गायक यम बरालद्वारा स्वरबद्ध ३ गीत सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘यो साँझ फेरि’, ‘जुन र सुनको’ र ‘टेण्डर माया’ सार्वजनिक गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ष्ठ, विशिष्ठ अतिथि वरिष्ठ संगीतकार तथा प्राध्यापक दिपक जंगम, चर्चित निर्देशक तथा कलाकार दिपाश्री निरौला, पत्रकार ऋषि धमला लगायतले गीत तथा भिडियो सार्वजनिक गरेका हुन्।
सार्वजनिक गीतमध्ये ‘यो साँझ फेरि’ मा राखी गौचनको शब्द र शंकर थापा ‘स्माइल’ को संगीत छ। गीतको भिडियोमा केशवराज भट्टको निर्देशक, अमन बडुको छायांकन, राकेश दाहालको सम्पादन र जुना कार्की र गायक बरालको अभिनय छ।
यस्तै दोस्रो गीत ‘जुन र सुनको’ मा सञ्जय बरालको शब्द र विकास चौधरीको संगीत छ। गीतकार बरालले नै गीतको भिडियो निर्देशन गरेका हुन्।
गायक बराल, श्री थपलिया, सुरेन पौडेल र नारायण प्रधान सैजुको अभिनय छ। भिडियोमा विक्रम डिसीको छायांकन र विकास धमलाको सम्पादन छ।
यस्तै तेस्रो गीत ‘टेण्डर माया’ मा पनि सञ्जय बरालकै शब्द र विकास चौधरीको संगीत छ। नितिन चन्दले निर्देशन गरेको भिडियोमा सन्दिपा गौतम, नविन महतरा क्षेत्री, रशिला श्रेष्ठ र गायक बरालकाे पनि अभिनय छ। नमित चन्द ठकुरी एसोसियट निर्देशक रहेको भिडियोमा मनोज केसीको छायांकन र शुकुन तिमल्सिनाको सम्पादन छ।
गायक बरालले कार्यक्रमकाे सम्बोधन गदै लामो समयपछि आफू मूलधारको संगीतमा फर्किएको बताएका छन्। ३५ वर्षदेखि संगीतमा सक्रिय गायक बरालले आफू फण्डामा भन्दा साधनामा रम्न चाहने गायक भएको बताए।
आफूले जानेको भनेकै संगीत मात्र भएकाले संगीतकर्ममै सक्रिय रहिरहेको उनको भनाइ छ। गायक बरालले आफूलाई विश्वास गरेर उत्कृष्ट सिर्जनाका लागि सहकार्य गरेको भन्दै सार्वजनिक गीतका सर्जकहरूप्रति आभार पनि व्यक्त गरेका छन्।
यस्तै संगीतकार शंकर थापा ‘स्माइल’ ले गायक बरालको गायकीको प्रशंसा गरेका थिए। थुप्रै सफल गीतमा संगीत दिएका संगीतकार थापाले बरालको स्वरमा संगीत माधुर्य पाइने बताए। ‘यो साँझ फेरि’ काे कुरा गर्दै उनले गायक बराल र गीतकार गौचनसँगको सहकार्यमा उत्कृष्ट सिर्जना पस्कने कोसिस गरेको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले आफूलाई मन पर्ने आवाजमध्येको एक यम बरालको भएको बताए। श्रीमतीलाई गुमाएपछि आफू प्रायः भावुक रहने गरेको भन्दै कलाकार श्रेष्ठले गायक बरालका गीतले आफ्नो मन भुलाएको प्रतिक्रिया दिए।
उनले संगीतकार थापाको सिर्जनाको मुक्त कण्ठले प्रशंसा गर्दै आफूलाई उनको संगीतमा गीत गाउन मन भएको बताए।
यस्तै संगीतकार दिपक जंगमले सार्वजनिक गीतका विभिन्न आयामकाे चर्चा गरेका थिए। उनले हरेक कोणबाट उत्कृष्ट सिर्जना तयार भएको बताए। गीतमा शब्द, संगीत र स्वरको अदभूत तालमेल मिलेको प्रतिक्रिया जंगमको भनाइ छ।
यस्तै पत्रकार ऋषि धमलाले पनि यम बरालको सांगीतिक योगदानको चर्चा गरेका थिए। धमलाले बरालले गीतसंगीतबाट इलाम चिनाउन भूमिका खेलेको बताए।
यस्तै विशेष अतिथि चर्चित कलाकार तथा चलचित्र निर्देशक दिपाश्री निरौलाले यम बरालको गायकीको तारिफ गरेकी थिइन्। सार्वजनिक भएका भिडियोहरू पनि आफूलाई राम्रो लागेको भन्दै उनले बरालको आफ्नो मनपर्ने गायक भएको बताइन्।
कार्यक्रममा गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, पूर्व अध्यक्ष वरिष्ठ पत्रकार शान्तिप्रिय, एनआरएनए कोरियाका संस्थापक अध्यक्ष गंगाराज राई, संगीतसर्जक गणेश पराजुली, गीतसंगीतमा आबद्ध स्रष्टा, सर्जक तथा कलाकारहरूकाे साथ विभिन्न क्षेत्रका व्यक्तिहरूकाे उपस्थिति थियो।
प्रकाशित: ३० पुस २०८२ १३:५५ बुधबार





