२८ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

आचार्य श्रीनिवास भन्छन्, ‘भाषण मात्रै होइन, शासनमा पनि आउँछु’

आचार्य श्रीनिवासले आफूलाई ‘विवादित’ व्यक्तिका रूपमा चित्रण गरिएको भन्दै आपत्ति जनाएका छन्। अदालतबाट सफाइ पाइसकेको विषयलाई लिएर आफूलाई निरन्तर अपमानित गर्ने काम भइरहेको उनको भनाइ छ। 

आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूलाई विवादित भन्नुको कारण स्पष्ट पार्न चुनौती दिए। उनले सांसदहरूलाई आफ्नो हैसियत नबिर्सन चेतावनी दिँदै राजनीतिमा रहेकाहरूलाई सुध्रिनसमेत आग्रह गरेका छन्। 

‘राजनीति गर्नेले भाग्न पाउने अवस्था रहने छैन, सुध्रनुस्,’ उनले भने। 

जेनजी परिवारको आग्रहमा आफू कार्यक्रममा सहभागी भएको दाबी गर्दै उनले कार्यक्रममा आफूहरूको सहयोगसमेत रहेको बताए। जेनजी कार्यक्रमका लागि टेन्ट, पन्डाल र साउन्ड सिस्टमलगायत व्यवस्थापनमा आफूहरूले करिब ६–७ लाख रुपैयाँ खर्च गरेको उनले बताए। 

‘हामीलाई सरकारले होइन, जेनजी परिवारले कार्यक्रममा आमन्त्रण गरेको हो,’ उनले भने, ‘मलाई जन्म दिने आमाको कसम, मलाई विवादित भनिरहे म भाषण मात्रै हैन, शासनमा पनि आउने छु।’ 

उनले आफू धर्मका नाममा रकम लिने नभई सहयोग गर्ने गुरु भएको भन्दै उनले आफूले कसैलाई ठगेको वा गलत काम गरेको प्रमाण भए देखाउन चुनौती दिँदै उनले आफूले अदालतबाट सफाइ पाइसकेको विषयलाई लिएर विवादित बनाइरहनुको औचित्य नभएको बताए।  

‘ममाथि गोली प्रहार पनि हुने, म अन्यायमा पनि पर्ने, राज्यले मलाई अदालतबाट सफाइ पनि दिने, फेरि विवादित पनि भनिनेरु मैले कसको के बिगारिदिएँ ?’ उनले प्रश्न गरे। 

आचार्य श्रीनिवासले आफूले लामो समयदेखि सामाजिक सेवामा काम गर्दै आएको दाबी पनि गरे। आफूले करिब दुईदेखि अढाई सयसम्म महायज्ञ गरेको, विभिन्न स्थानमा विद्यालय, क्याम्पस, एम्बुलेन्स, खानेपानी, मठमन्दिर, धर्मशाला तथा वृद्धाश्रम निर्माणमा सहयोग गरेको उनले बताए।  

उनले आफू भिक्षा मागेर हिँड्ने साधु नभएको दाबी गर्दै आश्रममा गाईपालन गरेर त्यसबाट हुने आम्दानीबाट विद्यार्थीलाई पढाउने गरेको बताए। 

‘म भिक्षा मागेर, भीख मागेर हिँड्ने गुरु होइन । म इलम गरेर, मेहनत गरेर गाईको गौशालामा गाईको गोबर सोरेर गाईको दूध बिक्री गरेर डेरीमा मेरो आश्रममा विद्यार्थीहरू पढाउने गुरु हुँ,’ उनले भने। 

आफूलाई निधारको तिलक, धार्मिक पहिरन र राजसंस्थाको समर्थन गर्ने भएकै कारण विरोध गरिएको उनको आरोप छ। आफू राजालाई अभिभावक मान्ने व्यक्ति भए पनि नेपालको नागरिकका रूपमा आफ्नो धारणा राख्ने अधिकार रहेको उनले बताए। 

‘म असली एउटा राजालाई समर्थन गर्ने र राजालाई अभिभावक मान्ने गुरु हुँ। म पनि यो देशको नागरिक हो, मैले पनि बोल्न पाउनुपर्छ, मेरो पनि अधिकार हो,’ उनले भने। 

प्रकाशित: २८ भाद्र २०८३ १७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App