सानो साथी त हो, सानाहरूसँग म खेल्न जानिहाल्छु नि! उनीहरूसँग खेल्दा जित्ने भए पनि हारिदिने त हो, ठट्टा गर्दै खेल्न तयार भएँ।
गएको महिना अर्थात् सन् २०२५ को अन्तिम महिना एक कविगोष्ठीमा तिन दशकअघि चिनेको साथी साहित्यकार डा. ईश्वरमणि अधिकारीको ‘सानो साथी’ कवितासङ्ग्रह हातमा पर्यो। यति टाढाबाट सम्झिएर पठाएको कोसेली नै ठानेँ। ‘सानो साथी’ लाई कोसेलीहरूको लहरमा राखेँ, फुर्सदमा अघाउँजी खेल्छु भनेर।
‘महोदय!
के तिमी आफ्नो घर सम्झँदा
घरका दलिन ढुंगा, माटो सम्झन्छौ? कि सम्झन्छौ? बाबाको अपार आशीर्वाद
परिवारको अनन्त साथ
आमाको न्यानो माया’
(घर)
यो कविता पढेपछि म सोचमग्न भएँ। भर्खर फर्किएर आएको आफ्नै घर सम्झिएँ। साँच्चै कहाँ सम्झिन्छ र नमिलेका, नजोडिएका, बिग्रिएका, भत्किएका घरका भित्ताहरू, दलिन र तख्ताहरू? मात्र सम्झिन्छ आफू अथवा आफ्नाहरूले बामे सरेदेखि उठेको घर, आँसु झारेकोदेखि खुसी साटेको घर। सुख र दुःखका पोयाहरू बाटेर डोरीजस्तो बलियो बनाएको घर। सानो परिभाषामा कहाँ अटाउन सक्छ होला र घर। त्यसैले म पनि कविसँगै सहमत भएँ, वास्तवमा घर भाववाचक नै हो भनेर।
‘साँच्चै फूलहरू फुल्नका लागि हुन् कि टिप्नका लागि हुन्?
नटिपे आफैं झर्ने फूलको यौवन
झर्नका लागि हो कि फुल्नका लागि हो?
फुल्दै गर्दा टिपिने सन्त्रास हुन्छ कि हुन्न फूललाई?’ (फूलको नाममा)
सायद फूलको भाषा बुझ्ने मान्छे भइदिएको भए फूल पूजाको सामग्रीमा पर्दा पनि बोटसहित पर्ने थियो होला। खुसी र दुःख दुवैमा बोटै लगिन्थ्यो होला। मैले पनि सानैदखि पूजाको थाली हरेकदिन माझेर फूल टिपेर भरेकी हुँ।
अहिले म सोचिरहेकी छु– धेरै कुरा सिकाउने मेरा हजुरबाले किन सिकाउनुभएन होला, फूल बोटमै फुलेको राम्रो, टिपे उसलाई पनि दुख्छ भनेर। अनि सोचिरहेछु मान्छेले जस्तै फूलले पनि उसको आयुभरि बाँच्न पाउनुपर्छ भन्नेबारे कहिले बहस होला? यो कवितामा बोटमै राखेर सजाउने चलन आए कस्तो हुन्थ्यो भन्ने चाहना राख्छन् कवि।
‘एक्लो हुनु कमजोर होइन
धेरै हुनु अग्लो हुनु पनि त होइन
झाडी झाडी मिलेर रुख बन्छ र?’
(वृहस्पति)
एक्लै हिँड्ने मान्छेका कुरा काट्नेहरू धेरै हुन्छन् तर समूहमा हिँड्नेले पनि त बेला कुबेला खप्की खानु नपर्ने त कहाँ हो र? वास्तवमा एक्ला एक्ला रुख मिलेर नै झाडी बन्ने त हो। एक्लै हिँड्नेका पछाडि धेरै ज्ञानी हुन्छन्, जसरी आकाशमा देखिन्छ एक्लो वृहस्पति तर ऊ एक्लो कहाँ छ र? ऊ त अरू सौर्य शक्तिसँगै छ भन्ने सन्देश यो कविताले दिन्छ।
‘तिमी जन्मिएकै क्षण
एउटा बा जन्मिएको थियो धर्तीमा
र थियो मान्छे बन्ने यात्रामा
तिम्रो आगमनसँगै
केही थान खुसी थपिए जीवनमा’
(छोरीको नाममा)
‘जुनबेला म बा बनेको थिएँ
लाग्थ्यो सामान्य मान्छेबाट
एकाएक एक तहमाथि उठेको थिएँ।
यतिखेर, बाबाट पनि
एक तह माथि उक्लेको छु
सोचदै छु, अब अनन्त उन्मुख छु।’
(सानु साथी)
यी दुई कवितालाई एकै ठाउँ राखेर जोख्न मन लाग्यो। आफू दोस्रो कविताको यथार्थसम्म पुगिनसकेकाले कुन धेरै भारी होला भन्न सकिनँ तर पल्ला दुवैतिर भारी भएको अनुमान भने गरेँ।
एउटा कवितामा रहर र व्यवहारले भर्खर पदोन्नति भएको बा पदलाई कसरी न्याय दिने साथै भर्खर उम्रिएको बिरूवारूपी सन्तानलाई कसरी खुसी दिने कुरा सोच्दा सोच्दै गएको समयको वर्णन छ। सायद पहिलोपल्ट बा हुँदा घडी चलेन होला आफ्नो वशमा, काम भएनन् होला आफ्नो रहरमा तर पनि खुसी भने पक्कै थपिएको थियो होला। सन्तानका लागि आफू बाँधिन पनि मन पराउने यो बा र आमाको पद चाहिँ कस्तो होला म पनि छक्क पर्छु बेला बेला।
‘मुटु ईश्वर हो, ईश्वरको त मुटुमै तिमी छ्यौ
हुन्जेल तिमी मुटुमा कसरी मुटुरोगी हुनसक्छ र ईश्वर?’ (मुटुरोगी ईश्वर)
यो अर्को मायाका जोडीको कविता हो। छिनमै सम्बन्ध चिसो हुने समयमा एक अर्कामा विश्वास भए मात्र दुई मुटु एक हुन्छ र घर बलियो हुन्छ भन्ने सन्देश दिन्छ यो कविताले।
‘त्यो गुलाबी साडी,
ललाटको टीका,
ओठ, गला र सिउँदोको सौन्दर्य
बदल्ने छैनौ तिमी ईश्वर त्यहीं हुने छ।’
(इच्छापत्र)
‘सानो साथी’भित्र रहेको यो अन्तिम कविता पढ्दा पढ्दै आङ जिरिङ्ङ भयो, आफ्नै आँखाको ज्योति मधुरो भएझैं लाग्यो। यो कवितामार्फत जानी नजानी गरेका गल्तीमा माफी मागेका छन् कविले। आफ्नो जीवनसाथीले आफ्नो मृत्यु पर्यन्त फाल्नुपर्ने परम्परावादी सौन्दर्यको विरोधमा जीवित हुँदै भनिसकेका छन् कविले। भलै समाजले नपचाउला तर आफ्नै मान्छेको इच्छापत्रलाई लत्याइदिन पनि त सक्दैन होला। सामान्य ढंगले यति गहन कुरा भन्न कविले कतै गणितको सूत्र प्रयोग गरेको त होइनन्? भनेझैं लाग्यो एकछिन।
गणित विषयमा विद्यावारिधि गरेर गणित नै अध्यापन गरिरहेका कविकै भनाइ सापटी लिँदा ‘गणितको अध्ययन अध्यापनलाई जीवनको एउटा पाटाका रूपमा जिन्दगीको किनारै किनार हिँडाएर अर्को किनारबाट दौडिरहेछु म कवितायात्रामा। लाग्छ, एउटाले मेरो जीवन चलाइरहेछ, अर्कोले मलाई नै चलाइरहेछ।’
७१ वटा लामाछोटा कविताहरूको सँगालो ‘सानो साथी’भित्रका हरेक कविताले पाठकलाई छुने मात्र नभएर भित्रसम्म लगेर हल्लाउँछन् पनि। आफ्नै समाज वरिपरिका सङ्गति र विसङ्गतिको कवितात्मक माला बनाएर पाठकसम्म पुर्याएका छन् कविले।
प्रकाशित: २४ माघ २०८२ ०८:१८ शनिबार



-600x400-wm.jpg)

