"महाराज, यो कठघरामा उभिएका प्रोफेसर सुदनले मेरो पुस्तक चोरी गरे। पुस्तक फिर्ता गरि उचित सजाय दिलाइपाऊँ।" दिपकले राजाका अगाडि दलिल प्रस्तुत गरे।
राजाले उनलाई सोधे, पुस्तक तिम्रो भन्ने के प्रमाण छ?
"मैले खरिद गरेको दिन मैले पुस्तकमा हस्ताक्षर गरेर मिति लेखेको छु।"
राजाले पुस्तकको पाना पल्टाए। दिपकको हस्ताक्षर मिति देखेर राजा ढुक्क भए।
राजाले उनलाई फेरि सोधे, "तिम्रो पुस्तक कहिले र कसरी चोरी भयो?"
"एकदिन प्रोफेसर सुदन मेरो घर आएका थिए। किताबको र्याकमा उभिएर कितावहरू हेर्दै थिए। जब उनी गए तब मैले यो बहुमूल्य पुस्तक नदेखेपछि मलाई शंका लाग्यो। एकदिन यिनी कलेजबाट फर्कदा यिनको हातमा त्यो किताब देखेँ त्यसैले म विश्वस्त छु कि किताब यिनैले चोरेका हुन्।" उनले बिस्तार लगाए।
राजाले सफाइको मौका प्रोफेसर सुदनलाई दिएपछि उनले भने , "हो महाराज! म उनको घर गएको र किताब हेरेको सही हो। यो किताब विद्यार्थीहरूलाई पढाउँदा सन्दर्भ सामाग्रीका रूपमा काम लाग्ने जस्तो मलाई महसुस भयो। मैले मागेँ तर उनले बेच्ने कुरा गरे। आपसमा तय भएको नगद तत्कालै मैले दिएँ। पुस्तक लिएर म बाहिर निस्किएँ। एकदिन कलेजबाट फर्कदै गर्दा यिनले एकाएक चोरको आरोप लगाए।"
"के तिमी किनेको प्रमाण दिन सक्छौ ?" राजाले सोधे।
प्रोफेसर सुदन अकमक्क पर्दै भने, "नगद दिएँ। पुस्तक लिएँ। कस्तो प्रमाण?"
"तिमीले किनेको प्रमाण दिनुपर्छ नत्र यो पुस्तकमा भएको नाम र हस्ताक्षरका आधारमा पुस्तक दिपककै ठहरिन्छ।" राजाले सुदनलाई एउटा मौका दिए। प्रोफेसर सुदन नाजवाफ भए।
राजाले दिपकलाई सोधे, "यो पुस्तक तिमीले फिर्ता पाएपछि के गर्छौ?"
"म र्याकमा सजाएर राख्छु।" खुसी हुँदै उनले भने।
राजाले फैसला सुनाए, "पुस्तकको सर्वाधिकार दिपकमा रहनेछ तर अध्यापन कार्यको अवधिभर प्रोफेसर सुदनले पुस्तकको सुरक्षा लिनुपर्नेछ।"
प्रकाशित: २८ वैशाख २०८३ ०९:२२ सोमबार




