२२ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

पुस्तागत चेतनाको साहित्यिक सङ्गम

पुस्तक

कविद्वय प्रा. पुरुषोत्तम दाहाल र अनिमेष दाहालको संयुक्त कवितासङ्ग्रह ‘वंशवृक्ष’ नेपाली साहित्यको विशेष कृति हो। यो केवल कविताहरूको सङ्ग्रह मात्र नभएर दुई भिन्न पुस्ताको चेतना, अनुभव र दृष्टिकोणको दुर्लभ संगम पनि हो।

पत्रकार तथा साहित्यकार नाताले पिता पुरुषोत्तम दाहाल र युवा इन्जिनियर पुत्र अनिमेष दाहालले संयुक्त रूपमा प्रस्तुत गरेको यो कृतिले नेपाली कविताको फाँटमा नयाँ आयाम थपेको छ। ‘वंशवृक्ष’ केवल पारिवारिक सम्बन्धको दर्पण मात्र होइन, समयसँगै भित्रिएको सांस्कृतिक, सामाजिक र साहित्यिक चेतनाको झलक पनि हो। प्रत्येक पुस्ताले आफ्नै अनुभव, मूल्य र चेतनालाई पुस्तान्तर गर्छ। त्यसले समाजको समग्र मानसिकता र संवेदनशीलतालाई प्रभाव पार्छ।

सङ्ग्रहले एउटै वंशमा अंकुरिएका दुई फरक हाँगा पिता र पुत्रको दृष्टिकोण र अनुभवलाई सुस्पष्ट देखाउँछ। पिताका कवितामा जीवनका दीर्घ अनुभव, परम्परा र गहिरो चिन्तन झल्किन्छ भने पुत्रका कवितामा नयाँ पुस्ताको आधुनिक दृष्टिकोण, प्रविधिको प्रभाव र व्यक्तिगत भोगाइको अनुभूति समेटिएको पाइन्छ। यसले एउटै वंशको भिन्न समय र परिवेशमा अङ्कुरिएका सिर्जनाहरू कसरी फरक तरिकाले व्यक्त हुने गर्छन् भन्ने सन्देश दिन्छ।

सङ्ग्रहमा कुल ३० कवितामा पिताका १७ र पुत्रका १३ कविता समाविष्ट छन्। पहिलो खण्डमा पुरुषोत्तम दाहालका कविता छन्। यिनले वंशीय परम्परा र अनुभूतिको आधार तयार पारेका छन्। दोस्रो खण्डमा अनिमेष दाहालका कविताहरूले त्यसलाई आधुनिक संवेदनशीलता र नयाँ दृष्टिकोणसहित अघि बढाएका छन्। यसरी सङ्ग्रहले वंश, समय र अनुभवको निरन्तरता तथा फरकपन दुवैलाई कलात्मक तरिकाले चित्रण गरेको छ।

यसमा प्रस्तुत भएका कविताहरूमा जीवनको लामो अनुभव, गहन दार्शनिक चेत र समकालीन राजनीतिक तथा सामाजिक विकृतिप्रतिको तिखो व्यङ्ग्य पाइन्छ। साथै कवितामा वर्तमान समयको कटु यथार्थमाथि निर्मम प्रहार मात्र नभई देश, समाज र मानिसको अवस्थालाई गहिरो विश्लेषणात्मक दृष्टिले बिम्ब र प्रतीकमार्फत सशक्त ढंगले प्रस्तुत गरिएको छ।

कवितामा प्रयोग भएको भाषा परिष्कृत र चयनपूर्ण भएकाले प्रत्येक शब्दले सामान्य अर्थभन्दा पर पुगेर गहन भावनात्मक तथा प्रतीकात्मक अर्थ दिन्छ। यसरी छनोट गरिएको भाषाले कवितालाई कलात्मक सौन्दर्य मात्र प्रदान गर्दैन, पाठकलाई गहिरो अर्थतर्फ सोच्न पनि बाध्य बनाउँछ।

पुस्तकभित्रको पुस्तककै नाम ओगटेको कविता ‘वंशवृक्ष’ ले सिर्जनाको निरन्तरता र उत्तराधिकारबिचको गहिरो सम्बन्धलाई उजागर गरेको छ। कविताको शीर्षक ‘वंशवृक्ष’ केवल पारिवारिक परम्पराको प्रतिरूप मात्र नभई, पुस्ता–दरपुस्ता जीवन, मूल्य र चेतनाको प्रवाहलाई संकेत गर्ने प्रतीक हो। यसले जीवनको चक्र कहिल्यै टुट्दैन भन्ने धारणालाई कलात्मक रूपमा व्यक्त गरेको छ।

‘वंशवृक्ष’ कविताको पहिलो श्लोक आकाशतिर फैलिएको वृक्ष र भुइँमा खसेका पातहरूको दृश्य जीवन–मृत्युकै प्रतीकात्मक अभिव्यक्ति हो। कविले यहाँ निरन्तरता र अनिवार्यतालाई जोड दिएका छन्– पुर्खा ढल्छन् तर नयाँ पुस्ता अंकुरित हुन्छन्।

दोस्रो श्लोक वंशवृक्षलाई केवल जैविक वा पारिवारिक प्रतीक मात्र होइन, कला र साधनासँग तुलना गरिएको छ। यसले देखाउँछ कि जसरी कलाकारले आफ्नो सिर्जनामा आत्मा भर्छ, त्यस्तै वंशले पनि आफ्नो इतिहास र मूल्यलाई नयाँ पुस्तामा भर्ने काम गर्छ। शान्त वृक्षभित्र लुकेका पीडा, इतिहास र संघर्ष जीवनको अव्यक्त तहलाई उजागर गर्छ।

तेस्रो श्लोक यहाँ वंशवृक्षलाई पिपल वा बोधि वृक्षसँग तुलना गरिएको छ, जसको आयु दीर्घ भए पनि अन्ततः सीमित हुन्छ। यसको प्रतीकात्मक अर्थ– मानव जीवन र वंश पनि अस्थायी छ तर यसले पुर्खाको सपना र जीवन–अनुभवलाई निरन्तर सम्झाउने भूमिका खेल्छ।

चौथो श्लोक जीर्ण पुस्ता नयाँ पुस्ताका लागि उर्वर भूमि बन्ने कुरामार्फत कविले जीवनको चक्रलाई सार्थक बनाएका छन्। जीवनको अन्त्यले नयाँ जीवनलाई सम्भव बनाउँछ भन्ने पुनर्जन्मीय दृष्टि यसमा प्रकट हुन्छ।

पाँचौं श्लोक वंश र कलाबिचको सम्बन्धलाई प्रकट गरिएको छ। फूल, दीप, सिर्जनाजस्ता सौन्दर्यपूर्ण तत्त्वहरू मूलतः पुर्खाबाट प्राप्त परम्परा र ज्ञानकै जगमा टेकेर सम्भव हुन्छ भन्ने विचार प्रस्तुत छ।

अन्तिम श्लोकमा वंशलाई अमर शक्तिका रूपमा चित्रण गरिएको छ। अक्षरहरू नष्ट नहुने, बरु वंशका हाँगाझैं फैलिँदै जाने सन्देशले कविले परम्परा, सिर्जनशीलता र निरन्तरतामा विश्वास गरेका छन्।

समग्रमा, कविताले वंशको महत्त्वलाई भौतिक सुख र समृद्धिभन्दा माथि राखेको छ। यसले जीवनको चक्र, पुस्ताको निरन्तरता र इतिहासको गहिराइलाई बुझाउँदै वंशलाई एक शक्तिशाली र अविनाशी सिर्जनाका रूपमा चित्रण गरेको छ। यसले आफ्नो पुर्खा र इतिहासलाई सम्झना गर्न र जीवनको वास्तविक अर्थ खोज्न प्रेरित गर्छ।

सङ्ग्रहको दोस्रो खण्डमा समाविष्ट पुत्र अनिमेष दाहालका कविताले नयाँ पुस्ताको दृष्टिकोणलाई प्रस्ट देखाउँछन्। पिता कवि–साहित्यकार भएको पारिवारिक पृष्ठभूमि र वंशीय प्रभावले उहाँलाई पनि साहित्यतर्फ आकर्षित गरेको अनुमान गर्न सकिन्छ। यद्यपि उहाँ पेसाले इन्जिनियर भए पनि कवितामा देखिएको संवेदनशीलता र सिर्जनात्मकता उहाँका व्यक्तित्वका दुई धारहरूलाई सन्तुलनमा ल्याएको प्रतीत हुन्छ।

 समग्रमा, ‘वंशवृक्ष’ कविता सङ्ग्रहले नेपाली साहित्यमा नयाँ प्रयोग र बहसको सुरुवात गरेको छ। यसले दुई पुस्ताको चेतना र लेखन शैलीलाई एकै ठाउँमा ल्याएर अध्ययन गर्ने अवसर प्रदान गर्छ। जहाँ पत्रकार तथा साहित्यकार दाहालका कविताहरूले अनुभवजन्य पीडा र राजनीतिक व्यङ्ग्यलाई सशक्त रूपमा प्रस्तुत गर्छन्, त्यहीं अनिमेष दाहालका कविताले नवीन चेतना र कलात्मक सौन्दर्यलाई प्रतिबिम्बित गर्छन्। आधुनिक जीवनका उल्झन, एक्लोपन, सम्बन्धका दुरी र प्रविधि–नियन्त्रित जीवनका द्वन्द्वलाई कविले कलात्मक ढंगले प्रस्तुत गरेको पाइन्छ।

यस पुस्तकको मूल मर्म वंशको महत्त्व र पुस्तागत सम्बन्ध हो। ‘वंशवृक्ष’ शब्दले एउटा रुखलाई जनाउँछ, जसका जरा र हाँगा हुन्छन् तर यसले पुस्ता–दरपुस्ता चल्दै आएको पारिवारिक शृङ्खलाको गहिरो अर्थ पनि बोक्छ। आवरणमा रुखको जरा र हाँगाका साथै दुई व्यक्तिको चित्रले यस मर्मलाई अझ प्रस्ट पारेको सहजै अनुमान गर्न सकिन्छ।

पुस्तकले जीवनको चक्र, पुस्ताको निरन्तरता र पुर्खाले छोडेको विरासतको महत्त्वलाई दर्शाउन खोजेको छ। जसरी एउटा रूखको जराले माटोमा आफ्नो अस्तित्व जमाउँछ र हाँगाहरूले नयाँ जीवन दिन्छन्, त्यसरी नै पुर्खाको ज्ञान, अनुभव र आदर्शले नयाँ पुस्तालाई मार्गदर्शन गर्छन्। साथै यो पुस्तकले पारिवारिक सम्बन्ध, विशेषगरी बुबा र छोराबिचको भावनात्मक बन्धनलाई पनि उजागर गर्छ। फरक पुस्ताका दुई लेखकको संयुक्त कृति हुनुले पनि यसमा सम्बन्धको मिठास र गहिराइ स्पष्ट देखिन्छ।

‘संयुक्त कविता सङ्ग्रह’ भएकाले यसमा कला (कविता) र इतिहास (वंश) को मिश्रण पाइन्छ। कविताहरूले वंशको महत्त्वलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। यसले वंशको कथालाई अमूर्त रूपमा नभएर भावना र शब्दहरूको माध्यमबाट जीवित राख्ने प्रयास गरेको देखिन्छ।

वंशले मानिसको आत्मपहिचानलाई पनि परिभाषित गर्छ। यो पुस्तकले आफ्नो जरा र पुर्खासँग जोडिएर मात्रै पूर्ण पहिचान प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेको छ।  ‘वंशवृक्ष’को मूल मर्म पारिवारिक जरा र हाँगाबिचको गहिरो सम्बन्ध र पुस्ता–दरपुस्ता चल्ने जीवनको निरन्तरता हो। यो पुस्तकले वंशलाई केवल जैविक शृङ्खला नभई ज्ञान, प्रेम र इतिहासको जीवन्त प्रतीकका रूपमा प्रस्तुत गरिएको छ।

प्रकाशित: १४ भाद्र २०८२ ०९:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App