५ माघ २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

सगरमाथा नियाल्दा

अनुभूति

बल्लतल्ल शब्दहरू उनेर तयार पारिएका नियात्राको एकबिटो सँगालो ‘कालापत्थरबाट सगरमाथा नियाल्दा’ मेरो एउटा सपनाको मूर्त रूप हो। यसका प्रत्येक पृष्ठमा लुक्लादेखि कालापत्थरसम्मका ती कठिन उकाली–ओरालीहरू, हिमालको काखमा बग्ने नदीको संगीत, भरियाहरूको निधारबाट चुहिएका पसिनाका थोपा र पदमार्गमा भेटिने चौपायाको आँखाबाट खस्न नसकेका आँसु र घाँटीमा झुन्डिएका घन्टीको प्रतिध्वनि छन्।

मैले यसमा गुम्बा र चैत्यहरूमा सल्काइएका धुपको सुवासजस्तै आध्यात्मिक शान्ति, टुङ्नाको धुन र विदेशी पदयात्रीहरूले नेपालको गौरव देखेर व्यक्त गरेका ती विस्मयकारी अनुभवलाई पनि साहित्यिक रङ दिने प्रयत्न गरेको छु। पदमार्गका विभिन्न स्थानका साथै गोरक्सेप, कालापत्थर र आधार शिविरमा भेटिएका पाहुनाले सगरमाथालाई हेरेर व्यक्त गरेका भावनात्मक संवादले मलाई हिमालको भाषा विश्वव्यापी हुँदोरहेछ भन्ने कुरा सिकाएको छ।

हिमालका दृश्यलाई शब्दमा उतार्नु भनेको क्यानभासमा रङ भर्नुजस्तै चुनौतीपूर्ण कार्य रहेछ। ओरालो झर्नुभन्दा उकालो चढ्नुजस्तै कठिन काम रहेछ। तैपनि, हिमाली जनजीवनको सामीप्य र त्यहाँको कठोर तर सुन्दर यथार्थलाई भावनात्मक रूपमा मैले मेरो लेखनीमा समेटेको छु।

यो कृति लेखन मेरो एउटा निजी यात्राको विवरणसँगै अटल र अडिग विश्वको सर्वोच्च शिखर सगरमाथाप्रति मैले श्रद्धापूर्वक अर्पण गरेको एउटा ‘शब्द–पुष्प’ हो। मलाई विश्वास छ, यो पुष्पको सुवासले पाठकको हृदयमा पनि हिमाली प्रेमको नयाँ सञ्चार गर्नेछ।

प्रथमतः लुक्लादेखि कालापत्थरसम्मको त्यो कठिन तर दिव्य पदयात्रालाई शब्दमा उतार्नु पक्कै पनि मेरा लागि एउटा ठुलो चुनौती र उपलब्धिको यात्रा हो। ढुंगा, माटो र हिउँको थुप्रो मात्र हिमाल होइन रहेछ, यो त एउटा जीवन्त दर्शन र साधनाको शिखर रहेछ। जब मैले लुक्लाको त्यो सानो र रोमाञ्चक धावनमार्गमा पाइला टेकेँ, मेरो मनमा एकातिर उत्साहको ज्वारभाटा थियो भने अर्कातिर हिमालप्रतिको अगाध श्रद्धा। त्यहींबाट सुरु भएको मेरा पाइलाको यो शृंखला ‘कालापत्थरबाट सगरमाथा नियाल्दा’मा आइपुगेको छ।

यस यात्रामा मैले लुक्लाको ओरालोदेखि सगरमाथाको आँचल मुन्तिरसम्मका ती प्रत्येक ढुकढुकीलाई उतार्ने प्रयास गरेको छु। गुराँसे जंगलको सुवास, डाँफेको सुन्दरता, धुपीसल्लाको शीतल छाया र दुधकोसीको सुसावटसँगै उकालो चढ्दा, ओरालो झर्दाको अनुभव। लाग्थ्यो– प्रकृतिले मलाई कुनै अज्ञात मन्त्र सुनाइरहेछ। बाटोमा भेटिएका अनगिन्ती गुम्बा, चैत्य र मानेहरूले मलाई आत्मिक शान्तिको आभास दिलाए भने नाम्चेको चहलपहल र खुमजुङको मौलिकताले हिमाली जनजीवनको सतिसालजस्तो साहसलाई चिनायो।

तेङ्बुचेको त्यो पवित्र उचाइबाट देखिने आमादब्लमको विराट् सौन्दर्य होस् या इम्जा उपत्यका र फेरिजेको चिसो सिरेटो, प्रत्येक मोडमा एउटा नयाँ कथा लुकेको पाएँ। थोक्लाको त्यो कठिन उकालो काट्दा लाग्ने थकाइ र लोबुचेको ‘पोर्टरहाउस’मा बिताएको त्यो रात– यी सबै शारीरिक यात्रा थिएनन्, बरु एक प्रकारको मानसिक तपस्या थिए, जहाँ मैले प्रकृतिलाई चाख्न पाएँ। भरिया र चौपायाको कष्टकर जीवन बुझ्न पाएँ।

जब म गोरक्सेप हुँदै आधार शिविर पुगेँ र अन्ततः कालापत्थरको टाकुरामा उभिएर विश्वको सर्वोच्च शिखर सगरमाथालाई आँखै सामुन्ने साक्षात्कार गरेँ, तब म निःशब्द भएँ। कालापत्थरबाट पुमोरीको काखमा उभिएर सगरमाथालाई नियाल्दाको त्यो क्षण मेरो जीवनकै सबैभन्दा भावुक र गौरवपूर्ण क्षण थियो। त्यहाँ पुग्दा लाग्यो– म कुनै पहाडको टाकुरामा होइन, आफ्नै अस्तित्वको उचाइमा उभिएको छु। उकाली–ओराली, हिमालका दृश्य र त्यहाँका मानिसहरूसँगको सामीप्यलाई सगरमाथाप्रति अर्पण गरिएको मेरो एउटा शब्दपुष्प हो।

यसमा आश्रय छ। न्यानो स्पर्श छ। विनयपूर्वक झुक्किएको म पदयात्रीको मन छ। र, सबैभन्दा ठुलो कुरा उचाइलाई मातृभावले बुझ्ने मेरो दृष्टि यसमा निवेदित छ! ‘सगरमाथाको फेदी’, ‘सगरमाथाको छाया’, ‘सगरमाथातिर’जस्ता शब्द यात्रावर्णन हुन्। तर ‘आँचलमुन्तिर’ सम्पूर्ण मेरो यात्राको अर्थ हो। मेरो लेखकीय अनुभूति यहाँ प्रतिविम्बित यसरी हुन आउँछ कि ती हामी सबैको यात्रानुभवका दृष्टिकोण हुन्।

मैले आफ्नो लेखनमा प्रकृतिसँग संवाद गरेको छु। पहाड र मनलाई समानान्तर राखेको छु। हिमाललाई सतत प्रणाम गर्दै हृदयभित्रको असीम श्रद्धा प्रकट गरेको छु। दृश्यलाई जीवन–दर्शनमा रूपान्तरण गर्दै उचाइलाई ‘अहंकार’ होइन, समर्पणको ‘सौन्दर्य’ मानेको छु। त्यसैले ‘आँचलमुन्तिर’ शब्दले मेरो कथनशैली, दृष्टि, म पदयात्री र मेरो साहित्यिक सौन्दर्यबोध यी सबैलाई प्रतिनिधित्व गर्छ।

मेरो सम्पूर्ण यात्रा–शंखलाको केन्द्रबिन्दुमध्ये धेरै शीर्षकहरू यात्रा, भौगोलिकता, संस्कृतिको अध्ययन, संवाद, अनुभूति, दर्शन, प्रकृतिको अवलोकनमा छन्। तर यात्रा जहाँ पुगेर स्थिर हुन्छ, त्यही हो सगरमाथाको आँचलमुन्तिर। त्यसैले हो, पूर्ण आत्मविश्वाससाथ भन्न सकिन्छ– यात्रामा साहस थियो। साथ थियो आँटको। यात्रामा मन थियो– महत्त्व बोकेर हिँडेको। आफ्नै गौरवमय शिरको सौन्दर्यको प्यारो सगरमाथाको!

यात्रा आफैं हिँड्छ। हृदयको स्पन्दन, अनुभूतिको आलेखन। मेरो यो यात्रा सगरमाथाभन्दा माथि छ– उच्च, अदम्य, अविचल। तर पदयात्रीका पाइला कहिल्यै शिखरसम्म मात्र पुग्दैनन्। उनीहरूको मन, उनीहरूको विनम्रता, उनीहरूको श्रद्धा– यी सबै आँचलमुन्तिर पुगेर मात्र पूर्णता पाउँछन्। प्रकृतिको काखमा पुगेर आफैंलाई बिर्सिन्छन्। शिखर पुग्नु उपलब्धि हो। आँचलमा अडिनु आत्म–उद्धार र आत्म–पहिचान हो। मेरा यी यात्रा–अध्यायहरू पदयात्रीको चर्को उकालो मात्र होइन, मनको उकालो, भावनाको आरोह, स्मृतिको समतल र जीवनका नयाँ सन्देश हुन्।

यात्रामा मैले धेरै भेटेँ– भाषा केही नबुझिने पर्यटक–पाहुना। कहिल्यै नदेखिएका दृश्यका खात। कहिल्यै नभेटिएका पराइ। कहिल्यै नबोलिएका अपरिचित अनुहार। पाइलैपिच्छे अनेकौं जिज्ञासु पदयात्री। यात्रीको भिडामभिड, बास र गासको समस्या प्रकृतिको अनकन्टार त्यो उचाइ– यात्रामा कहिलेकाहीं मन हराउँथ्यो, शून्यमा बिलाउँथ्यो। यात्रीको हुल तर त्यहाँ एकान्त बोल्थ्यो। कहिले गोरेटो हाँस्दै प्रश्न गथ्र्यो। कहिलेकाहीं हावाले पखेटा दिएर स्मृति उडाइदिन्थ्यो। कहिलेकाहीं हिमाल आफैं मौन भएर पनि सुन्दरताको नयाँ व्याख्या सुनाइदिन्थ्यो।

यी संवादहरू मेरा मात्र होइनन्, यी यात्रु–पथ, प्रकृति–आस्था र मन–मनबिचका संवादहरू हुन्। यही संवाद सगरमाथाको आँचलमुन्तिर शीर्षकको आत्मा हो। समर्पणको भाषा, कृतज्ञताको शब्द र यात्राको अन्तिम चिर– मौन सन्देश। यात्रामा भेटिएका सौन्दर्य, कठिनाइ, प्रश्न, उत्तर, रहस्य, दर्शन र अन्ततः यात्री–हृदयले प्रकृतिसँग गर्ने संवादको काव्यमय प्रतिविम्ब हो। जसरी पहाड उठ्छ, त्यसभन्दा पहिल्यै मन उठ्छ। त्यही मनको उठानलाई मैले शब्दमा पकड्ने कोसिस मात्र गरेको छु। गन्तव्यमा पुग्नु मात्रै यात्राको निष्कर्ष होइन। यो त यात्रीको पुनर्जन्म हो। किनकि शिखरले त शक्ति दिन्छ तर आँचलले, चोखो मन दिन्छ।

अपितु, शिखरसँगको त्यो मौन संवाद, पाहुनाहरूको नेपाल प्रेमको पवित्र भावना मेरा लागि प्रेरणा भए। जब म कालापत्थरको ढुंगे थुम्कोमा पुगेँ, मेरा खुट्टा थाकेका थिए तर मन उडिरहेको थियो। आँखै अगाडि ठिंग उभिएको सगरमाथाको त्यो स्वर्ण आभा देख्दा लाग्यो– मैले एउटा पहाड चढेको छैन, आफ्नै संकोच र डरका सीमाहरू पार गरेको छु। त्यहाँ खिचिएको तस्बिर एउटा याद मात्र होइन, हिमालले मलाई दिएको आशीर्वाद र मैले हिमाललाई चढाएको श्रद्धाको ‘साक्षी’ हो।

यस यात्राका क्रममा मैले हिमाल र हिमाललाई हेर्ने विश्वकै दृष्टिकोणलाई पनि नजिकबाट बुझ्ने अवसर पाएँ। सगरमाथा जाने बाटोमा र आधार शिविरमा भेटिएका विदेशी पदयात्रीहरूका आँखामा सगरमाथाप्रतिको अगाध सम्मान र नेपालको आतिथ्यप्रतिको कृतज्ञता देखेँ, त्यसले मेरो मनलाई निकै छोयो।

‘संसारको शिरमा आइपुग्दा आफ्नो पुनर्जन्म भएको’ महसुस गर्ने ती विदेशी पाहुनाहरूका हर्षविभोर संवाद र नेपालप्रति उनीहरूको प्रेमलाई मैले यस यात्रा–निबन्धमा जस्ताको तस्तै उतार्ने प्रयास गरेको छु। यसले यो पुस्तकलाई एक नेपालीको यात्रा मात्र नबनाएर एउटा विश्वव्यापी मानवीय अनुभवको साझा दस्ताबेज बनाउने छ भन्ने मेरो ठम्याइ छ।

मेरो यो सगरमाथाको सामीप्यसम्मको एक अविस्मरणीय शब्द–यात्रा! जब मानिसले आफ्नो पैतालाको सामथ्र्य र हिमालको विशालतालाई एउटै कसीमा राख्छ, तब जन्मिन्छ– ‘कालापत्थरबाट सगरमाथा नियाल्दा’। वास्तवमा यो एउटा यात्रा वृत्तान्त, हिमाली हावाको चिसो स्पर्श, गुम्बाका मन्त्रहरू र हिउँका थुप्राहरूमा कोरिएको म एउटा नेपाली पदयात्रीको भावनात्मक ‘प्रतिलिपि’ पनि हो।

यहाँ मेरा शब्दहरू हिउँ बनेर पग्लिन्छन् र भावनाहरू शिखर बनेर उभिन्छन्। अनुभूतिका सोपानहरू गुम्बामा गुन्जिने आस्था र आराधनाको साधना भएर रहन्छन्। यो यात्रा मेरो आफ्नै खुट्टाले डोर्‍याएर पुर्‍याएको एउटा सपनाको कथाजस्तै पनि लाग्छ। सगरमाथाको फेदबाट देखिएको जिन्दगीको नयाँ उचाइमा अवतरित भएको जस्तो पनि लाग्छ।

संसारको शिरसामुन्ने उभिएर जब मैले आफ्नै अस्तित्वलाई नियालेँ, त्यतिबेला थाहा पाएँ– हिमाल नजिक पुग्नु भनेको वास्तवमा आफैंलाई चिन्नु रहेछ। आफ्नै देशलाई भेट्नु पनि रहेछ।

प्रकाशित: ३ माघ २०८२ ०८:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App