धनपतिले जुठानलाई पैतालादेखि टाउकासम्म नियाल्दै भन्यो, ‘हामीले तिम्रो काम हेरेर दाम निर्धारित गर्ने छौँ।’
जुठान गाउँबाट राजधानीमा पसेको पनि एक साता भैसकेको थियो। उसले कतै काम पाएको थिएन। न गाँस न बासको व्यवस्था आखिर कहिलेसम्म भोक भोकै सडकको किनारामा बस्न सक्थ्यो। उसले आफूले मात्रै खाएर पनि त हुँदैनथ्यो घरमा छोराछोरी र स्वास्नी उसैको आसमा छन्।
‘एउटा टाढाको नाता पर्ने राजधानीमा छ उसैले आइज कतै काम लगाइदिउँला भनेको थियो। उसैको भरमा आएको हो। आज ऊ आफैँ बेघर भएको छ। सरकारले सुकुम्बासीहरूको टहरा भत्कायो त्यसैमा उसको पनि भत्कियो।
‘हस् हजुरको जो आज्ञा!’ जुठान त्योबाहेक अरू केही बोल्न मुनासिव ठानेन।
‘काम भने बिहान ७ बजे आउनुपर्छ र बेलुकी ७ बजे छुट्टी हुन्छ। बस्ने बास र खाने व्यवस्था आफैँ मिलाउनुपर्छ।’ धनपतिले जुठानलाई बतायो।
‘हुन्छ नि साहुजी!’ जुठानले खैलेतिर हेर्दै भन्यो।किनकि ऊसँग न खाने गाँस थियो न बस्ने बास न धन।
‘तर, तेरो जमानती बसेको खैले पनि आफैँ बेघर भएको रहेछ। अनि अरू कुनै चिनजानको मान्छे छ कि छैन यहाँ?’ धनपतिले जुठान र खैलेतिर पालैपालो हेर्दै साेध्याे।
‘साहुजी, अरू त कोही छैनन् हाम्रो चिनजान भएका!’ खैले बिचमै बोल्यो।
‘त्यसो भए परिचयपत्र,नागरिकता जम्मा गराउनुपर्छ।’ धनपतिले सुझायाे।
‘हस् साहुजी, यो मेरो परिचयपत्र!’ जुठान आफ्नो नागरिकता धनपतिलाई थमाउँदै भन्यो।
‘सर मलाई पनि कतै खनखोरस गर्ने काम छ भन्नुहुन्थ्यो नि?’ खैले पनि मुख मिठाउँदै हात मल्दै भन्छ।
‘त्यो काम त तैँले एक महिना लगाउँथिस् त्यसैले डोजरवालालाई भनेको छु उसले एक घन्टामै गरिदिन्छ।’ धनपतीले मुस्कुराउँदै भन्यो।
‘हस् साहुजी म लागें!’ खैले मलिन हुँदै काम खोज्न हिंड्यो।
प्रकाशित: २० वैशाख २०८३ १०:४३ आइतबार





