२८ भाद्र २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

कान्ता

लघुकथा

‘‘मौसमी, म केन्द्रीय सदस्यमा निर्वाचित भएँ नि। उपल्लो तहमा नारी आवाज उठाउने अवसर प्राप्त गरें। नारी आन्दोलनमा एउटा ईट्टा थप्न सकिन्छ कि?” कान्ताले कौतुहल पोखी।

‘‘कान्ता बधाई। सफलताको शुभकामना।

नारीका दबिएका पीडाहरू मुखरित हुन सकोस्। केन्द्रीय समितिमा पनि संघर्ष गर्नै पर्छ। पुरुषप्रधान सोच तुरुन्तै कहाँ अन्त्य होला र?” मौसमीले आशंका व्यक्त गरी।

कान्ता र मौसमीको सिद्धान्त र विचारले मेल खान्छ। कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्छे कान्ता। जुझारु र संघर्षशील स्वभाव भएकी कान्ता विद्यार्थी जीवनमै विद्रोह गरेर स्ववियु सचिव भएकी थिई।

कान्ताको पारिवारिक पृष्ठभूमि राजनैतिक छैन। तथापि ऊ राजनीतिमा होमिई। साधारण कृषक परिवारमा हुर्किएकी कान्ताले अनेकौं उतारचढाव बेहोरेकी छे। पढ्नैका लागि उसले आफ्नै बाबुआमासँग सघंर्ष गर्नुपर्‍यो। अनेकौं सामाजिक बन्धनले बाँधिएको समाजमा छोरीले पढ्ने कुरा आकाशको तारा खसाउनुसरह थियो।

कान्तालाई दाजु अनन्तले उत्प्रेरित गथ्र्यो। कान्ताको विषयलाई लिएर अनन्तको बाआमासँग भनाभन हुन्थ्यो। समाजका बुज्रुकहरूसँग चर्काचर्की पर्थ्याे। कान्ताले पढेको देख्नन चाहनेहरूले अनेकौं अफवाह फैलाउथे। छोरी अर्काको घर जाने जात हो। पढेर केही काम छैन। पढायो भने पोइल जान्छे। ठुलावडाको कुरा काट्छे। सासूससुरा र लोग्नेको मानमर्यादा राख्दिन जस्ता भ्रामक कुरा गरेर समाज छोरीप्रति अनुदारवादी थियो।

अनुदारवादी समाजसँग विद्रोह गर्दै कान्ताले यो उचाइ प्राप्त गरेकी हो। राजनीतिशास्त्रमा स्नातक गरेकी कान्ता उदाहरणीय नेता हो। संघर्ष, बलिदान र त्यागले उसलाई केन्द्रसम्म पुर्‍याएको छ। नीतिनिर्माण तहमा फड्को मार्ने कोसेढुङ्गाको रूपमा उसको केन्द्रीय सदस्यता अब्बल ठहरिने छ नै।

महिलाको आवाज मुखरित गर्न आगामी निर्वाचनमा कान्ताले संघीय सांसदको टिकट पाउली त?     

प्रकाशित: २८ भाद्र २०८३ ११:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App