१८ जेष्ठ २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

जिब्राे चिप्लियो वा भाव झल्कियो?

कविता

सोच्दै नसोची प्याच्च भनिहालें

माफ गर्नुहोला चित्त दुखेको भए

हाडबिनाको चिब्राे यस्तै हुन्छ

अघात घायल मातृत्वभूमिको घाउमा

जताततै काटेको घाउ देख्दा देख्दै पनि

देशकै प्रमुख व्यक्तित्व आफैँले

वाहियातमा आज रोष्टमबाटै घाउमा

मलमको सट्टा नुनचुक दलिहाले

कत्ति ढिला गरेनन् उनी प्याच बोल्न

देशवासीसामु

आफ्नो व्यक्तित्व प्रदर्शन गर्न

हाम्रो देशको शरीर

कैयौं ठाउँमा झिरले घोपेको

उफ त्यो दर्दनाक दृश्य! 

कति सजिलैसँग लुकाउन खोजियो

ऐया भन्दाभन्दै नूनचुक दल्न छाडेनन्

आफ्नै सन्तान भनौदाहरू

त्यो घाउ कति दुख्दो होला

खै असह्य छ कि छैन उनलाई

दार्चुला भनौं वा कञ्चनपुर

कैलाली भनौ वा बर्दिया बाँके

दाङ उस्तै कपिलवस्तु घायल छन्

करिव तेइस जिल्लाका कैयौं ठाउँ

तर त्योभन्दा प्यारो छ उनलाई

किन हो कुन्नि सीमानापारि

किन देखिँदैन छातीभित्रको घाउ

रूपन्देही वा परासी र चितवन

पर्सा र बारा समेत 

अहँ किन दुख्दैन शरीर

शहीद वीर गोरखालीको रगत

पातलो भयो वा

फिका भयो भावना

देशभक्तिको नसानसामा

देखिएन शरीर छियाछिया भएको

रौहतट उस्तै छ सर्लाही र महोत्तरी

कुरै छाडौं सिराहा, सप्तरी र सुनसरी

कहाँ भएको छैन घाउ मोरङ उस्तै छ

झापा र इलाम उस्तै छ पाँचथर  

उस्तै छ ताप्लेजुङ पनि घायल छ

साठी हजार आठ सय अठ्ठाइस हेक्टर

जमिन सिमानामै अतिक्रमण हुँदा पनि  

कत्ति नदुखेका कुपुत्रहरूको मन  

कालापानी लिपुलेक र लिम्पियाधुरा

उस्तै रोएको छ विदेशी अतिक्रमणले

हिजो ब्रिटिस भारतको आक्रमणबाट

टिष्टादेखि सतलजसम्म टुक्रिएको

एउटै सन्तानका हृदयभित्र भएको दरार

जो सुगौलीमा भएको थियो करार

आज फेरि त्यही घाउ बल्झिएको छ

इतिहास पढ्दा भक्कानिन्छ हिया

किनकि मातृत्वभूमि खतरामा छ

अनि सन्तानहरू ठट्टा गर्दैछन्

विदेशीको इसारामा छमछम नाच्दै

तालबिनाको नाचले उठाएको

एउटा यही सवाल हो

आखिर आमाको माया छ कि छैन?

जिव्रो चिप्लियो वा नियत झल्कियो?

प्रकाशित: १८ जेष्ठ २०८३ १२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App