दै थिए। अचानक उसको हलचलले एकछिन आफ्नो मन्तव्यमा कमा लगाए। उनी अर्ध शतक जति उमेरका भए पनि नियमित गरिने योग–ध्यान तथा सकारात्मक सोचका कारण तरुण देखिन्थे। बीसदेखि पैँतीस उमेर समूहका आठ दस जना नर र नारी ती अग्रजका पिछलग्गू थिए। आठ दस जनाले देशको सबै जात र प्रदेशको प्रतिनिधित्व हुन्थ्यो। उनीहरूले घरि अग्रज गुरुलाई त घरि तेन्जिङलाई दृष्टि पुर्याउन थाले। केही क्षणमै तेन्जिङ मौन भएर सबैभन्दा पछाडि बसेकोदेखि गुरुले प्रवचनलाई निरन्तरता दिन थाले।
“अठारै पुराणका धेरै कुरा मैले तिमीहरूलाई बताइसकेँ। अब आज ‘आधुनिक माधवी’को विषयमा केही विचार पस्किने छु। पौराणिक ‘माधवी’ त तिमीहरूलाई थाहै होला। ती अप्सराकी पुत्री माधवीको सधैँ कौमार्य रहन सक्ने विषयवस्तुमा केही विद्वानहरूले लेखेका छन्; पुराणमा कतै लेखिएको मूल कथावस्तुमा अलिअलि जोड घटाउ गरेर।
यसरी लेख्दा पनि ती विद्वानहरू ठूला लेखक भनेर चिनिए। यो आधुनिक लेखकको लेखनी कला भन्दा पनि पौराणिक साहित्यको शक्ति हो। पुराणलाई जीवितै राख्न मद्दत गर्नेलाई सम्मान हो। यहाँ तिमीहरूमध्ये कतिलाई पौराणिक माधवीको विषयमा थाहै होला। जोसँग बच्चा जन्माएर पनि कुमारीत्व फर्कने वरदान छ।” यति भन्दै गुरुले चेलाहरूतर्फ नजर दिदैँ बोलीबाट विश्राम लिए।
शास्त्रीय साहित्यदेखि आधुनिक साहित्यसम्म सबैको अध्ययन गर्न भ्याउने अग्रजका कुरा सुनेर केहीले टाउको हल्लाए, केहीले मुखामुख गरे। उनका शिष्यहरू पनि पढेलेखेका थिए। वौद्घिक सम्मोहनले नै उनीहरूलाई एउटै थलोमा उभ्याइरहेको थियो। ती शिष्यमध्ये कसैको मुखबाट पनि आवाज ननिस्किएकोले तेन्जिङले लरबराउँदै बोल्यो - “माधवीजस्तै मेरी बूढी भइदिए त हुन्थ्यो नि! सबै केटी त्यस्तै भएदेखि यौन अपराध हुन्थेन होला।”
ऊ सेर्पा भए पनि रैथानेसँग लामो उठबसका कारण उसको लवज सेर्पाजस्तै सुनिन्नथ्यो तर व्याकरण लगभग शुद्घ हुन्थ्यो। उसको आवाज सुनिनसक्दै एकैपटक सबै जनाले ऊतिर फर्किएर छक्कै परी हेरे। श्वास फेर्दा पनि जाँड गन्हाउने मान्छेले कार्यक्रम बिथोल्न खोजेकोजस्तो सोचे। तैपनि सबै जना मौन बसेको देखेर ऊ पुनः लरबराउन थाल्यो -“हुन त, मैले तपाईहरूले जस्तो पढेको छैन। तैपनि यस्तै स्कुलको कोठामा माधवीको चर्चा सुनेदेखि म विचलित भएको छु। त्यस्ती केटी कहाँ पाइएला भनी खोज्दै हिँडेको छु। माधवीजस्ती कुमारीत्व नजाने केटी पाए कति मजा आउँथ्यो। कसो?”
यसो भन्दै उसले चेलो सुवासलाई दृष्टि फ्याँक्यो। सुवासले उसैलाई प्रश्न गरेको ठान्यो। के बोल्ने के नबोल्ने अर्धचेतन भावमा उसले जवाफ दियो- “त्यस्ती केटी सपनामा र कथामा बाहेक लोकमा पाइँदैन। कल्पनाको कुरो यथार्थमा कहाँ मिल्छ र?”
“कुरो के भने हामीले जे भन्छाैं त्यो गर्न सक्नुपर्छ। नत्र यत्रो मान्छेको टाइम बरवाद गरेर के फाइदा? होइन? कस्तो लाग्यो मेरो कुरो?”
तेन्जिङको कुरो सुनेपछि सुवासलाई कताकता रिस उठ्न थाल्यो। उसको दिमागमा यस्तो आयो कि “कोही जड्याहा कार्यक्रम बिथोल्दै छ।” केही कडा भई ऊ बोल्यो –“तपाईले भन्न खोजेको के हो? व्यावहारिक भए पनि नभए पनि के हुन्छ?”
सुवासको ठूलो आवाजले तेन्जिङ अलि हच्किदै भन्न थाल्यो, “आज माधवी कोही हुनै सक्दैन। पहिला पनि यो काल्पनिक कुरा हो। लौ कोही माधवी हुन सक्छ भने म भनेजति पैसा दिएर पत्नी बनाउँछु।”
“किन हुन सक्दैन?” अर्पणाले प्रश्न गरी।
“ल बहिनी, हई म तपाईँलाई सम्मान गर्छु। हेर्दा त तपाईँको बच्चा छ जस्तो लाग्छ। छ कि छैन?”
“एउटा छोरो छ।”
“हो। अब मैले भनिरनै परेन नि। स्त्रीको कुमारीत्व, बोलेको बोली र चलेको गोली एकपल्ट निस्केपछि फर्किएर आउँदैन। हो कि होइन ?”
हो वा होइन भन्ने जवाफलाई तेन्जिङले कुरिरहेन। ऊ आफैँ बोल्न थाल्यो - “माधवीले बच्चा पाइसकेपछि पनि कुमारीत्व पाइरहन्छे। त्यही भएर त उसलाई तीन जना राजाहरूले पालैपालो बिहे गर्दै एउटा छोरा पाइदिएवापत दुई सय श्यामकर्ण दिन्छन्। त्यति बेलाको संसारमा जम्मा छ सय श्यामकर्ण घोडा थिए। विश्वामित्रले जानीजानी आठ सय घोडा माग्यो। छ सय त माधवीले दिई। त्यसपछि नभएको घोडा काँबाट ल्याउने? त्यसपछि लु अब मलाई नै घोडा चढ भनेर ऊ समर्पित भई। विश्वामित्रले पनि सधैँ ताजा हुने केटी पाएपछि स्वीकार्यो। नत्र तीनतीनवटा बच्चाकी आमालाई कसले पो बे गर्छ र? होइन?
ल बहिनी, तपाईँलाई कस्तो लाग्यो यो कुरा? चित्त बुझ्छ? चित्त बुझ्दैन भने यो एक्काइसौँ शताब्दीमा; पौराणिक कालभन्दा ठूलो वैज्ञानिक युगमा त्यस्ती केटी देखाइदिनोस् म भनेजति दिन्छु ल।”
“माधवी त अप्सराकी छोरी हो नि। उसले त सधैँ कुमारी हुने वरदान पाएकी थिई। तपाई मदिरा पिएर जे पायो तेही नबोल्नोस्।” सभामा उपस्थितमध्ये अर्की पात्र निशाले कड्किएर भनी।
“हो मैले रक्सी पिएको छु। पिएकोलाई पिएको भन्न के को लाज ! तर दिदी तपाईँलाई था छ? कतैकतै रक्सीलाई अमृतपान भनिएको छ पुराणमा। माधवी लेखिने पुराणमा। तरुनीको अधरपानलाई पनि अमृत पान भन्दछन्। माछाको मासुलाई पनि। त्यसैले मैले रक्सी खानु र तरुनीलाई हेर्नु गल्ती हो त? गल्ती होइन नि। होइन र? हो कि होइन?”
आफू मौन भएको बेलामा उसले पुनः प्रश्न गरेपछि निशालाई बोल्न करै लाग्यो –“हो त्यो त मानेँ मैले। ल माधवीको बारेमा खरर्र भन्नु त केके जानेको रेछ बुझूँ म पनि।”
उनको आग्रहपछि उसले सम्हालिएर बोल्ने प्रयास गर्यो- “खरर्र त मलाई आउँदैन। भको कुरा भन्नुपर्छ तर त्यो माधवीजस्ती आइमाई संसारमै थिएन, छैन र हुने छैन ल। छ भने म करोडौँ मूल्य तिर्न तयार छु। मलाई त यो माधवीको कथा अरूले चर्चा गरेको सुन्दा कहिले आनन्द आयो; अनि कहिले रिस उठ्यो।”
“केमा आनन्द आयो? आनन्द आको कुरा सुनाउनु त पहिला !” निशाको पुनः आग्रह आएपछि बोल्यो। “आनन्द त… हि हि हि! हई यो कथा सुन्दा सेक्स उत्तेजना आयो। हि हि हि !”
ङिच्च पहेँला दाँत देखाउँदै उसले प्रसङ्ग सुरु गर्यो। “जव गालव उसको साथी सुपर्ण नागजेयको घर जान्छ ‘साथी गर’ भन्नलाई। त्याँ रात पर्छ। त्यसपछि साथीले आफ्नै जहान ‘जवा’ लाई गालवसँग सुत्न पठाउँछ तर सोझो गालवले केही नगरी पठाउँछ तर राती तीन पल्ट रेत स्खलन गरेछ। हाहाहा (एकपल्ट थपडी मार्दैं)! म भए त त्यहाँ यस्तो मोज हुन्थ्यो कि ! सि…।” उसले अन्तिम शब्दभित्र लामो सास लिदैँ बोल्यो। उसको अभिनयमय अनुहारलाई सबैले उत्सुक भएर हेरे। उसले रमाई रमाई बोल्न थाल्यो –“अनि हरेक राजा, ठूला मान्छेहरू राति मान्छेको खेती गर्न लाग्दा भएभरका गाउँका मान्छे, चण्डाल, गुरुहरू भेला भएर राम्रो गर्भ बसोस् भन्दै प्रार्थना गर्दछन्। हाहाहा। आफूलाई मोबाइलमा ब्लु फिल्म हेर्दा त खपिसक्नु हुदैँन। त्यत्रो मान्छेहरूले कसरी सह्यो होला ! हा हा हा। अनि बाहिर मान्छेले हेरिरहेको छ भन्ने था’ पाउँदापाउँदै पशुले जसरी कसरी मान्छेले सम्भोग गर्यो होला?
अनि वनायु जनपदमा कस्तो मोज भनी के र ! मान्छेले छानीछानी केटाले केटी, केटीले केटा रोज्न पाउँछ। समितिले मिलाउँछ। अनि बच्चा जन्म्यो भने नि तनाब छैन। समितिले पाल्छ। क्या मोज यार त्याँ त ! यस्तो संसार कहाँ छ होला? पाए त म त्यहीँ जान्थेँ। अनि काहीँ त जुम्ल्या दिदीले आफ्नै भाइलाई सम्पर्कको लागि कर गर्छे। थुक्क!”
“ल मोजको कुरा पुग्यो। अब रिस केमा उठ्यो? त्यो भनेर तपाईँ जान सक्नुहुन्छ।” निशाले पुनः ठूलो स्वरमा बोलिन्। उनको बोली हावामा विलीन हुन नपाउँदै ऊ बोल्यो –“रिस उठ्यो नि। यो माधवी नामको कथामा बाहुनवाद हावी छ भनेर जनजातिको नेताले बोल्दैथ्यो। बाहुनले जे गरे नि हुने तर अरूले सानो गल्ती गरे पनि ठूलो सजायँ पाउँछ। माधवीले दलित आइमाइकी बच्चालाई काखबाट खोसेर आगोमा फालेर मार्दिन्छे। दलितले बाउनको गर्भ बोक्यो भने मुक्ति मिल्छ भनेर त्यस्तो गर्नलाई उक्साउँछ। भल्लाक्ष भन्ने दासले आफ्नै स्वास्नी गिरिकालाई गर्भ बोकाइदेऊ भनी गालवलाई भन्छ। त्यति गर्यो भने दासले दासत्वबाट मुक्ति पाउँछ रे। यस्तो नि हुन्छ? अझ महिलाको त खुला किनबेच गर्छ पुरुषले । दाउमा राख्छ। महिलालाई त्यसरी हेप्न पाउँछ ? दलितलाई जे मन लाग्यो त्यही गर्न पाउँछ? अनि रिस उठ्दैन?”
उसको कुरा सुनेर दुवै नारी मौन हुन्छन्। एक छिन शून्यता छाउँछ। त्यसलाई चिर्दै अर्का पुरुष नवीन भन्दछ – “तेत् त्यो त पुरानो कुरा हो। पुरानो काल्पनिक कुरो हो। जसरी तपाईँले भनेजस्तै माधवीजस्ती सधैँ कुमारीत्व रहन सक्ने आइमाई हुँदैन; ठीक त्यसै गरी इतिहाँसमा कतै पनि मान्छेलाई खुलमखुल्ला बलि दिइएको छैन र कसैले पनि महापुरुषको यौनदास भएमा मुक्ति मिल्छ भन्ने कल्पना गरेका छैनन्। यस्तो अमिल्दो कुरोलाई लिएर नि दलित अधिकारको कुरा झिक्न हुन्छ ? धत्!”
“साहित्य मात्रै होइन। त्यो त धर्मसँग पनि जोडिएको छ। त्यस्तो जे पायो त्यही भन्नु हुन्न। पाप लाग्छ।” निशाले दन्किन खोजेको आगोमा पानी हाल्न खोजी।
“त्यही भएर मान्छे हिन्दू धर्म त्यागेर क्रिश्चियनतिर लाग्छ नि। अनि मान्छेको बलि दिएको छैन भन्नुभयो, त्यसो भए नरदेवीमा के को बलि दिन्थ्यो?” तेन्जिङले लामो स्वर गरेर बोल्यो।
“यस्तो कुरा नगरे हुन्छ भाइ। कमजोरी नभएको कुनै पनि धर्म छैन। जहाँ देउताको वर्णन हुन्छ; त्यहाँ राक्षसको चर्चा हुन्छ। मात लाग्ने पेय पदार्थ सेवन गर्ने जति राक्षस मानिएका छन्। तामसिक कुरो नरुचाउने राक्षस कुनै पनि धर्ममा छैन। राक्षस भन्नासाथ दलितको कुरो गर्यो भन्ने हो भने तिम्रो बाइबलले पनि तिमीहरूको उछित्तो काढेको छ। फरक यत्ति छ बाइबलको बढाइचढाइ गर्ने नेता तिम्रो समुदायमा छ, गीताको खैरो खन्दा नि चुक्क नबोल्ने पाखण्डी हामीसँग छन्।” अघिदेखि मौन बसेका वरिष्ठ साधक श्याम बोले।
हुरीबतास आएर वितण्डा मच्चाउन लागेकोजस्तो अवस्थालाई शान्त पार्न खोज्दै अघिदेखि मौन बसेका गुरु बोल्न थालेः –“भाइ तेन्जिङको कुरा एक दृष्टिले ठीकै हो। जस्तो मान्छे उस्तै दृष्टि भन्ने पनि भनाइ छ। अनि चन्द्रमालाई सोह्र कलाको दृष्टिले हेरिनुपर्छ। पूर्णिमाको जूनलाई मात्रै हेरेर वर्णन गर्ने हो भने त्यो अपूर्ण हुन्छ। अझ कैलेकाँही त ग्रहण पनि लाग्छ; त्यसलाई आँखा चिम्म गरेर वर्णन गर्ने हो भने त सबै निर्दोष पाठकहरूलाई अन्याय पर्छ।”
गुरुले यसो भन्दै गर्दा सबै चेलाहरूले ध्यानपूर्वक उनलाई हेर्दै सुनिरहे। तेन्जिङ भने “होहो” भनी टाउकोले इसारा गर्दै केही बोलुँलाजस्तो गर्दै थियो। गुरुले कसैलाई मौकै नदिई बोलिरहे।
“गुण दोष केलाएर राम्रोसँग व्याख्या गरिनुपर्छ। न कि मान्छे, पद र प्रतिष्ठा हेरी। यो जड्याहा भाइले भनेको कुरा चन्द्रमालाई ग्रहण लागे जत्तिकै साँचो छ। पौराणिक माधवीको कालो पक्षलाई विद्वानहरूले देखाउन चाहेनन्। राम्रो पक्षकै बढी चर्चा गरे। वेदव्यासको कृतिलाई पूर्णेको जूनले नुहाइरहे। कहिल्यै पनि औँसीको छायासम्म पर्न दिएनन्। जस्तो छ त्यस्तै देखाइदेको भे; कुरै खत्तम नि।
माधवीले त्यति बेलाको समाजको दर्शन गराउँछ। राजनीति, अर्थव्यवस्था, मानव जीवनलाई बुझाउँछ। विश्वामित्रको दासत्व मोचन चाहनालाई बुझाउँछ। अनि पहिलापहिला पाहुनालाई देवता मानिन्थ्यो। उसलाई खुसी पार्न जेसुकै त्याग गरिन्थ्यो। आज पनि बिहे मण्डपमै बेहुलाले बेहुलीलाई बोक्न, उचाल्न लगाएर यौन क्रियाको झल्को दिइएको हुन्छ। यसमा यौन छ भनेर भन्नुपर्छजस्तो मलाई लाग्दैन तर सबैको बुझाइ आआफ्नै हुन्छ। यसमा मेरो भन्नु केही छैन तर सत्य के हो भने पौराणिकै भए पनि माधवीजस्तो शसक्त विषयवस्तु नेपाली होस् या भारतीय साहित्यले होस्; पाएकै छैन।”
गुरुको कुरा अझै सकिएको थिएन। तेन्जिङले बीचमै प्वाक्क बोलिहाल्यो। “यस्तो बेकारको कुरा गरेर समय बरबाद नर्पानुस् बाजे। म एउटा कुरा भन्छु। मलाई माधवीलेजस्तो छोरो पाउनु छैन। ल यहाँ कसैले एकरात मलाई दिन्छ भने म तीन हजार दिन्छु। हुन्छ ?”
“ला, हुन्छ। गधा, कुकुर जे मुखमा आयो त्यही बोल्दो रहेछ।” सरासर ऊ बसेको ठाउँमा पुगेर गुरुले एक चड्कन बन्नाएर हान्नासाथ तेन्जिङ बेन्चमै ढल्यो। रातोरातो गाला बनाउँदै उनले अरूलाई हेरे। अरूको पनि हताश मनस्थिति देखेर उनी जङ्गिदै बोले।
“पाखण्डी हामीले यहाँ आधुनिक माधवीको विषयमा चर्चा गर्न आट्दै थियौँ। तँ सत्य युगको कुरा गरेर अलमल्याउँछस्? आधुनिक माधवी पहिलेजस्तो कमजोर हुन्न। ऊ पुरुषसँग बदला लिन आफू मालिक बन्छे र गालवजस्तालाई दास बनाउँछे। त्यो पुरानो दास होइन; आधुनिक दास। पढेलेखेको दास। जो माधवीको पिए बन्छ। ऊ आफ्नो हक डटेर लिन्छे; जसले जे भन्यो त्यो गर्दिन।
साथीहरू, अब आधुनिक माधवीको विषयमा लेख्दाखेरि आजको घटनालाई पनि ख्याल गर्नू। एक पक्षीय नभएर बहु पक्षीय अबधारणामा लेख्नू। आजलाई यत्ति।”
यति भन्नासाथ गुरु फटाफट बाहिरिए। सहभागीहरू पनि अमिलो अनुहार बनाएर निस्किए। तेन्जिङको शिर भने अझै घोप्टिरहेको थियो बेन्चमाथि।
प्रकाशित: १९ वैशाख २०८३ ११:२१ शनिबार





