११ फाल्गुन २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

पुस्तकालय सपना

अठोट

पुस्तक पढ्ने बानी जीवनलाई अत्यन्त समृद्ध बनाउने अभ्यास हो। यसले हाम्रो सोचलाई विस्तार गर्छ, संसारलाई बुझ्ने दृष्टिकोणलाई गहिरो बनाउँछ र कल्पनाशक्तिलाई तेज बनाउँछ। पुस्तकहरूले केवल ज्ञान मात्र दिँदैनन्, बरु फरक–फरक जीवन, संस्कृति र समयसँग जोड्ने दृष्टि पनि दिन्छन्। तीव्र गतिमा छरिएर जानकारी आउने आजको यस युगमा पुस्तक पढाइले हामीलाई धैर्य र गम्भीर भएर सोच्न, आत्मचिन्तन गर्न र विचारसँग गहिरो सम्बन्ध बनाउन सहयोग पुर्‍याउँछ। यसले ध्यान केन्द्रित गर्न, शब्द भण्डार र भावनात्मक बुद्धिमत्ता मजबुत बनाउन मद्दत गर्छ, जुन व्यक्तिगत तथा व्यावसायिक जीवन दुवैका लागि अपरिहार्य हुन्छ।

यसर्थ, पढाइ केवल समय बिताउने काम मात्र होइन, यो विचार, कल्पना र पहिचानलाई निर्माण गर्ने बाटो हो। एउटै पुस्तकले प्रेरित गर्न सक्छ, उपचार गर्न सक्छ वा जीवनलाई रूपान्तरण गर्न सक्छ। जब यस्ता असङ्ख्य पुस्तक एउटै छानामुनि जम्मा हुन्छन्, त्यहाँ असाधारण कुरा जन्मिन्छ -पुस्तकालय।

पुस्तकालय केवल पुस्तकहरूको भण्डार मात्र होइन, यो मानव सम्यताको जीवित स्मृति हो। पुस्तक राखिएका प्रत्येक तख्ताले शताब्दीऔंदेखि आएका विचारक, कवि, वैज्ञानिक र  स्वप्नदर्शीहरूको स्वर बोकेको हुन्छ - आज पनि हामीसँग कुरा गरिरहेको जस्तै। यस्ता स्थानमा पढ्नु भनेको पुस्तादेखि पुस्तासम्मको संवाद जस्तै हो, जहाँ लेखिएका शब्दले पिँढीहरूलाई जोड्छन्।

कुनै व्यक्ति, वर्ग या समुदाय विशेषलाई मात्र नभई समाजका सबै तहका व्यक्तिहरूमा समानताको व्यवहार कार्यान्वयन गर्ने पवित्र थलो हो - पुस्तकालय। कथासँग पहिलो पटक परिचित हुँदै गरेको बालक होस् अथवा जटिल विचारका अनुसन्धानरत विद्वान् - पुस्तकालयमा उनीहरू समान धरातलमा उभिन्छन्।

पाठकका लागि प्रत्येक पुस्तक एउटा ढोका हो। पुस्तकालयले यस्ता अनगिन्ती ढोकाहरू खोलिदिन्छन्, जसले हामीलाई नयाँ र असाधारण संसार पत्ता लगाउन आमन्त्रण गर्छ। त्यस्तै पुस्तकालय समुदायको मुटु हो - जहाँ मानिसहरू पढ्न मात्र होइन, सोच्न, ज्ञान बाँड्न र सँगै बढ्न आउँछन्।

पढाइ आफैंमा दिमागको व्यायाम हो। जसरी शारीरिक व्यायामले शरीरलाई बलियो बनाउँछ, त्यस्तै पुस्तकहरूले मस्तिष्कलाई तेज बनाउँछ। यस अर्थमा पुस्तकालय विचारहरूको उत्कृष्ट व्यायामशाला हो। पुराना पुस्तकको सुगन्ध कागज मात्र होइन -यसमा संस्कृति, इतिहास र मानव सिर्जनशीलताको आत्मा समेटिएको हुन्छ। पढ्ने संस्कारले व्यक्तिलाई समृद्ध बनाउँछ भने पुस्तकालय संस्कारले समाजलाई सबल बनाउँछ। पढ्ने संस्कार र पुस्तकालय संस्कार मिलेर भविष्यलाई उज्यालो बनाउने शक्ति बोकेको हुन्छ। प्रविधि बदिलिँदै जाला तर पुस्तकालयको मौन साथ र पुस्तकालयको आत्मा कहिल्यै मर्दैन।

पुस्तकालयप्रतिको रुचि र मेरो सपना

म जन्मेहुर्केको ठाउँ पाल्पा धेरै अगाडिदेखि शैक्षिक र सामाजिक क्षेत्रमा अन्य स्थानका तुलनामा अग्रस्थानमा भएको हुँदा बाल्यकालदेखि नै पुस्तकालयहरूको गतिविधिबाट परिचित थिएँ। सम्भवतः पश्चिमाञ्चल क्षेत्रकै पहिलो पुस्तकालय तानसेनमा २००३ सालमा धवल पुस्तकालयको स्थापना भई सञ्चालनमा रहेको थियो। त्यस अलावा टोल टोलमा स्थानीय युवकको सक्रियतामा पुस्तकालयहरू खुलेका थिए। मेरो घरनजिक वसन्त पुस्तकालय थियो, त्यहाँ किताबहरू र पत्रपत्रिकाहरू मिलाएर राखेको सम्झन्छु। बाल्यकालमा त्यहाँका पुस्तकहरू प्रयोग गर्नुपर्ने आवश्यकता नै परेन।

बाल्यकालमा पुस्तकालय प्रयोग गरेको अर्को प्रसङ्ग भने मेरो सम्झनामा रहिरहेको छ। तानसेनको त्रिभुवन क्याम्पस रहेको भवनसँगै अर्को भवन गुरुज्यूहरूको थियो। त्यो भवनमा पहिले मिसन अस्पताल सञ्चालनमा आएको र अस्पताल आफ्नो भवन भुसाल डाँडामा सरेपछि पनि सायद त्यहाँ मिसनसँग सम्बन्धित केही कार्यालयहरू थिए। त्यो भवनको दाहिने खण्डमा सानो पुस्तकालय भएको सम्झन्छु। त्यहाँ बाक्लो गाता भएका चित्रहरूद्वारा वर्णित पुस्तकहरू हेर्न रहर लाग्ने हुँदा सानो छँदा बराबर गइन्थ्यो। बच्चाहरूलाई सायद पुस्तक घर लैजान अनुमति थिएन होला, त्यसैले घरमा ल्याएको सम्झना छैन। एकदिन त्यहाँ एउटा पाठकले समयमै पुस्तक नफर्काएका कारण उसलाई त्यो पुस्तकालय हेर्ने विदेशीले नेपाली भाषामा गरेको व्यवहार अप्रिय लागेकाले पनि विशेष रूपमा त्यहाँको वातावरण सम्झिरहन्छु।

विद्यालय तहमा पढ्दा स्कुलमा नाम मात्रको पुस्तकालय थियो। त्यसको प्रयोग गरिएको सम्झना छैन।

उच्च शिक्षाका लागि २०२७ सालमा काठमाडौं आएपछि भने पुस्तकालयसँगको निर्भरता जरुरी बन्दै गयो। नयाँ सडक र वसन्तपुर वरपर अमेरिकन लाइब्रेरी, नेपाल–भारत सांस्कृतिक केन्द्रको पुस्तकालय, नेपाल सोभियत–मैत्री पुस्तकालय तथा नेपाल–चीन मैत्री पुस्तकालयलगायत थिए भने दरबारमार्गमा ब्रिटिस पुस्तकालयमा विशाल संरचना थियो। कलेज पढ्ने विद्यार्थीहरूलाई ब्रिटिस पुस्तकालय, अमेरिकन पुस्तकालयहरूमा सदस्यता लिन खास गाह्रो थिएन।

कलेज नजिक भएको हुँदा ब्रिटिस काउन्सिलको पुस्तकालय धेरै गइन्थ्यो र खासगरी आफ्नो पाठ्यक्रम सम्बन्धित सामग्रीहरूको प्रयोग गरिन्थ्यो। बेलाबखत अमेरिकन पुस्तकालय र नेपाल–भारत पुस्तकालयमा जान रमाइलो लाग्थ्यो। त्यहाँ पुस्तकहरूका अतिरिक्त समय समयमा चलचित्र प्रदर्शन गर्ने र अन्य कार्यक्रमहरू हुने गर्दा पनि आकर्षण भइरहन्थ्यो। नेपाल–सोभियन र नेपाल–चीन मैत्री पुस्तकालयहरू तुलनात्मक रूपमा साना थिए। नेपाल र ती देशसँग सम्बन्धित सामग्रीहरू र फोटाहरू विशेष रुचिपूर्ण हुन्थे। त्यसैताका यी दुवै पुस्तकालयहरू बन्द भए।

कलेज (अस्कल) मा पुस्तकालय त थियो तर विद्यार्थीले प्रयोग गर्ने पुस्तकहरूको सङ्ख्या ज्यादै न्यून थियो । धेरै कम विद्यार्थीले पुस्तकालयको प्रयोग गर्थे। विश्वविद्यालय पढन सुरु गरेपछि पुस्तकालयप्रतिको निर्भरता ह्वात्तै बढ्यो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको पुस्तकालय सम्भवत त्यसबखत देशमा सबैभन्दा बढी व्यवस्थित ढंगले सञ्चालित पुस्तकालय थियो। पुस्तकालयको वातावरण, विशाल संरचना र त्यहाँको सरसुविधा वास्तवमै प्रसंशायोग्य थियो। विज्ञानको विद्यार्थी भएकाले धेरै सन्दर्भ ग्रन्थहरू अध्ययन गर्नुपर्ने हुँदा पुस्तकालयमा नियमित रूपमा गइरहनुपथ्र्यो। पुस्तकालयको सहयोगबिना स्नातकोत्तर तहको पढाइ पूरा गर्न सम्भव थिएन।

पुस्तकालयप्रतिको मेरो रुचि सानैदेखि थियो। अध्ययनका क्रममा दश महिने राष्ट्रिय विकास सेवाअन्तर्गत कालीकोटको कोटवाडा गाउँमा पुगेको थिएँ। देशको अति विकट गाउँमा अवस्थित त्यस गाउँको निम्नमाध्यमिक विद्यालय हाम्रो कार्यक्षेत्र थियो।

झन्डै ५० वर्षअघि त्यस ठाउँ भौतिक पूर्वाधारलगायत सबै सुविधाबाट बञ्चित थियो। आफ्नो कार्यक्षेत्रमा उदाहरणीय कार्य गर्न हामी लागिपरेका थियौं। त्यो गाउँमा तिहारमा देउसी आदि खेल्ने केही चलन थिएन। हामीले त्यस वर्षको तिहारमा देउसी खेलेर रकम उठाई विद्यालयमा पुस्तकालय स्थापना गर्ने सोच बनायौं। स्थानीय शिक्षक, विद्यार्थी र अन्य समाजसेवीको सहयोग लिई गाउँ गाउँ घुमेर देउसी खेलेर केही रकम संकलन गर्न सफल भयौं।

त्यसरी उठेको रकमबाट पुस्तकालय स्थापनार्थ पुस्तकहरू त्यहाँ उपलब्ध हुने सम्भावना थिएन। संयोगले हिउँद लागेपछि गाउँलेहरू सबै मधेस (बर्दिया) तर्फ जाने हुँदा त्यही समय एकजना शिक्षकलाई अरू जिम्मेवारीसहित संकलित रकमबाट पुस्तकहरू ल्याउने जिम्मा दिइयो।

ती शिक्षकले त्यहाँ बर्दिया बजारमा उपलब्ध पुस्तकहरूमध्येबाट छानेर केही पुस्तक ल्याए। पुस्तकहरू अपेक्षा गरेअनुसार बालबच्चाले प्रयोग गर्ने कम आए पनि पुस्तकालय सञ्चालनका लागि एउटा आधारसम्म तयार गर्न सकेकामा आनन्द लाग्छ।

सानै उमेरदेखि नै मेरो मनमा एउटा गहिरो सपना बोकेको थिएँ। आफ्नै पुस्तकालय बनाउन सकूँ भन्ने । किताबको दृश्य र सुगन्धले मलाई सधैं आकर्षित गर्ने हुँदा तीप्रति मेरो विशेष लगाव रहँदै आएको थियो। अवसर पाउँदा म पुस्तकहरू किन्थेँ र संकलन गर्थें। तिनीहरूलाई बहुमूल्य धरोहरजस्तै हिफाजतसाथ राख्थेँ। बिस्तारै सानो सङ्ग्रह बढ्दै गयो, जसका प्रत्येक किताबले एउटा सम्झना, एउटा क्षण र मेरो यात्राको एउटा अंश बोकेको छ। तर स्थानाभाव र अन्य परिस्थितिका कारण मैले कल्पना गरेको विशाल पुस्तकालय बनाउन सकिनँ। त्यस बाबजुद पनि त्यो सपना अझै मेरो मनभित्र जीवित छ।

मेरो दृष्टिमा किताबहरू साधारण वस्तु होइनन्, ती जीवनभरका साथी हुन्, जसले ज्ञान फुसफुसाउँछन्, कथा बोकेर ल्याउँछन्, थुप्रै प्रेरणाका सन्देशहरूबाट आत्मालाई मलजल गर्छन्। अझै पनि मेरो मनले त्यो दिनको कल्पना गरिरहेको छ, जब म आफ्नै पुस्तक सङ्ग्रहले  भरिएको कोठामा बस्नेछु, मेरो सपना– पुस्तकालय।

बालकलाई परेको प्रभाव

हाल अवकाशित जीवनको समय आफ्ना सन्तानलाई भेट्न समय समयमा संयुक्त राज्य अमेरिका जाँदा म सधैं त्यहाँका पुस्तकालयमा जाने चाहना पूरा गर्छु। किताबले भरिएका ती शान्त कक्षमा पाउँदा मलाई अवर्णनीय शान्ति र आनन्द मिल्छ। अमेरिकामा पठन संस्कृति साँच्चै नै लोभलाग्दो छ। पुस्तक पसल अथवा पुस्तकालय जहाँ गए पनि विभिन्न उमेर समूहका व्यक्तिहरूको उल्लेख्य उपस्थिति हुनुका साथै रहरलाग्दो पढाइले सबैलाई उत्प्रेरित गर्छ।

केही वर्षअघि मलाई वासिंगटन राज्यमा अवस्थित रिचल्यान्ड पब्लिक लाइब्रेरीमा धेरै समय व्यतीत गर्ने अवसर मिल्यो। त्यहाँ मैले थुप्रै सन्दर्भसामग्रीहरू अध्ययन गर्ने अवसर पाएँ, जुन मेरो पुस्तक ‘समृद्ध दीर्घायु’का लागि गतिलो आधार बन्यो।

उक्त पुस्तकालयमा जाँदा कहिलेकाहीं नाति एलेक्स र नातिनी सोफिया पनि सँगै हुन्थे। त्यस्तो विशाल ज्ञानको मन्दिरजस्तो देखिने पुस्तकालयमा आफ्ना सन्ततिसँग बिताउन पाएको त्यो पल मेरो जीवनकै एउटा गहिरो स्मृति बनेर रहेको छ।

म नेपाल फर्केपछि त्यो पुस्तकालयमा आफ्नी आमासँग गएको समय सात वर्षे नाति एलेक्सले एकदमै भावुक पार्ने कुरा भनेछ, ‘म यो पुस्तकालयको हरेक ठाउँमा हजुरबाका पाइलाहरू देख्छु।’

त्यो बालकको निष्कपट र स्वःस्फूर्त पोखिएको भावनाको भिडियो हेरेपछि उसलाई परेको प्रभावबाट म दंग परेँ र भावुक पनि भएँ।

सानो बालकको त्यस्तो भनाइमा पनि ठुलो गहिराइ लुकेको  महसुस भयो। वास्तवमा पुस्तकालय भनेको केवल किताबको भण्डार होइन, यो त पुस्ता पुस्ता जोड्ने पुल हो। यहाँ ज्ञान, विचार र अनुभवहरू साटासाट हुन्छन्। हाम्रा पाइला भनेका केवल हिँडाइ मात्र होइनन्, सन्तानका लागि मार्गदर्शक पनि हुन्। मेरा लागि त्यो अनुभव एउटा सन्देश हो - हामीले पुस्तक र पुस्तकालयसँगको सम्बन्धलाई जीवित राख्न सके तिनीहरूले हाम्रो पद चिह्नलाई भविष्यतर्फ डोर्‍याइरहने छन्। त्यसैले पुस्तकालय संस्कृतिले पढ्ने बानीलाई मात्र मजबुत बनाउँदैन, यसले पुस्ता पुस्ताबिचको सम्बन्धलाई पनि अझ घनिष्ठ बनाउँछ।

ज्ञान र सौन्दर्यको अनुपम संयोग

प्रत्येक पुस्तकालयका आफ्नै विशेषता र आकर्षण हुन्छन्  तर अमेरिकाको आयोवा राज्यको राजधानी डेमोइन सहरमा अवस्थित आयोवा स्टेट क्यापिटल (त्यहाँको राज्य सभा गृह) भित्रको भव्य ‘ल लाइब्रेरी’ले मलाई सबैभन्दा बढी प्रभाव पारेको छ। यो पुस्तकालयलाई विश्वकै सबैभन्दा सुन्दर पुस्तकालयमध्ये एक मानिन्छ।

सभागृहको भव्य भवनभित्र पस्दा नै इतिहासको गहिरो आभास हुन्छ। सभागृहको दोस्रो तलामा प्रतिनिधिसभा र सिनेट कक्षबिच जब म त्यो पुस्तकालयमा प्रवेश गरेँ, साँच्चिनै अर्को संसारमा पुगेको अनुभव भयो। पाँच तलासम्म फैलिएको किताबका र्‍याकहरू, माथिबाट झर्ने सुनौलो उज्यालो र छेउछाउको कलात्मक सजावटले मानौं ज्ञान र सौन्दर्य दुवैको संगम भएको छ।

विशेषगरी फलामका कलात्मक घुमाउरा भर्‍याङहरू साँच्चिकै अद्भुत देखिन्थे। सन् १८८२/८३ मा बनाइएका यी भर्‍याङहरू पुस्तकालयको सबैभन्दा सुन्दर र पहिचानात्मक विशेषता मानिन्छ। भर्‍याङ चढ्दै गर्दा लाग्थ्यो, मानौं कुनै उपन्यास वा चित्रपटको दृश्यभित्र प्रवेश  गर्दै छु। म त्यहाँ उभिँदा पुस्तकहरूले मात्र होइन, पुरानो युगको वास्तुकलाले पनि मलाई गहिरो प्रेरणा दिएको थियो।

करिब एक लाख पुस्तक सङ्ग्रहित जसमध्ये अठारौं शताब्दीका दुर्लभ कानुनी पुस्तकहरू पनि भएको यो पुस्तकालय केवल किताब राख्ने स्थान मात्र होइन, इतिहास, कला र ज्ञानको जीवित स्मारक हो। यसको सौन्दर्य, ऐतिहासिक महत्त्व र मौन गरिमाले यसलाई संसारकै अविस्मरणीय पुस्तकालयमध्ये एक बनाएको छ।

त्यो शान्त वातावरणमा केही क्षण बस्दा, जीवनभर किताबसँगको मेरो लगाव झन् प्रगाढ भयो। मलाई लाग्यो, पुस्तकालय केवल किताब राख्ने स्थान होइन, यो त मानिसको आत्मालाई समृद्ध बनाउने मन्दिर हो। आज पनि म जब आयोवा राज्य सभागृहको पुस्तकालय सम्झन्छु, त्यसको विशालता, गरिमा र मौन सौन्दर्यले मेरो मन भरिन्छ। त्यो अनुभव मेरो जीवन यात्राको अविस्मरणीय अंश बनेको छ।

प्रकाशित: २९ कार्तिक २०८२ ११:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App