११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

‘मितज्यू’ : जमेका पात्र, अल्झिएको कथा

चलचित्र

नेपाली समाजमा एउटा मौलिक मान्यता छ, यदि दुई व्यक्ति वा बालबालिकाबीच आपसी झगडा र वैमनस्यता निकै बढ्यो भने उनीहरूलाई मित लगाइदिएर सम्बन्ध सुधार्ने गरिन्छ।

यही सामाजिक र सांस्कृतिक पृष्ठभूमिमा आधारित रहेर तयार पारिएको चलचित्र ‘मितज्यू’ हाल देशका विभिन्न हलहरूमा प्रदर्शन भइरहेको छ।

निर्देशक अनिल बुढामगरले ग्रामीण परिवेशको व्यावसायिक प्रतिद्वन्द्वीता र मित्रताको गहिराइलाई पर्दामार्फत प्रस्तुत गर्ने प्रयास गरेका छन्।

यद्यपि, चलचित्रको कथा र अभिनय जति सशक्त लाग्छ, यसको पटकथा र प्रस्तुतिमा भने कैयौँ प्राविधिक कमजोरीहरू खड्किएका छन्।

चलचित्रको कथा मुख्य पात्र जयराम (सौगात मल्ल) र आत्माराम (दयाहाङ राई) को वरपर घुमेको छ। वि.सं. २०७४ को समय र भौगोलिक परिवेशलाई आधार मानिएको कथामा यी दुई पात्र व्यावसायिक प्रतिद्वन्द्वीका रूपमा देखिएका छन्।

गाउँबाट बजार जाने बाटोमा यात्रुहरूलाई आफ्नो गाडीमा हाल्न र पालो मिच्न उनीहरूबीच हुने प्रतिस्पर्धा नै चलचित्रको प्रस्थानबिन्दु हो। दिनहुँको लडाइँ र सानो कुरामा पनि उग्र बन्ने यी दुईको स्वभावले गाउँले र स्वयं उनीहरूका परिवारलाई समेत हैरान बनाएको हुन्छ।

जयराम र आत्मारामको द्वन्द्वमा कतै न कतै स्थानीय राजनीति र राजनीतिक दलका कार्यकर्ताहरूको स्वार्थ समेत जोडिएको देखाइएको छ।

दुई व्यक्तिको रिसलाई भजाएर आफ्नो राजनीतिक दुनो सोझ्याउन खोज्ने प्रवृत्तिलाई निर्देशकले सूक्ष्म ढङ्गले प्रस्तुत गरेका छन्। अन्ततः यी दुईबीचको झगडालाई सदाका लागि अन्त्य गर्न र गाउँमा शान्ति कायम गर्न समाजका अगुवाहरूले उनीहरूलाई ‘मित’ लगाइदिने निर्णय गर्छन्।

आत्मारामका लागि आफ्नो जिप आफ्नो प्राणभन्दा प्यारो छ। गाउँबाट बजार र बजारबाट गाउँसम्म यात्रु र सामान ओसारपसार गरेरै उनको गुजारा चलेको छ। मध्यम वर्गीय परिवारको आर्थिक पीडालाई यस चलचित्रले जीवन्त रूपमा उठाएको छ।

जिपको ऋण तिर्न बाँकी हुनु र बैंकको किस्ता तिर्न उनले गरेको अनेकौँ सङ्घर्षले आम दर्शकको मन छुन्छ। खास गरी बैंक म्यानेजरलाई रिझाउन र समय थप्नका लागि उनले आफ्नो घरबाट कोसेलीका रूपमा सामान लैजानु जस्ता सामान्य लाग्ने दृश्यहरूले नेपालको मध्यम वर्ग कति असहाय र बाध्य छ भन्ने यथार्थलाई ‘रिलेट’ गराउँछ।

बैंकको दबाब, व्यावसायिक घाटा र घरपरिवारप्रतिको उत्तरदायित्वबीच पिल्सिएको आत्मारामको चरित्रमा दयाहाङ राईले न्याय गरेका छन्।

तर, बलियो अभिनय र सामाजिक सन्दर्भका बाबजुद चलचित्रको मुख्य समस्या यसको पटकथामा देखिएको छ। एउटै चलचित्रभित्र धेरै वटा कथाहरूलाई जोड्न खोज्दा कतिपय ठाउँमा विषयवस्तु ‘गाजाङगुजुङ’ महसुस हुन्छ।

चलचित्रमा प्रस्तुत गरिएका धेरै उपकथाहरूले आफ्नो पूर्णता पाउन सकेका छैनन्। कथा कहाँबाट सुरु भयो र कुन बिन्दुमा पुगेर टुङ्गियो भन्ने ठम्याउन दर्शकलाई कठिन हुन्छ।

उदाहरणका लागि, आत्मारामको एक साथीको मृत्युपछि उनकी श्रीमती र चार महिनाकी छोरी आत्मारामसँग बस्न थाल्छन्। तर, ती महिला सुत्केरी अवस्थाकै बीच एकाएक जातीय विभेदविरुद्धको आन्दोलनमा कसरी होमिइन् भन्ने कुराको ठोस आधार कथाले दिएको छैन।

पछि ती पात्र छोरी लिएर किन घर छाडेर गइन् र वर्षौँपछि भेटिँदा उनी कुन रोगले थलिएकी थिइन् भन्ने पक्ष निकै अस्पष्ट छ। यस्ता अधुरा र हचुवाका दृश्यहरूले चलचित्रको संवेगात्मक प्रवाहलाई पटक-पटक खलबल्याएको छ।

अभिनयको पक्षमा कुरा गर्दा, रियालिटी शोमार्फत चर्चामा आएकी टेरिया फौजा मगरले यसै चलचित्रबाट अभिनयमा पाइला टेकेकी हुन्। डेब्यु कलाकारका रूपमा टेरियाको काम प्रशंसनीय छ।

उनी आत्माराम र जयरामबीचको एउटा महत्त्वपूर्ण कडीका रूपमा देखिएकी छन्। उनको चरित्रमा अनेकौँ रहर र सपनाहरू भए पनि विवाहको वर्षौँसम्म ती पूरा नहुँदाको पीडा देखाइएको छ।

कथाले उनलाई कमजोर र असहाय पात्रका रूपमा देखाएको छ। एकातिर उनी आफ्नो मानसिक तनाव कम गर्न मादक पदार्थको सहारा लिन्छिन्। अर्कोतर्फ, सौगात मल्लको पात्र केवल एक प्रतिद्वन्द्वीका रूपमा मात्र सीमित देखिन्छ। यस खण्डमा अझ बढी गहिराइ र विकासको आवश्यकता महसुस हुन्छ।

दयाहाङ राई र सौगात मल्ल जस्ता दिग्गज कलाकारहरूको स्वाभाविक अभिनयले नै चलचित्रलाई हेर्न लायक बनाएको छ।

मगर समुदायको परिवेश र सुन्दर दृश्यहरूको छायाङ्कन चलचित्रको सबल पक्ष हो। शिशिर विशंखेलको छायाङ्कनले गाउँको मौलिकतालाई राम्रोसँग कैद गरेको छ।

यद्यपि, सम्पादनमा भने केही कमजोरीहरू छन्। कतिपय दृश्यहरू अनावश्यक रूपमा लामो बनाइएको महशुस हुन्छ। चाहे त्यो गाडी चलाइरहेका दृश्यहरू होस्, अथवा आत्मारामको भाइको उपकथा। यी दृश्यले दर्शकका लागि ‘झ्याउँ लाग्दो’ बन्न सक्छन्।

चलचित्रको साउन्ड डिजाइन नवीन श्रेष्ठ र सङ्गीत श्रीकृष्ण बम मल्लले सम्हालेका छन्। ग्रामीण वातावरणलाई साङ्गीतले राम्रै साथ दिएको छ।

समग्रमा, ‘मितज्यू’ एउटा इमानदार प्रयास हुँदाहुँदै पनि उत्कृष्ट सिनेमा बन्नबाट चुकेको छ। पटकथाको फितलोपन र संवादात्मक अस्पष्टताले गर्दा यसले दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँध्न सफल हुँदैन।

यद्यपि, यदि तपाईं दयाहाङ राई र सौगात मल्लको अभिनयको पारखी हुनुहुन्छ र टेरिया फौजा मगरको डेब्यु अभिनय हेर्न चाहनुहुन्छ भने यो चलचित्र एक पटक हेर्न सकिन्छ।

जनक घर्ती मगरको निर्माणमा तयार भएको यस चलचित्रमा खड्गबहादुर पुनमगर, शिशिर वाङ्देल, पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

ग्रामीण परिवेशको कथा रुचाउने दर्शकका लागि ‘मितज्यू’ एउटा फरक अनुभव हुन सक्छ, तर उत्कृष्ट पटकथा र चुस्त सम्पादनको अपेक्षा राख्नेहरूका लागि भने यसले केही खल्लोपन महसुस गराउन सक्छ।

प्रकाशित: ११ जेष्ठ २०८३ २०:१७ सोमबार