कोसी साहित्य-कला परिषद् नेपाल (कोसाक) ले पुस्तकलाई अभिभावकसँग जोड्ने अभियान सुरु गरेको छ। बालबालिकामा पठन बानीमा ह्रास आएपछि संस्थाले अभिभावकलाई लक्षित गरेर पुस्तकसँग जोड्ने कार्यक्रम सुरु गरेको हो।
कानेपोखरी–४, बयरवन, मोरङमा रहेको न्यु भिजन विद्यामन्दिरमा आयोजित एक कार्यक्रमको आयोजना गरेर अभियानको सुरुआत गरेको छ।
कानेपोखरी गाउँपालिका ४ न. वडाका अध्यक्ष रमेश राउत प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, सोही वडाका जनप्रतिनिधि प्रदीप राई, विद्यालय निर्देशक गणेश पोखरेल, अभिभावक तथा शिक्षकहरूको सहभागिता थियो।
‘बालबालिकाको पठन संस्कृति अभिवृद्धिका लागि अभिभावक परामर्श’ नाम दिइएको उक्त तालिमको सहजीकरण कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले गरेका थिए।
विरहीले बालबालिकाको पहिलो पाठशाला घर र पहिलो शिक्षक आमा रहेकाले बालबालिकाले आमाबाट धेरै सिक्ने हुँदा आमाहरूले धेरै कुरामा सचेत रहनुपर्ने बताए।
उनले भने, ‘२४ घण्टामध्ये १८ घण्टाको समय बालबालिकाको आफ्ना अभिभावकहरूसँग बित्ने गर्छ। तसर्थ अभिभावकले गर्ने बानीले उनीहरूलाई ठुलो प्रभाव पर्छ। छोराछोरीको पठन संस्कृति बढाउनु छ भने तपाईहरूबाटै सुरु गर्नुपर्छ। तपाईले पढेको देखेर मात्र नानीहरूले पढ्छन्। तसर्थ आफ्ना छोराछोरीका अघि पढेर बस्ने गर्नुहोला।’
साथै प्रशिक्षक विरहीले बालबालिकाको सिकाइमा साहित्यिक पुस्तकको महत्त्व रहेकाले विभिन्न अवसरमा पुस्तक दिने बानीको विकास गर्न अनुरोध पनि गरे।
बालबालिकाबाटै बानीको विकास गराउने जसका लागि अभिभावक मुख्य जिम्मेवारी रहेको कुरामा सहमति जनाउँदै वडाध्यक्ष राउतले भने, ‘हामीले माथिबाट सुरु गर्यौ, जसले गर्दा परिणाम आउन सकेन तर यस तालिमले भने पठन संस्कृतिको विकास तलबाटै सुरु गर्नुपर्छ भन्नेमा जोड दिएको पाएँ। यो ठिक हो।’ पूर्व शिक्षकसमेत रहेका राउतको तालिममा सिकेका कुरा व्यवहारमा उतार्न जोड थियो।
विद्यालयमा निर्देशक गणेश पोखरेलको अध्यक्षतामा सम्पन्न तालिमको सञ्चालन भने कोसी साहित्य–कला परिषद् नेपाल (कोसाक) का सचिव नवराज पोखरेल ‘नवशिला’ को रहेको थियो।
संस्थाले यस २०८३ लाई बालबालिका वर्षका रूपमा लिएर सोहीअनुसारका कार्यक्रम अगाडि बढाउँदै आएको छ। संस्थाका पदाधिकारीहरूले बालसाहित्यिक कृतिको प्रकाशनमा जोड दिएका छन्।
यसै वर्ष संस्थाका अध्यक्षको केशु विरहीको ‘उपहार’ (बालचित्रकथा), उपाध्यक्ष विष्णु भण्डारी आचार्यको ‘पुतलीको बिहे’ (बालकवितासङ्ग्रह) र सचिव नवराज पोखरेल ‘नवशिला’ को ‘परी भएँ म’ (बालकवितासङ्ग्रह) प्रकाशनमा आएका छन्।
प्रकाशित: १८ आश्विन २०८३ ०७:२७ आइतबार





