२४ माघ २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

लिभिङ टुगेदर

कथ

धेरै हिसाब र अर्थले बदलिएको छ, आधुनिक समाज। पूर्ववर्ती समयभन्दा अचेल परिवर्तनका धेरै धर्सा कोरिएका छन्। सम्भवतः यो बदलिँदो समयको माग पनि हुनुपर्छ।  

उच्च अध्ययनको स्वप्न मन–मस्तिष्कभरि सँगालेर डडेलधुराबाट आएका आकाश र पोखराबाट आएकी वर्षा त्रिचन्द्र कलेजमा पढ्दै गर्दा साथी बन्न पुगे। काठमाडौंको बसाइ यसै पनि, उसै पनि खर्चिलो थियो। उनीहरूको आम्दानीको स्रोत धेरै गतिलो थिएन। दुवैैले काठमाडौंको एक शान्त टोलस्थित एउटा घरमा फ्ल्याट लिई सँगै बस्ने निर्णय गरे। वर्षा एक विद्यालयमा पठाउँथिन् भने आकाशचाहिँ आइटी कम्पनीमा कार्यरत थिए। बिहान एउटै भान्सामा चिया पाक्थ्यो, एउटै टेबुलमा खाना–नास्ता चल्थ्यो र साँझपख भने एउटै बाल्कोनीमा उभिएर सहरमा बलिरहेका बत्तीहरू नियाल्दै दिनभरिको थकान मेट्थे।

उनीहरूले अविवाहित जीवन बिताइरहेका थिए। जीवनलाई सहज तुल्याउने हेतुले फ्ल्याट–भाडा, खानपिनलगायतमा साझेदारी गरिरहेका थिए। समाजले यस्तो सम्बन्धलाई ‘लिभिङ–इन–रिलेसन’ को परिभाषाभित्र बाँधेको छ। उनीहरूबिचको यस्तो सम्बन्ध विवाहअगावै सँगै बाँच्ने उपक्रमका साथै अभ्याससमेत थियो।

नेपाली समाज परम्परालाई पछ्याउँदै बाँचिरहेको समाज हो। विवाहअघि युवा–युवती सँगै बस्ने कुरा अझै पनि ग्राह्य र स्वीकारयोग्य मानिँदैन। अधिकांशले यस्तो सम्बन्धलाई संस्कारविरुद्धको कदम ठान्छन्। केहीका लागि चाहिँ स्वतन्त्रताको प्रतीक! वर्षा र आकाशको सम्बन्ध पनि यिनै दुई भिन्न दृष्टिकोणरूपी पर्खालबिच उभिएको थियो। उनीहरू घनीभूत प्रेम–उडानमा मग्न थिए तर विवाहलाई अन्तिम निर्णय र सत्य मान्थे।

कहिलेकाहीं वर्षाको विचार बर्सिन्थ्यो, ‘विवाह केवल एक समारोह वा तामझाम मात्र होइन, यो त जीवनभरिको साझेदारी हो। त्यसैले पहिले सँगै बसेर दुःख–सुख र एकअर्काको आनीबानी बुझ्नुपर्छ।’ वर्षाको विचारसँग शतप्रतिशत सहमत देखिन्थे आकाश पनि।  

हामी जुन समाजमा बाँचिरहेका छौं, त्यस समाजको दृष्टिकोण एवं हेराइबुझाइमा फरक देखिनु स्वाभाविकै हो। हामीले जेजस्तो बुझेका हुन्छौं, समाजले त्यस्तै रूपमा बुझ्दैन। आकाश र वर्षाको ‘लिभिङ टुगेदर’बारे समाजमा पनि भिन्दाभिन्दै मत देखिन थाल्यो। कसैले भन्न थाले, ‘ओहो! विवाहअगाडि कसरी सँगै बस्न सकेका होलान्?’

वर्षाको कानमा समाजको यस्तो धारणाको प्रतिध्वनि गुन्जिन थालिसकेको थियो। आकाशका बुबा त झनै गम्भीर देखिए र आपत्ति जनाउँदै भने, ‘बिनाविवाह सँगै बस्नु हाम्रो संस्कार होइन।’

आकाश र वर्षा दुवै यी सबै कुराप्रति अनजान थिएनन्। यो उनीहरूको केवल व्यक्तिगत मात्र नभई सामाजिक प्रश्नसमेत थियो।

सामाजिक वा पारिवारिक वृत्तमा उनीहरूको सम्बन्धलाई लिएर प्रश्नहरू उठ्न थाले पनि वर्षा र आकाशका लागि आफ्नो निर्णयबाट भाग्न सक्ने बाटो बन्द थियो। उनीहरू विवाहअगावै एकअर्कालाई राम्ररी बुझ्न चाहन्थे र जीवनका उकाली–ओरालीहरू कसरी सहज ढंगले छिचोल्ने भन्ने योजना बनाउन चाहन्थे। दुवैको घरपरिवारको आर्थिक अवस्था त्यति राम्रो थिएन। त्यसैले जीवनलाई सहज तुल्याउनका लागि विवाहअगाडि सँगै बसेर जीवनलाई अझ गहिराइमै पुगी बुझ्न खोजिरहेका थिए। उनीहरू कुनै डर–धाकबाट मुक्त भई पूरै तयारीसाथ वैवाहिक सम्बन्धमा बाँधिन चाहन्थे। उनीहरूको सोचाइ थियो, ‘लिभिङ टुगेदरको मूल उद्देश्य प्रेमको परीक्षण मात्र होइन, व्यावहारिक जीवनको अभ्यास पनि हो। एउटै छानामुनि बस्दा आर्थिक जिम्मेवारी बाँडफाँट गर्नुपर्छ। घरायसी काम मिलेर गर्नुपर्छ। साना–साना विवाद समाधान गर्न सिक्नुपर्छ। प्रेम केवल रङ्गीबिरङ्गी फूलको सौन्दर्य र मिठास घोलिएको शब्द मात्र होइन, एकअर्काबिच प्रकट हुने सहयोग हो।’

आकाश र वर्षाबिच मनमुटाव पनि हुन्थ्यो, कहिलेकाहीं। कहिले खर्चको बाँडफाँट कसरी गर्ने र कहिले मोबाइल र समयको सदुपयोग कसरी गर्ने भन्ने विषयमा । यस्ता मनमुटावले उनीहरूलाई अलग तुल्याउने सम्भावना कमै रहन्थ्यो, बरु एक अर्काको भावना बुझ्न सिकाउँथ्यो/सघाउँथ्यो। वर्षा सोच्थिन्, ‘यो खेल होइन, जीवनको अभ्यास हो।’

उनीहरू एकअर्कालाई दोष दिएर आफू ओभानो बन्ने भन्दा पनि संवादका माध्यम पछ्याउँथे। सोही संवादले उनीहरूबिचको सम्बन्धलाई अझ बलियो तुल्याउँदै लग्यो। हुन त हाम्रो समाज–परिवार हाम्रै अभिन्न अङ्ग हुन्। प्रायः का विचार र सोचहरूलाई पनि हामीले मान्नुपर्छ। कहिलेकाहीं परिपक्व भइसकेका छोराछोरीको कुरा पनि बुझिदिनुपर्छ। अहिले जीवन सजिलो छैन। एकअर्कालाई सम्झिनका लागि सहयोग आदानप्रदान गर्नुका साथै एकअर्कालाई बुझ्दै अघि बढ्नु बुद्धिमानी मानिन्छ।  

युवा पुस्तामा यस्तो सम्बन्ध बढ्नुको कारण परिवर्तनशील समाजको परिणाम पनि हो। शिक्षा, रोजगारी र सहरमुखी जीवनशैलीले युवालाई स्वतन्त्र निर्णय गर्न सिकाएको छ। उनीहरूमा विवाह केवल सामाजिक बाध्यता मात्र नभई यो त जीवन चलाउने एक अभिन्न यात्रा हो र आपसी समझदारीको सुखद सम्झौता समेत हो भन्ने तत्त्वज्ञान पलाउँदै गएको छ। कतिपय युवाले आफ्ना अभिभावकको असफल विवाह देखेका छन् र उनीहरूले झेलेका आर्थिक चुनौतीलाई नजिकैबाट नियालेका पनि छन्, जहाँ प्रेमभन्दा त्रासदीका साथै बाध्यतासमेत हाबी रहन्थ्यो। त्यसैले उनीहरू चाहन्छन्– ‘विवाहका निम्ति सोचेर, बुझेर र एकअर्काको आत्मसम्मानलाई उच्च स्थान दिँदै जीवनसाथी रोज्नुपर्छ।’

‘लिभिङ टुगेदर’बारे धेरै भ्रम छन्। कतिपयका दृष्टिमा यो अनैतिक हो। कतिपयले यस्तो सम्बन्धलाई अस्थिर तर वास्तविक सम्बन्धको मूल्य ठान्छन्। यी सबै हरेक व्यक्तिका सोच एवं व्यवहारमा निर्भर रहने विषय हुन्। यदि यो सम्बन्ध जिम्मेवारी, सम्मान र इमानदारीमा आधारित छ भने यसले विवाहलाई अझ बलियो बनाउन सक्छ। यदि यस्तो सम्बन्ध उमेरगत आधारमा समय काट्ने माध्यम मात्र बन्न पुग्यो भने यसको परिणाम भयावह हुन सक्छ।

वर्षा र आकाश भने आफूहरू ‘पहिलो दृष्टान्त’ बन्ने सोचसहित अघि बढिरहेका थिए। समयले काँचुली फेरिरहेको थियो। कहिलेकाहीं वर्षाको मनमा चस्का पस्थ्यो, ‘हामीले यति धेरै दिन सँगै बितायौं। यदि यो सम्बन्ध टुट्यो भने हामीलाई समाजले प्रश्न गर्नेछ, परिवारहरू दुःखी हुनेछन् र आफैंले आफैंलाई दोष दिनुबाहेक अरू विकल्प रहँदैन।’

आकाश पनि सोच्थे, ‘हामी फरक भयौं भने हाम्रो हालत के हुन्छ होला?’ यस्ता प्रश्नहरू उनीहरूका मस्तिष्कमा तैरिइरहन्थे तर यिनै प्रश्नहरूले उनीहरूलाई जिम्मेवार र परिपक्व बनाउँदै लग्यो। ती प्रश्नहरू सकारात्मक जीवनप्रति उत्साह भर्ने गहिरो सोचको प्रतिफलसमेत थियो र उनीहरूले आआफ्नो इमानदारी र सीमाको महत्त्व बुझिरहेका थिए।

जीवन बाँच्ने शैली एक सभ्य अभ्यास पनि हो। हामीकहाँ भने ‘लिभ–इन–रिलेसन’ले भर्खरै जरा हाल्न थालेको छ। यो सम्बन्धको अर्को पक्ष महिलाको सुरक्षासँग पनि जोडिएको छ। अविवाहित अवस्थामा कानुनी सुरक्षा स्पष्ट नहुन सक्छ, जसले गर्दा महिलासामु बढी जोखिम निम्तिन सक्छ। यस्ता सम्बन्धमा रहने जोडीले भविष्यको योजना, आर्थिक पारदर्शिता र व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्नु आवश्यक देखिन्छ। वर्षा र आकाशको बैंक खाता छुट्टाछुट्टै रहे पनि घरखर्च भने साझा गरेका थिए, कारण उनीहरूबिचको सम्बन्ध असन्तुलित नभई बराबरीमा आधारित थियो।

समय बित्दै गइरहेको थियो। आकाश र वर्षाले परिपक्व सम्बन्ध निभाइरहेका थिए। उनीहरूले एकअर्काको कमजोरी वा बल दुवैलाई स्विकार्दै बुझ्नसमेत थालिसकेका थिए। प्रेम केवल रमाइला पलहरूमा मात्र होइन, कठिन क्षणहरूमा पनि टिक्नुपर्छ। बिरामी पर्दा एक अर्काको हेरचाह, सुखदुःखमा एक अर्काको साथजस्ता कुराले उनीहरूलाई विवाहभन्दा बलियो सम्बन्धको अनुभूति गराउँदै लग्यो। अब आकाश र वर्षा एउटै मुटु तर दुई शरीर थिए। एउटालाई दुःख पर्दा अर्काको मन रुन्थ्यो।

अन्तत: उनीहरूले सामाजिक एवं पारिवारिक भावनालाई कदर र सम्मान गर्दै विवाह गर्ने निश्चय गरे। उनीहरूको यो निर्णय सामाजिक डर–त्रासका कारण नभई समाज र परिवारको सम्मान एवं आफ्नै अनुभवद्वारा निसृत थियो– सँगै बस्न, एक अर्कासँग टाढा नभई अझ नजिक हुन, एकअर्कालाई बुझ्न, समाजलाई बुझ्न र जीवनशैली सजिलो एवं परिपक्व बनाउन। विवाहपछि पनि उनीहरूको सम्बन्ध र जीवनशैली खासै पृथक् देखिएन तर कानुनी र सामाजिक मान्यता भने बढ्दै गयो।

यो कथाले सबैका लागि एउटै निष्कर्ष पस्किँदैन। कोही–कसैबिचको यस्तो सम्बन्धले सफलताका सिँढीहरू उक्लिन्छ भने कसैको फेदीमै समाप्त हुन्छ। यस्तो सम्बन्धलाई संस्कारी जीवनमा सुख–दुःख बुझेका व्यक्तिहरूले मात्र जीवन्त स्वरूप प्रदान गर्न सक्छन्। मूलतः यस्तो सम्बन्धलाई हलुका रूपमा लिनुहुँदैन। यो आधुनिकताको नाममा जिम्मेवारीबाट भाग्ने बाटो होइन, बरु विवाहभन्दा पहिलेको समझदारीको चरण हुन सक्छ।

दौडधुपले अँगालो मारेको छ - आजको समाजलाई। दौडधुपले भरिएको यो जमानामा कतिपयमा बढी जिम्मेवारीबोध हुँदै गएको पनि छ। यद्यपि दौडधुपरूपी जिन्दगीले समाजलाई दुई धारमा विभाजितसमेत तुल्याएको छ। एक धार परम्परालाई बचाउन चाहन्छ भने अर्को धारले स्वतन्त्रतालाई प्रिय मान्छ। सत्य यी दुईको बिचमा छ। विवाहअगाडि सँगै बस्नु न त पूर्ण रूपमा गलत हो न त पूर्ण रूपमा सही। यसको सत्य व्यक्तिहरूको सोच, इमानदारिता र उद्देश्यमा निर्भर हुन्छ। आधुनिकता अँगालेर आएको यस्तो सम्बन्धले प्रेमलाई सजिलो बनाउँछ भन्ने होइन तर यसले मायाको वास्तविकतालाई भने पक्कै पनि चिनाउँछ। हामीलाई सिकाउँछ – कसरी सँगै बाँँच्ने? असहमति हुँदा पनि कसरी सम्मान–भाव प्रकट गर्ने? त्याग र तपस्यालाई कसरी निर्वाह गर्ने? कसरी भविष्य निर्णय सोचेर गर्ने? यदि यस्तो सम्बन्ध जिम्मेवारी र सम्मानमा आधारित छ भने यसले वैवाहिक जीवन बलियो र सुमधुर बनाउँछ तर यस्तो सम्बन्ध स्वार्थी भयो भने गहिरो चोट पुर्‍याउँछ।

आकाश र वर्षाको कथा केवल दुई युवा–युवतीबिचको प्रेमकथा मात्र होइन, यो त परिवर्तनशील समाजको कथा हो। जहाँ हिजोको संस्कार र नयाँ सोच आमनेसामने उभिएको छ र जसका निम्ति संवाद आवश्यक छ आरोप होइन, बुझाइ आवश्यक छ स्वीकार होइन। नयाँ पुस्तालाई स्वतन्त्र निर्णय गर्न दिनु र उनीहरूलाई जिम्मेवारीबोध सिकाउनु समाज र परिवारको दायित्व हो। अन्ततः प्रश्न ‘लिभ–इन–रिलेसन’ को होइन, प्रश्न हो -सम्बन्धको मूल्य के हो? दुई व्यक्तिबिचको सम्बन्ध विश्वास, इमानदारी र समानताको आधारमा टिक्नुपर्छ। समाजले पनि नयाँ अभ्यासलाई बुझ्न सक्नुपर्छ। युवाहरूले पनि स्वतन्त्रताका साथसाथै जिम्मेवारी पनि लिन सक्नुपर्छ। ‘लिभ–इन–रिलेसन’ अन्त्य होइन, यदि त्यसमा सम्मान छ भने। विवाह आफैंमा सम्बन्धको सुरुवात मात्र हो। यदि त्यसमा समझदारी थिएन भने आकाश र वर्षाले यो समाजलाई एउटा गहन सन्देश दिन सक्दैनथे– ‘माया लुकाउनुपर्ने कुरा होइन, बुझ्नुपर्ने कुरा हो र विवाह बाध्यता नभई सहमतिमा गरिएको एउटा सुमधुर यात्रा हो।

प्रकाशित: २४ माघ २०८२ ०७:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App