करिब ८ वर्षपछि निर्देशक ऋषि लामिछाने नयाँ सिनेमा ‘माग्ने राजा’ मार्फत फर्किएका छन्। सन् २००५ मा सिनेमा ‘कहिँ मिलन कहिँ विछोड’बाट निर्देशनमा पाइला टेकेका लामिछानेले यो बीचमा आधा दर्जनभन्दा बढी सिनेमा निर्देशन गरिसकेका छन्।
लामिछाने अहिले आफ्नो १० औँ सिनेमा ‘माग्ने राजा’ लिएर दर्शकमाझ आएका छन्। यो सिनेमा आज भदौ ६ गतेदेखि प्रदर्शनमा आएको छ।
यसै सन्दर्भमा निर्देशक लामिछानेले 'माग्ने राजा' आफ्नो लागि नयाँ जन्मजस्तै भएको बताएका छन्। आज सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई पहिलो फिल्म बनाएको दिनजस्तै धड्कन छातीमा चलेको बताएका छन्।
उनले भनेका छन्, '८ वर्षपछि मैले फेरि एउटा सपना पर्दामा उतारेँ। यी वर्षहरूमा मैले धेरै चलचित्र र सिरियल बनाएँ, तपाईंहरूको माया पाएँ, तर 'माग्ने राजा' मेरो लागि नयाँ जन्मजस्तै भएको छ। आज मलाई पहिलो फिल्म बनाएको दिनजस्तै धड्कन छातीमा चलेको छ।'
उनी अगाडि लेख्छन्, 'यो यात्रा सजिलो थिएन। कहिले आँसुले अक्षर बगायो, कहिले असफलताले पाइलाहरू रोके, तर विश्वास कहिल्यै मरेन। मैले मेरो परीक्षा दिइसकेको छु, अब रिजल्ट तपाईंहरूको हातमा छ।'
आफूलाई सहयोग गर्ने बेला आएको बताउँदै लामिछानेले फिल्म हेरेर आफ्नो अमूल्य प्रतिक्रिया दिन आग्रह समेत गरेका छन्।
सिनेमामा केदार घिमिरे मुख्य भूमिकामा छन्। उनीसँगै विल्सन विक्रम राई, वर्षा शिवाकोटी, शिशिर वाङ्देल, शारदा गिरी, पवित्रा साँकी (मिस पबी) लगायतका कलाकारहरूको सिनेमामा मुख्य भूमिका रहेको छ।
सोसल ड्रामामा आधारित सिनेमाको कथा, पटकथा तथा संवाद सामीप्य राज तिमल्सिनाले लेखेका हुन्। ‘माग्ने राजा’ आरम्भ प्रोडक्सन ब्यानरमा निर्माण भएको सिनेमा हो। मुनाल घिमिरे र मधुसुदन शर्मा सिनेमाका निर्माता हुन्।
सिनेमाको छायांकन नरेन्द्र मैनालीले गरेका छन् भने संगीत दीपक शर्मा र बाबुल गिरीले तयार पारेका छन्। सम्पादन मित्र गुरुङले गरेका छन् भने पार्श्र्व संगीतमा सुजिल कर्माचार्य रहेका छन्।
प्रकाशित: ६ भाद्र २०८२ ०८:४२ शुक्रबार





