४ श्रावण २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

यात्रीको ९३ औँ जन्मजयन्तीमा वाङ्मय पुरस्कार समर्पण

वरिष्ठ साहित्यकार, अन्वेषक एवं नेपाली वाङ्मयका शिखर पुरुष पूर्णप्रकाश नेपाल 'यात्री' को ९३ औँ जन्मजयन्ती भव्य रूपमा मनाइएको छ।

पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रको आयोजनामा नेपाल प्रज्ञाप्रतिष्ठानको पारिजात प्रेक्षालयमा आयोजित एक विशेष समारोहका बीच सो जयन्ती सम्पन्न भएको हो।

उक्त अवसरमा 'यात्री वाङ्मय पुरस्कार', 'यात्री विद्यापद समर्पण' तथा वासुदेव दाहालकृत संस्मरणात्मक कृति ‘आफ्नै कथाव्यथा’ को लोकार्पण समेत गरियो।

कार्यक्रममा नेपाली साहित्य, समालोचना र अन्वेषणको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने वरिष्ठ अन्वेषक, साहित्यकार एवं समालोचक प्राडा चूडामणि बन्धुलाई वर्ष २०८३ को गरिमामय 'यात्री वाङ्मय पुरस्कार' अर्पण गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि डा. तुलसीप्रसाद भट्टराई तथा सभापति डा. शैलेन्दुप्रकाश नेपालले दोसल्ला ओढाएर सम्मानपत्र र नगद राशिसहित पुरस्कृत गरिएको थियो। सो अवसरमा समालोचक डा. रमेश शुभेच्छुले पुरस्कृत व्यक्तित्व प्राडा बन्धुको साहित्यिक योगदानमाथि प्रकाश पारेका थिए। 

अन्य प्रतिभाहरू सम्मानित

सोही अवसरमा ‘यात्री’ सम्बन्धी प्राज्ञिक अनुसन्धान र सिर्जनाका क्षेत्रमा क्रियाशील शोधार्थीहरू राधिका चम्लागाईँ र सङ्गीता गैरापिप्लीलाई 'यात्री विद्यापद' द्वारा सम्मानित गरियो (सङ्गीता गैरापिप्लीको अनुपस्थितिमा उनकी आमा सुभद्रा गैरापिप्लीले सो सम्मान ग्रहण गरिएको थियो)।

यसैगरी, संस्था र समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत उपप्रा.डा. अनुपमा रेग्मी र डा. पवित्रा अधिकारीलाई विशेष सम्मान प्रदान गरियो।

‘यात्रीका अप्रकाशित पाण्डुलिपिको खोजी आवश्यक’

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व सदस्य-सचिव डा. तुलसीप्रसाद भट्टराईले पूर्णप्रकाश नेपाल 'यात्री' सँगको आफ्नो लामो सङ्गतको स्मरण गर्दै,उनले  यात्रीलाई नेपालको धार्मिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक क्षेत्रमा अतुलनीय योगदान दिने एक विराट व्यक्तित्वका रूपमा चित्रण गरे।

डा.भट्टराईले यात्री जस्तो युगपुरुषको नाममा स्थापित गरिमामय पुरस्कारका लागि प्राडा चूडामणि बन्धु जस्तो सुयोग्य र निष्ठावान् प्राज्ञिक पात्र चयन गरेर संस्था आफैँ गौरवान्वित भएको धारणा समेत व्यक्त गरे।

कृति लोकार्पण र परिचर्चा

समारोहमा लेखक वासुदेव दाहालद्वारा लिखित नवीनतम कृति 'आफ्नै कथाव्यथा' को संयुक्त रूपमा लोकार्पण गरियो । कृतिको समीक्षा गर्दै डा. रमेश शुभेच्छुले यस पुस्तकले नेपाली समाज र मानवीय संवेदनालाई सुन्दर ढङ्गले समेटेको बताए ।

लेखक दाहालले आफ्नो जीवन भोगाइका अनुभूति र सिर्जनात्मक यात्राबारे प्रकाश पार्दै काव्यिक शैलीमा विज्ञहरूको समुचित प्रतिक्रियाको अपेक्षा राख्नुभयो । सोही क्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले भूगोल, इतिहास र साहित्यका क्षेत्रमा वस्तुनिष्ठ अनुसन्धान गरी गौरवमयी पूर्वजप्रति आभारी हुनुपर्ने बताउँदै योग्य पिताका सुयोग्य पुत्रका रूपमा डा. शैलेन्दुप्रकाश नेपालको प्रशंसा गरे ।

'पुरस्कारले जिम्मेवारी थपियो'

पुरस्कृत व्यक्तित्व प्रा.डा. चूडामणि बन्धुले यात्रीको साहित्यिक योगदानको चर्चा गर्दै नेपाललाई वास्तविक रूपमा बुझ्नका लागि सुदूरपश्चिमलाई बुझ्नुपर्ने यात्रीको सदिच्छा स्मरण गरे । उनले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसँगको सहकार्यमा आफूले पनि कर्णाली क्षेत्र र राउटे समुदायको जनजीवन तथा भाषाका क्षेत्रमा अनुसन्धान गर्ने अवसर पाएको उल्लेख गर्दै उनले भने — "पूर्णप्रकाश नेपाल 'यात्री' ले आफ्नो जीवनकालमा यति धेरै अन्वेषण र अनुसन्धान कसरी गर्न सकेका होलान् भन्ने कुराले मलाई सधैँ अचम्मित तुल्याउँछ ।  डा. बन्धुल यात्री जस्तो विराट व्यक्तित्वको नाममा स्थापित पुरस्कार ग्रहण गर्दा गौरवबोध हुनुका साथै आगामी दिनमा आफ्नो जिम्मेवारीको आयतन थप बढेको स्पष्ट पारे ।

भव्य सांस्कृतिक प्रस्तुति

यात्री अन्वेषण तथा अनुसन्धान केन्द्रका अध्यक्ष एवं वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा यात्रीको योगदान तथा पारिवारिक अवस्थाबारे अवगत गराइएको थियो ।

कार्यक्रमको सुरुमा सिर्जना नेपाल र परम्परा नेपालले अतिथिहरूलाई रुद्राक्षको माला लगाएर स्वागत गरेका थिए भने मञ्चासीन व्यक्तित्वहरूले स्व. यात्रीको तस्बिरमा माल्यार्पण गरी कार्यक्रमको सुभारम्भ गरिएको थियो ।सो समारोहमा पूर्णप्रकाश नेपाल 'यात्री' द्वारा विभिन्न छन्दमा लिखित कविताहरूलाई चण्डीराज नेपाल, कल्पना अधिकारी र हिराचन्द्र बरालले देउडा शैलीमा तथा दुर्गा अधिकारी ‘भमरकोटे’ ले सुसेलीमार्फत प्रस्तुत गर्दा हलमा साहित्यिक ऊर्जा सञ्चार भएको थियो । केन्द्रका सल्लाहकार कृष्णप्रसाद नेपालको स्वागत मन्तव्यबाट सुरु भएको सो समारोहको सहजीकरण दुर्गाप्रसाद नेपालले गरेका थिए ।

प्रकाशित: ४ श्रावण २०८३ ०९:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App