उच्च अदालत विराटनगरमा दुई वर्ष नाघेको मुद्धाको संख्या शुन्यमा झरेको छ । उच्च अदालत विराटनगरले सोमबार पत्रकार भेटघाट कार्यक्रम गरी उक्त जानकारी दिएको हो ।
आर्थिक वर्ष २०८२/०८३ मा १८ महिना नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष अदालतले लिएको भए पनि जेन्जी आन्दोलनका कारण अदालत जलेर तीन महिना सम्म काम प्रभावित भएको थियो ।
उच्च अदालत विराटनगरको काम तीन महिना प्रभावित भएकाले १८ महिना नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष पुरा हुन नसकेको रजिष्ट्रार जगदीशप्रसाद भट्टले बताए । उच्च अदालत विराटनगरमा १८ महिना नाघेका ८७ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ ।
गत आर्थिक वर्ष अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ३ हजार ३ सय ६३ र नयाँ दर्ता भएका ३ हजार ७ सय ९४ गरी कुल ७ हजार १ सय ५७ मुद्धा उच्च अदालतमा रहेका थिए ।
जसमध्ये ४ हजार ९९ मुद्दा फछ्र्यौट भएका छन् भने ३ हजार ५८ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अदालतले जानकारी दिएको छ ।
प्रकाशित: ४ श्रावण २०८३ २१:१३ सोमबार





